ओली–देउवा, रवि–बालेन भेटको राजनीतिक अर्थ

काठमाडौं । राजनीतिक निकास प्रतिनिधिसभा पुनःस्थापना कि आमनिर्वाचन भन्ने प्रश्नले मुलुक दुई धारमा विभक्त भइरहेका बेला सोमबार (पुस ७ गते) भएका दुई महत्त्वपूर्ण भेटवार्ताले राजनीतिक वृत्तलाई थप तरंगित बनाएको छ ।

एकातर्फ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीचको भेट भयो भने अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच लामो संवाद भयो । यी दुवै भेटको राजनीतिक अर्थ भए पनि रवि–बालेन भेटले बढी चासो र चर्चा पाएको देखिन्छ । सहकारी ठगी मुद्दामा अदालतको आदेशपछि धरौटीमा रिहा भएका रवि लामिछाने र स्वतन्त्र राजनीतिक पहिचान बनाएका काठमाडौंका मेयर बालेन शाहबीचको भेट सार्वजनिक भएपछि नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरू एक ठाउँमा आउन सक्ने सम्भावनाबारे बहस चर्किएको छ । विघटित प्रतिनिधिसभाका प्रमुख दलहरू पुनःस्थापना र सर्वपक्षीय सरकार गठनको पक्षमा उभिँदै पुसभित्रै राजनीतिक निकास खोज्ने पृष्ठभूमि तयार भइरहेको समयमा भएका यी भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

देउवा–ओलीबीचको भेटको सन्दर्भ हेर्दा, भदौ २४ सम्म सत्ता सहकार्यमा रहेका यी दुई नेता त्यसपछि केही समय मौन जस्तै देखिए पनि परिस्थिति क्रमशः सामान्य बन्दै गएपछि औपचारिक र अनौपचारिक संवादमा फर्किएका छन् । मंसिर १८ गते पहिलो औपचारिक भेट भएपछि कांग्रेसले प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । अलमलमा देखिएको कांग्रेस ओलीसँगको भेटको दुई दिनमै सर्वोच्च जानु राजनीतिक रूपमा चासोको विषय बन्यो ।

ओलीले पनि देउवासँगको भेटलाई अर्थपूर्ण भन्दै सार्वजनिक रूपमा टिप्पणी गरेका थिए । सम्पादकहरूसँगको भेटमा उनले ‘देशको चिन्ताका लागि गरिएको छलफलको नतिजा बिस्तारै देखिने’ बताएका थिए । कांग्रेस–एमाले सत्ता सहकार्य सुरु हुनुअघि पनि यस्तै संकेत देखिएको थियो । २०८१ असार १५ गते दही–चिउरा खाने बहानामा आरजु देउवासहित शेरबहादुर देउवा बालकोट पुगेका थिए । त्यसको दुई दिनपछि मध्यरातमा कांग्रेस–एमाले सहकार्यको सम्झौता भएको थियो ।

त्यही शैली दोहोर्‍याउँदै मंसिर १८ गते ओली पत्नी राधिकासहित महाराजगञ्ज पुगे । त्यसको लगत्तै कांग्रेस प्रतिनिधिसभा पुनःस्थापनाको माग लिएर सर्वोच्च अदालत पुगेको थियो । पुस ७ गते ओली दोस्रोपटक महासचिव शंकर पोखरेलसहित महाराजगञ्ज पुगे । आसन्न राष्ट्रियसभा निर्वाचनमा सहकार्य र समग्र राजनीतिक संकट समाधानका उपायबारे छलफल भएको दुवै दलका नेताहरूको विश्लेषण छ । ओली र देउवा दुवै प्रतिनिधिसभा पुनःस्थापनामार्फत अहिलेको राजनीतिक संकट समाधान गर्नुपर्ने निष्कर्षमा पुगेको बुझाइ छ । सुरुमा ओलीले मात्र जोड दिएको पुनःस्थापनाको माग चुनाव अनिश्चित बन्दै जाँदा अन्य दल र नेताहरूले पनि उठाउन थालेका छन् । कांग्रेस–एमालेको संस्थापन पक्ष सर्वोच्च अदालतबाटै पुनःस्थापनामार्फत निकास आउँछ भन्ने विश्वासमा देखिन्छ । यही विश्वासका कारण उनीहरूले वैकल्पिक ‘प्लान बी’बारे खासै चर्चा गरेका छैनन् ।

