काठमाडौं । जेन–जी आन्दोलनपछिका घटनासँग जोडिएर अनुसन्धानको दायरामा परेका तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालमाथि लगाइएको स्थानहद फुकुवा गरिएको छ ।
भाद्र २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन गरिरहेको जाँचबुझ आयोगले उनीहरूमाथि लगाइएको विदेश भ्रमण प्रतिबन्ध र काठमाडौं उपत्यका नछाड्नुपर्ने व्यवस्थालाई हटाउने निर्णय गरेको हो । जाँचबुझ आयोगका उपसचिव कमलप्रसाद पाण्डेले जारी गरेको विज्ञप्तिअनुसार आयोगले पुस ७ गते उक्त निर्णय गरेको हो । आयोगको निर्णयअनुसार अब दुवाडी, खापुङ र रिजालले आयोगको पूर्वस्वीकृति नलिई विदेश भ्रमण गर्न सक्नेछन् र काठमाडौं उपत्यकाबाहिर आवतजावतमा पनि रोक रहने छैन ।
आयोगका अनुसार भाद्र २३ र २४ गते भएका घटनाको छानबिन तथा अनुसन्धानको सिलसिलामा उनीहरूलाई अनुसन्धानको दायरामा राख्दै सावधानीका रूपमा केही प्रतिबन्ध लगाइएको थियो । त्यसअनुसार २०८२ भदौ १२ र २०८२ असोज २७ गते बसेका आयोगका बैठकहरूले उनीहरूको विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था लागू गर्ने निर्णय गरेका थिए । तर आयोगले ती पूर्वनिर्णयअनुसार गर्नुपर्ने कार्यहरू सम्पन्न भइसकेको ठहर गर्दै अब थप प्रतिबन्ध आवश्यक नदेखिएको निष्कर्ष निकालेको छ ।
त्यसकै आधारमा २०८२ पुस ७ गते बसेको बैठकले उनीहरूमाथि लगाइएका सबै स्थानहद फुकुवा गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । जेन–जी आन्दोलनका क्रममा भएका घटनाहरूलाई लिएर सरकारद्वारा गठित जाँचबुझ आयोगले सुरक्षा संयन्त्रको भूमिका, प्रशासनिक निर्णय र आन्दोलन नियन्त्रणका क्रममा अपनाइएका उपायहरूको विस्तृत अध्ययन गर्दै आएको छ ।
सोही क्रममा तत्कालीन उच्च पदस्थ अधिकारीहरू अनुसन्धानको दायरामा परेका थिए । स्थानहद फुकुवा भए पनि छानबिनको समग्र प्रक्रिया भने जारी रहेको आयोगले जनाएको छ । आयोगको पछिल्लो निर्णयसँगै सम्बन्धित अधिकारीहरूको आवतजावतमा लागेको प्रतिबन्ध हटे पनि जेन–जी आन्दोलनका घटनाबारे सत्यतथ्य पत्ता लगाउने कामलाई निष्कर्षमा पुर्याउने जिम्मेवारी आयोगको प्राथमिकतामा रहेको बताइएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।





































