एमाले महाधिवेशन तालिका : नेतृत्व छान्न पुस १ गते मतदान

काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको छ । आइतबार साँझ निर्वाचन तालिका प्रकाशन गरिएको हो । निर्वाचन कार्यतालिकाअनुसार आइतबार बेलुका ७ बजे मतदाता नामावली प्रकाशन भएको छ ।

सोमबार बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध र सुधारको सूचना प्रकाशन गर्ने, १० बजे दाबी विरोधउपचार छानबिन र निर्णय गर्ने कार्यतालिका छ । १०ः१५ बजे अन्तिम नामावली प्रकाशन गर्ने, ९ बजेदेखि १२ बजेसम्म उमेदवारको दर्खास्त फाराम वितरण गर्ने कार्यतालिका रहेको छ । बिहान १०ः३० बजेदेखि १ः३० बजेसम्म उमेदवारको दर्खास्त फाराम दर्ता गर्ने, दिउँसो २ः३० बजे उमेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने, दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने कार्यतालिका छ ।

दिउँसो ३ः१० बजे उजुरीउपर छानबिन र निर्णय गर्ने, दिउँसो ३ः१० बजेदेखि ५ बजेसम्म उमेदवारको नाम फिर्ता गर्ने र बेलुका ६ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । निर्वाचन कार्यतालिकाअनुसार, आगामी पुस १ गते ११ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने रहेको छ । मतदानपश्चात् मतगणना हुनेछ भने निर्वाचन समितिले तोकेअनुसार निर्वाचन परिणाम घोषणा हुनेछ । यसपछि प्रमाणपत्र वितरण र शपथ ग्रहण हुने तय गरिएको छ ।

जेनजी आन्दोलनको प्रभाव एमालेको एघारौँ महाधिवेशनमा पनि देखिएको छ । एमालेले केन्द्रीय समितिमा युवाका लागि कोटा नै तोकेको छ । महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले राखेको केन्द्रीय नेतृत्व चयनसम्बन्धी प्रस्ताव पारित भएको छ । यो प्रस्ताव पारित भएसँगै एमाले केन्द्रीय समितिमा युवा आउने बाटो खुलेको छ । एमाले केन्द्रीय समिति ३०१ सदस्यीय हुनेछ । यसमा १५ जना युवा अनिवार्य रुपमा आउने गरी कोटा तोकिएको छ ।

यसअनुसार, प्रदेश प्रदेशबाट एक जना युवा केन्द्रीय सदस्यमा आउनेछन् । प्रदेशको चुनाव हुँदा युवा कोटामा युवाले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन् । एमालेले सात प्रदेशसँगै काठमाडौँ उपत्यकालाई छुट्टै प्रदेश संरचनामा राखेको छ। त्यसैले आठ प्रदेश संरचनाबाट आठ युवा केन्द्रीय सदस्य हुनेछन् । त्यस्तै, खुल्ला प्रतिस्पर्धा हुने १२५ सिटमा पनि युवाका लागि कोटा तोकिएको छ। यसबाट दुई जना युवा केन्द्रीय सदस्य चयन हुनेछन् । जनजाति आदिवासीबाट २५ केन्द्रीय सदस्य आउनेछन्। त्यसमा पनि दुई जना युवा अनिवार्य गरिएको छ । मधेसी समुदायतर्फ २० जना केन्द्रीय सदस्य चयन हुनेछन् । यसमा पनि दुई जना युवा अनिवार्य चयन गर्नुपर्ने व्यवस्था गरिएको छ । दलितर्फ १२ केन्द्रीय सदस्यका लागि सिट तोकिएको छ। त्यसमध्ये एक जना युवा अनिवार्य गरिएको छ । एमालेले विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था गरेको छ। क्लस्टरभित्र युवाका लागि कोटा तोकिएको हो । युवा कोटामा युवाले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन् ।

यता अध्यक्ष ओलीले बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले शत्रुहरूले गालीगलौज गरेका बेलामा आफ्नै सहकर्मीबाट माया नपाएको गुनासो गरेका छन् । बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कडा अभिव्यक्ति दिएपछि ओलीले दुनियाँ विरोधीहरूले लखेटेका बेलामा आफ्नै पार्टीका साथीहरूबाट माया र साथ नपाएको गुनासो गरे । वरिष्ठ उपाध्यक्ष पोखरेलको नामै किटान गरेर सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव बैठकमा राखेका छन्। सम्बोधनका क्रममा ओलीले बुढेसकालमा डोकोमा हालेर फ्याँक्छौँ भन्ने जस्तै भाष्य नबोक्नसमेत आग्रह गरे ।

‘साथीहरूले ईश्वर कमरेडको डोको फिर्ता लैजाऊँ है, तपाईँहरूलाई पनि फाल्नुपर्छ भन्छन्, मेरो तर्फबाट घच्चमच्च भएको भए सरी । डोकोमा हालेर फाल्छु भनेर त कहाँ हुन्छ र ?’, अध्यक्ष ओलीले भने, ‘चौतर्फी घेराबन्दी गरी केपी ओलीलाई एक्ल्याएको बेला मेरा साथीहरूले माया गर्नुहोला भनेको, त्यो पाइनँ । मैले देश र जनताको शिर निहुराउने काम गरेको छैन । ईश्वर कमरेडले मेरो निरन्तरताले पार्टी ध्वस्त हुन्छ भनेको सुन्छु ,यो पटक्कै होइन ।’ एमालेको आगामी नेतृत्वका लागि ओली र पोखरेल भिड्ने पक्का भइसकेको छ । अहिले दुवै समूह प्यानल तयार गर्ने कसरतमा छन् ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।