कांग्रेस–एमालेका बहुमत सांसद प्रतिनिधिसभा पुनःस्थापनाको माग लिएर सर्वोच्च अदालत पुगेका छन् । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले चुनाव हुन नसके प्रतिनिधिसभा पुनःस्थापना नै हुने संकेत दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको छलफलमा नेकपाका नेता वर्षमान पुनले पनि चुनाव अनिश्चित भए पुनःस्थापना हुने बताएका थिए । यहीबीच, रवि–बालेन भेटले राजनीतिक वृत्तमा छुट्टै हलचल ल्याएको छ । फिल्म निर्देशनबाट राजनीतिमा आएका असीम शाहको कमलपोखरीस्थित स्टुडियोमा घण्टौं चलेको संवादपछि रवि र बालेन एउटै गाडीमा फर्किएको तस्वीर सार्वजनिक भयो । त्यसले नयाँ र वैकल्पिक शक्तिहरूबीच सहकार्यको सम्भावनाबारे चर्चा चर्काएको छ । विगतमा रवि र बालेनको सम्बन्ध खासै सौहार्दपूर्ण थिएन ।

२०७९ वैशाखमा बालेन स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरको मेयर निर्वाचित भएपछि उनको चर्चा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएको थियो । बालेन, हर्क साम्पाङ र गोपी हमालको जितपछि रवि टेलिभिजन करिअर छोडेर राजनीतिमा आएको बुझाइ धेरैको छ । बालेन पक्षधरहरूका अनुसार आफ्नो लोकप्रियताका कारण रविहरू राजनीतिमा आएको भन्ने बुझाइ बालेनको थियो । रास्वपा नेताहरू पनि बालेन–हर्क–गोपीको जित रविको राजनीतिक प्रवेशको एउटा सन्दर्भ भएको स्वीकार गर्छन् ।

पार्टी गठन गरेको चार महिनामै २०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा रास्वपा २१ सिटसहित संसदमा उदायो । संख्यात्मक रूपमा सानो भए पनि शहरी मतदातामा रास्वपाले बलियो छाप छोड्यो । रवि पहिलो प्रयासमै सांसद बने र उपप्रधानसहित गृहमन्त्री भए । गृहमन्त्री रहँदा काठमाडौं उपत्यकाका खोला किनारमा रहेका अनधिकृत बस्ती हटाउने विषयमा गृह मन्त्रालयबाट पर्याप्त सहयोग नपाएको भन्दै बालेन असन्तुष्ट बनेका थिए । यही विषयले रवि–बालेनबीच दूरी बढाएको स्रोतहरू बताउँछन् । सरकारबाट बाहिरिएको डेढ वर्षयता रवि सहकारी ठगी मुद्दामा अल्झिए । भदौ २३–२४ का घटनाले सिर्जना गरेको परिस्थितिले भने रवि र बालेनलाई फेरि एक ठाउँमा ल्यायो । भदौ २३ को जेनजी आन्दोलन भड्काउन भूमिका खेलेको आरोपमा बालेन एमालेको आलोचनाको केन्द्र बने । ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्ने अभिव्यक्तिलाई भदौ २४ को घटनासँग जोडेर उनको चर्को आलोचना भयो । घटनापछि केही समय बालेन मौन बसे ।

