करिब तीन करोड लागतमा ठडियो १७औँ शताब्दीको ’यिताचपा’

काठमाडौं ।  काठमाडौं महानगरपालिका–२७ असनमा पुनःनिर्माण सम्पन्न गरिएका सांस्कृतिक सम्पदाहरूको उद्घाटन गरिएको छ । यिताचपा सत्तल, गणेश मन्दिर, नारायण मन्दिर, उमा महेश्वर मन्दिर, डवली र भोटाहिटीमा रहेको कलशद्वारको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा २७ का अध्यक्ष योगेशकुमार खड्गी र वातावरण समितिका संयोजक एवं वडा नं. १२ का अध्यक्ष बालकृष्ण महर्जनले आज संयुक्त उद्घाटन गरेका हुन् । यी संरचनामध्ये यिताचपा सत्तल, सबैभन्दा धेरै लागत भएको अर्थात् २ करोड ८४ लाख २९ हजार ४५६ रूपैयाँमा निर्माण सम्पन्न भएको योजना हो ।

महानगरपालिकाका अनुसार यसको लागत अनुमान भ्याटसहित २ करोड ९१ लाख ३२ हजार ५०४ रूपैयाँ थियो । यो कामका लागि शुभश्री न्यू–एटुजेड जेभीलाई २०८१ जेठ २१ गते कार्यादेश दिइएको थियो । सत्तलको पुनःनिर्माण गर्दा ईंटा, चुनासुर्की, बालुवा, काठ, ढुङ्गा, तेलिया ईंटा, झिँगटी प्रयोग गरिएको छ । उद्घाटनपछि प्रवक्ता मानन्धरले असनको प्राचीनता सबै नेपालीमा परिचित स्थान भएको बताउँदै यसको मौलिक स्वरूप कायम राख्न सत्तलको पुनःनिर्माणले योगदान दिएको उल्लेख गरे । ‘काठमाडौँ पहिचान बचाउन असन क्षेत्रको भूमिका रहेको छ, यसको मौलिकस्वरूप बचाउन महानगरपालिकाले लगानी गरेको छ,’उनले भने ।

कार्यक्रममा सम्पदा तथा पर्यटन समितिका संयोजक संगतले सत्तललाई टेकोमुक्त बनाउन सक्नु पहिलो उपलब्धि भएको बताउँदै यसको दीगो उपयोगका लागि स्थानीय सहभागिताको अपेक्षा गरे । प्राचीन स्मारक बचाएर मौलिकता र पहिचान बचाउनु आफ्नो पहिलो जिम्मेवारी रहेको बताउँदै वडा २७ का अध्यक्ष खड्गीले, यिताचपा पुनःनिर्माण सकिएपछि असनको मुहार नै उज्यालो भएको बताए ।

आर्किटेक्ट अमित बज्राचार्यका अनुसार सत्तलको लम्बाई ६९ फिट र चौडाई १३ फिट १० इञ्च छ । २ तले २ पाखे सत्तलका दुवै तला ९५४.२७ वर्गफिटका छन् । भुईँतलामा जान ३ कवलपछि ढोका छ । पहिलो तलामा जान पूर्वतर्फ बाहिरबाट काठको भर्‍याङ् राखिएको छ । पहिलो तलाको पूर्वमा आगम कोठा छ । यसमा लुँपौ गुठीले पूजाआजा गर्ने गरेका छन् । बाँकी भाग खुला छ । असनबाट बालकुमारीतर्फ अन्नपूर्ण मन्दिरसँगै रहेको सत्तल इतःचपा हो । यो सत्रौँ शताब्दीभन्दा अगाडि नै निर्माण भएको संरचना मानिन्छ ।