‘कोड भाषा’ प्रयोग गर्दै भिजिट भिसाको सेटिङ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन प्रमुखका रूपमा कार्यरत रहँदा भिजिट भिसाको नाममा संगठित मानव तस्करी संचालन गरेको आरोपमा सहसचिव तीर्थराज भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर कदम चालेको छ । आयोगले बिहीबार विशेष अदालतमा भट्टराईसहित सात व्यक्ति र दुई ट्राभल एजेन्सीलाई प्रतिवादी बनाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले भट्टराईमाथि ७९ लाख ८० हजार रुपैयाँ बिगो माग दाबी गरेको छ भने सोही प्रकरणमार्फत कमाइएका रकमलाई घरजग्गा खरिदमा लगानी गरी सम्पत्ति शुद्धीकरण गरेको दाबी गर्दै थप एक करोड तीन लाख ७९ हजार ६ सय रुपैयाँ समायोजनको माग गरेको छ। भट्टराईले आफ्नो पदको दुरुपयोग गरी भिजिट भिसा प्रक्रियालाई ‘सेटिङ’ मार्फत गलत ढंगले संचालन गरेको अनुसन्धान प्रतिवेदनले देखाएको छ।

अख्तियारका अनुसार, भट्टराईले घुस कारोबारको सम्पूर्ण विवरण डायरीमा ‘कोड भाषा’ प्रयोग गरी लेख्ने गरिएको तथ्य भेटिएको छ । सो कोड भाषाबाट छुट्टाछुट्टै दरमा महिला र पुरुष यात्रुबाट असुलिएको घुस रकमको हिसाबकिताब राखिएको पाइएको छ । यसले भिजिट भिसा प्रक्रिया लामो समयदेखि संगठित र योजना अनुसार चलाइएको संकेत दिने अख्तियारको दाबी छ ।

अनुसन्धानका क्रममा भट्टराईले मोबाइल फोन र अन्य डिजिटल माध्यम प्रयोग गरी संलग्न व्यक्तिहरूसँग निरन्तर समन्वय गरेको पनि देखिएको छ । मोबाइलमै भएका केही म्यासेज, कल रेकर्ड तथा हटाइएकै फाइलहरूको पुनःउद्धारबाट उनी भिजिट भिसा ‘सेटिङ’ सञ्चालनको प्रमुख भूमिका खेलेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

यस प्रकरणमा मुछिएका दुबै ट्राभल एजेन्सीले भिजिट भिसाका नाममा विदेश जाने यात्रुहरूको कागजात मिलाउने, रकम संकलन गर्ने र अध्यागमनमा सेटिङ मिलाइदिने भूमिकामा रहेको बताइएका छन् । एजेन्सीका प्रतिनिधिबाट संकलित बयान, भट्टराईको डायरी तथा डिजिटल प्रमाण एक–अर्कासँग मेल खाने देखिएपछि मुद्दा दायर गरिएको हो ।

अख्तियारका अधिकारीहरूका अनुसार, भिजिट भिसा प्रक्रियामा चलाइएको अनियमितता केवल घुसखोरीमा सीमित नभई संगठित मानव तस्करीको स्वरूपमा विकसित भएको छ। भिजिट भिसाको दुरुपयोग हुँदै आएकोबारे पटक–पटक उठ्ने आलोचनालाई यस प्रकरणले अझ स्पष्ट पारेको छ । अब विशेष अदालतमा सुनुवाइ प्रक्रिया अघि बढ्नेछ। भट्टराई र अन्य प्रतिवादीहरूले अदालतमा आफ्नो तर्क पेश गर्ने भए पनि अख्तियारले पेस गरेको लिखित तथा डिजिटल प्रमाणका आधारमा मुद्दा बलियो रहेको अधिकारीहरू बताउँछन् ।

