काठमाडौं । नेकपा (एमाले) भित्र फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै समानुपातिकतर्फका उम्मेदवार सिफारिस प्रक्रिया सुरु भएको छ । समानुपातिक बन्दसूची निर्वाचन आयोगमा बुझाउने मिति नजिकिँदै जाँदा पार्टीका तल्ला कमिटीहरूले केन्द्रमा नाम पठाउन थालेका हुन् । संसद् पुनर्स्थापनाको पक्षमा सार्वजनिक रूपमा उभिँदै आएको एमालेले एकातिर कानुनी र राजनीतिक लडाइँ जारी राखेको छ भने अर्कोतिर निर्वाचनको तयारीलाई पनि सँगसँगै अगाडि बढाइरहेको देखिन्छ ।
विगतमा एमालेको सचिवालय बैठकले समानुपातिक उम्मेदवार सिफारिसका लागि स्पष्ट मापदण्ड तय गरेर प्रदेश र जिल्लास्तरका कमिटीलाई औपचारिक निर्देशन दिने चलन थियो । तर हालै ११औँ महाधिवेशन सम्पन्न गरेको एमालेले यसपटक औपचारिक बैठक नै नबसी अनौपचारिक रूपमा तल्ला कमिटीलाई नाम पठाउन निर्देशन दिएको नेताहरू बताउँछन् । यसले पार्टीभित्रै प्रक्रिया र पारदर्शितामाथि प्रश्न उठ्न थालेका छन् ।
लुम्बिनी प्रदेश कमिटीका एक पदाधिकारीका अनुसार प्रदेशबाट समानुपातिक उम्मेदवारको सिफारिस भइसकेको छ । “अघिल्ला निर्वाचनमा सिफारिस भएर पनि उम्मेदवार बन्न नपाएका र अहिलेको राजनीतिक अवस्थालाई ध्यानमा राखेर नाम पठाउने सहमति भएको थियो,” ती पदाधिकारीले भने, “त्यही आधारमा हामीले नामहरूको सूची केन्द्रमा पठाएका छौँ ।” उनका अनुसार खुला, महिला, दलित, जनजाति, मधेसीलगायत क्लस्टरलाई मिलाएर नाम सिफारिस गरिएको छ । कोसी प्रदेशका नेताहरूले पनि अनौपचारिक रूपमा पुस ११ गतेभित्र नाम सिफारिस गरिसक्न भनिएको जानकारी आएको बताएका छन् । “केन्द्रबाट औपचारिक पत्र नआए पनि पुस ११ भित्र नाम पठाउनुपर्ने भन्ने सन्देश आएको छ,” कोसी प्रदेशका एक नेताले भने, “त्यसैअनुसार छलफल गरेर सूची तयार पार्दैछौँ ।”
यसैबीच एमाले महासचिव शंकर पोखरेलले मंगलबार प्रदेश कमिटी र ७७ वटै जिल्ला कमिटीका पदाधिकारीहरूसँग संयुक्त भर्चुअल बैठक गरेका थिए । बैठकमा उनले ११औँ महाधिवेशनपछिको राजनीतिक सन्देश तल्ला तहसम्म प्रवाह गर्न निर्देशन दिएका थिए । साथै उनले एमाले निर्वाचन प्रक्रियाबाट भाग्ने पार्टी नभएको स्पष्ट पारेको नेताहरूले बताएका छन् । “सरकारको रवैया गलत छ, निर्वाचनको सुनिश्चितता नभएको अवस्थामा पनि हामी संसद् पुनर्स्थापनाको कुरा गरिरहेका छौँ,” बैठकमा पोखरेलले भनेको नेताहरूको भनाइ छ, “तर एमाले चुनावबाट भाग्ने पार्टी होइन ।”
तर समानुपातिक बन्दसूचीका विषयमा औपचारिक छलफल नै नगरी नाम संकलन सुरु भएपछि पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ । विशेष गरी ११औँ महाधिवेशनमा नेता ईश्वर पोखरेल समूहबाट चुनाव लडेका नेताहरूले प्रक्रिया अपारदर्शी भएको भन्दै असन्तोष जनाएका छन् । उपमहासचिव योगेश भट्टराईले समानुपातिक उम्मेदवारको बन्दसूचीबारे पार्टी बैठक बसेर मापदण्ड तय गर्नुपर्ने माग गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलको ध्यानाकर्षण गराएको सार्वजनिक गरेका छन् । “प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको नाम पेस गर्ने समय नजिक आइसकेको छ,” भट्टराईले लेखेका छन्, “पार्टी बैठक बसेर स्पष्ट मापदण्ड बनाएर मात्रै तहगत कमिटीलाई सिफारिस गर्न निर्देशन दिनु उपयुक्त हुन्छ ।” सचिव पदमा पराजित भएका नेता गोकुल बास्कोटाले पनि समानुपातिक उम्मेदवारको नाम संकलन प्रक्रियाप्रति व्यंग्य गरेका छन् । “चुनाव हुँदैन पनि भन्छन्, फेरि दलहरू आफैँ खुसुखुसु समानुपातिक सदस्यको नाम बटुल्दैछन्,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “कुन कुरा पत्याउनु ?”
पार्टीभित्रका नेताहरूका अनुसार महासचिव पोखरेलले पुस ११ गतेभित्र केन्द्रमा नाम पठाउन निर्देशन दिने गरी सर्कुलर जारी गर्ने तयारी गरेका छन् । यद्यपि मंगलबारसम्म औपचारिक सर्कुलर भने जारी भइसकेको छैन । “सर्कुलर आउने चर्चा छ, तर अहिलेसम्म हात परेको छैन,” एक केन्द्रीय नेताले भने । निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची बुझाउने समय पुस १३ र १४ गते तोकेको छ । दलहरूले संवैधानिक प्रावधानअनुसार विभिन्न क्लस्टर मिलाएर बन्दसूची आयोगमा बुझाउनुपर्ने हुन्छ । संसद् पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै बेला एमालेले समानुपातिक उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाउनु पार्टीको द्वैध रणनीतिका रूपमा हेरिएको छ । एकातिर राजनीतिक र कानुनी लडाइँ, अर्कोतिर सम्भावित निर्वाचनको तयारी—यी दुवैलाई सन्तुलनमा राख्न एमाले नेतृत्वलाई चुनौती थपिँदै गएको देखिन्छ ।




