भदौ २४ को आगजनी र विध्वंशपछि बालेनले सार्वजनिक अपिल गर्दै आन्दोलन नियन्त्रणमा सहयोग गरेका थिए । उनले आन्दोलनलाई संसद विघटन र नयाँ राजनीतिक व्यवस्थाको सन्दर्भसँग जोड्दै सुशीला कार्कीलाई प्रधानमन्त्रीका रूपमा समर्थन गरेका थिए । रवि र बालेन दुवैले भदौ २३–२४ का घटनालाई युवाको विद्रोह र आन्दोलनका रूपमा व्याख्या गर्दै आएका छन् भने ओली पक्षले त्यसलाई विध्वंशको संज्ञा दिएको छ । भदौ २४ को घटनाप्रति समान दृष्टिकोण भएका कारण रवि र बालेन मिल्नुपर्ने दबाब सिर्जना भएको विश्लेषण छ ।

अदालतको आदेशपछि थुनामुक्त भएर पुस ५ गते चितवनमा आयोजित कार्यक्रममा रविले भदौ २४ को घटना दमनविरुद्ध जनताले गरेको विद्रोह भएको बताएका थिए । आगामी चुनावमा सहकार्य र उक्त आन्दोलनलाई संस्थागत गर्न सरोकारवालाहरू मिल्नुपर्ने अवस्था बनेको रास्वपा स्रोत बताउँछ । यसपटक बालेनसँग भेटका लागि रविले नै पहल गरेका थिए । जेलबाट मुक्त भएलगत्तै उनले वैकल्पिक शक्तिहरूसँग सहकार्यका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको संकेत दिएका थिए । यद्यपि, उनले बाहिर आफूखुसी व्याख्या नगर्न आग्रह गर्दै सुधन गुरुङ र कुलमान घिसिङजस्ता पात्रहरूसँग पनि संवाद गर्ने बताएका छन् ।

रविले पुस ७ गते पार्टी कार्यालयबाट सम्बोधन गर्दा रास्वपा छाडेका सुमना श्रेष्ठ र सन्तोष परियारप्रति पनि नरम धारणा व्यक्त गरे । सुमनालाई अगाडि सारेर बालेनले पार्टी खोल्ने चर्चा पनि चलेको थियो । कुलमान घिसिङको ‘उज्यालो नेपाल’ पार्टी घोषणासभामा सुमनाले नयाँ शक्तिहरू मिल्नुपर्ने बताएकी थिइन् । सोमबारको भेटमा रविले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेकोसम्मका टिप्पणी बाहिर आए । रास्वपा नेता शिशिर खनालको टेलिभिजन अन्तर्वार्ताले पनि त्यस अड्कललाई बल दिएको छ । यद्यपि, रविले बाहिर अतिरञ्जित व्याख्या नगर्न आग्रह गरेका छन् । विभिन्न मुद्दा–मामिला र राजनीतिक झमेलाबीच बालेनको नाम अगाडि सार्दा जनतामा आकर्षण बढ्ने रास्वपा नेताहरूको बुझाइ छ ।

बालेन आगामी दिनमा पुनः मेयरमै दोहोरिने वा संसदीय निर्वाचन लड्ने भन्ने अझै स्पष्ट छैन । यसैबीच, फागुन २१ का लागि तोकिएको निर्वाचन अनिश्चित बन्दै गएको र प्रतिनिधिसभा पुनःस्थापनाको माहोल बलियो हुँदै गएको देखिन्छ । पुस ५ गते भृकुटीमण्डपमा प्रचण्डले चुनाव सारिए राजनीतिक दुर्घटना हुने संकेत दिएको स्रोतहरू बताउँछन् । निर्वाचन आयोगले प्राविधिक तयारी गरे पनि सरकारले राजनीतिक माहोल बनाउन नसकेको दलहरूको आरोप छ । चुनाव अन्योलमा पर्दै जाँदा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीसहित देउवा, ओली र प्रचण्डसँग भेट गरेका छन् । तर, यो भेटले पनि तत्काल चुनावी वातावरण बनाउने संकेत देखिँदैन । संसद पुनःस्थापनाको पक्षमा सडक र अदालतमा संघर्ष गरिरहेको एमाले र त्यसको विरोधमा उभिएको रास्वपाको धारमध्ये कुन हावी हुन्छ, अबका केही दिनमा स्पष्ट हुने देखिन्छ ।