सेटिङमा अख्तियारले फेला पारेका बुँदाहरू

१) प्रणाली बाहिर कागजात : भट्टराईको कार्यकालमा यात्रु प्रस्थान गर्दा पेश गर्नुपर्ने सम्पूर्ण आधारभूत कागजातहरू अध्यागमन प्रणालीमा अपलोड नगरी यात्रुलाई दुःख हैरानी दिएर घुस लिने गरेका थिए । विशेषगरी, पासपोर्टको ‘बायो पेज’ र स्वघोषणा बाहेक अन्य आधारभूत कागजातहरू प्रणालीमा अभिलेखीकरण नगरी लुकाउने गरेका थिए ।

२) घुसको रूपमा मोबाइल पनि लिए : बिचौलिया र ट्राभल एजेन्सी सञ्चालकसँग नियमित सेटिङ र घुस लेनदेन गरी भट्टराईले आफ्नो जिम्मेवारीसँग स्वार्थ बाझिने व्यक्तिहरू– ट्राभल एजेन्सीका सञ्चालक बालकृष्ण खड्का, दिपक भण्डारी र राम खड्का लगायतसँग नियमित सम्पर्क, भेटघाट गर्ने र उनीहरूबाट मोबाइल तथा अन्य सामान खरिद गराउने गरेका थिए। उनले बालकृष्ण खड्कासहितको रेस्टुरेन्टमा गई ‘पार्सल’को नाममा राम खड्काबाट घुसको रकम बुझ्ने गरेको र खड्काले टिपाएका यात्रुहरूको नाम आफ्नो डायरीमा टिपोट गरी त्यहीँ घुसको हिसाबकिताब राख्ने गरेका थिए ।

३) पुरूषभन्दा महिलाको घुस दर बढी : निकै चलाखीपूर्वक भट्टराईले कोड भाषा प्रयोग गरी रकमको हिसाबकिताब राख्ने गरेका थिए । घुस रकम बाँडफाँटमा पनि उनले कोड भाषामै गर्थे। बिचौलियाबाट प्राप्त यात्रुहरूको नामावली, गन्तव्य मुलुक र प्रस्थान मिति लगायतका विवरणहरू डायरीमा कोड भाषामा राख्ने गरेका थिए ।

उनले पुरुष यात्रुलाई ०.२ भन्ने गरेका थिए। त्यो भनेको २० हजार रुपैयाँ थियो । महिला यात्रुको कोड ०.४ थियो। यो भनेको ४० हजार रुपैयाँ थियो। घुस लिने र केही रकम सहकर्मी यज्ञराज अर्याललाई पनि दिने गरेको अनुसन्धानबाट पुष्टि भएको छ । अध्यागमन छाप लगाउने कामलाइ ‘पुक्का’ भन्ने गरेका थिए । आफ्नो समूहलाई भट्टराईहरूले ‘लाइन वाला’ भन्ने गरेका थिए ।

४) भ्रष्टाचारको रकम घरजग्गामा : घुसबाट प्राप्त रकम जग्गा कारोबारीमार्फत परिचालन गरी सम्पत्ति शुद्धीकरण गरेको प्रमाण समेत भेटिएको छ । भट्टराईले घुसबापत प्राप्त ठूलो रकम आफ्नो नजिकका व्यक्ति कविता पौडेललाई जग्गा कारोबारी खेमप्रसाद सुवेदी मार्फत् जग्गा खरिद गराइदिने गरेका थिए । कविताको नाममा रहेको मोबाइल सिम नै उनले अवैध रूपमा प्रयोग गरी यात्रुको नामावली आदानप्रदान गर्ने गरेका थिए । यो तथ्यको आधारमा उनीहरूमाथि सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ)को कसूरमा समेत मुद्दा दायर भएको छ ।

५) ठगिएकाहरू जब अख्तियर पुगे : भट्टराई र अर्यालको समूहले घुस खाएर विदेश पठाएका यात्रु उतै ठगिएपछि नेपाल फर्किएका थिए । घुस लेनदेन गरी भिजिट भिसामा विदेश पठाएका दुई सय ५७ जनामध्ये केहीले कामको लोभमा घुस दिएर विदेश पुगे पनि त्यहाँ यातना भोग्नुपरेको ठगिएको रकम पनि फिर्ता नपाएको भन्दै अख्तियारमा उजुरी दिएका थिए ।

लेखक र दुवाडीमाथि पनि अनुसन्धान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा सेटिङगरि घुस लिएको आरोपमा पहिलो चरणमा ७ जनाविरुद्ध मात्रै मुद्दा दायर गरेपनि उच्च पदस्थको संलग्नताबारे अनुसन्धान जारी रहेको जनाएको छ । पहिलो चरणमा तत्कालीन अध्यागमन प्रमुख तिर्थराज भट्टराईसहितलाई प्रतिवादी बनाउँदा गृह मन्त्रालयका कर्मचारी एक जना पनि तानिएका छैनन्। तर तत्कालीन गृहमन्त्री, गृहसचिवसहितको बारेमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

अख्तियारले तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, अध्यागमन विभागका महानिर्देशक, तत्कालीन शान्ति सुरक्षा हेर्ने महाशाखाका प्रमुखसँग तीर्थराज भटुटराईको गैरकानुनी रकम लेनदेन भएको हुन सक्ने देखिएको अख्तियारले जनाएको छ । सेटिङगरि भिजिट भिसामा विदेश पठाउन तत्कालीन गृहमन्त्री, गृहसचिव, अध्यागमन हेर्ने गृह मन्त्रालयका महाशाखा प्रमुख, गृह मन्त्रालयका प्रशासन हेर्ने महाशाखाका प्रमुख, शाखा प्रमुख, गृहमन्त्रीका निजी सचिव, स्वकीय सचिव, गृह सचिवका सचिवालय र अन्य राष्ट्रसेवकहरु संलग्नताको सम्वन्धमा अनुसन्धान भई रहेको अख्तियारले अभियोग पत्रमै उल्लेख गरेको छ ।

प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईको डायरी तथा नेपाल टेलिकमबाट प्राप्त सीडीआर (कल डिटेल रिपोर्ट) विवरणबाट तत्कालीन गृहमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारी तथा स्वकीय सचिव जनक भट्टसँग अस्वाभाविक सम्पर्क भएको खुल्न आएको अख्तियारको दाबी छ । भट्टराईविरुद्ध ७९ लाख ८० हजार रपैयाँ घुस लिएको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । यसमा संलग्न ट्राभल्स सञ्चालक र बिचौलियासहित ७ जनालाई प्रतिवादी बनाइएको छ । अन्य प्रतिवादीहरुमा विमानस्थल अध्यागमनका तत्कालीन अध्यागमन अधिकृत यज्ञराज अर्याल, ग्रिनलाइन होलिडेज प्रालि र उक्त कम्पनीका अध्यक्ष बालकृष्ण खड्का, फेमली होलिडेज ट्राभल्स एण्ड टुर्स प्रालि र उक्त कम्पनीका संस्थापक शेयर सदस्य एवं सञ्चालक दिपक भण्डारी, ग्रिनलाइन होलिडेज प्रालिका तत्कालीन संस्थापक शेयरसदस्य एवं सञ्चालक राम खड्का, कविता पौडेल र खेम सुवेदीलाई प्रतिवादी बनाइएको छ ।

सुवेदी र पौडेललाई पनि समान ७९ लाख ८० हजार नै बिगो कायम गरिएको छ। राम खड्कालाई ३० लाख २० हजार, दिपक भण्डारीलाई १० लाख ६० हजार, बालकृष्ण खड्कालाई ३० लाख २० हजार र यज्ञराज अर्याललाई ८ लाख बिगो कायम गरिएको छ । भट्टराईसमेतले वदनियतपूर्वक सेटिङ्ग गरी भिजिट भिसामा बिदेश पठाउँदा घुस लिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । तिर्थराज भट्टराई २०८१ असोज २३ गतेदेखि २०८२ जेठ ७ गतेसम्म प्रमुख अध्यागमन अधिकृतको रूपमा कार्यरत थिए ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।