काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फुटाएर अलग्गै राप्रपा नेपाल गठन गरेको करिब चार वर्षपछि कमल थापा पुनः ‘पुरानै घर’ फर्किएका छन् । बुधबार राप्रपा र राप्रपा नेपालबीच पार्टी एकताको लिखित सहमति भएको हो ।
कागजी रूपमा एकता भनिए पनि व्यवहारिक रूपमा कमल थापा र उनको समूह राप्रपामै समाहित भएका छन् । लामो समयदेखि आन्तरिक छलफल र अनौपचारिक संवाद चलिरहे पनि सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रम भने बुधबार अकस्मात् तय भएको स्रोतहरूको भनाइ छ ।
राप्रपा नेपालले बिहीबार बिहान जिल्ला अध्यक्षहरूसँग भर्चुअल बैठक र दिउँसो कार्यसम्पादन समितिको बैठक बोलाएको थियो । तर, एकताको सहमति जुटेसँगै ती दुवै बैठक स्थगित गरिएको छ । एकतासम्बन्धी सहमतिका विस्तृत विषयवस्तु भने सार्वजनिक गरिएको छैन । पार्टी एकताको निर्णय मुलुकलाई अहिले बलियो प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेको निष्कर्षका आधारमा गरिएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए । उनका अनुसार एकताको औपचारिक घोषणा १६ पुसमा आयोजना हुने घोषणासभामार्फत गरिनेछ ।
एकताको मोडालिटी, संगठनात्मक संरचना र पदीय व्यवस्थापनका विषय भने दुवै पार्टीको वार्ता टोलीले टुंग्याउने सहमति भएको छ । राप्रपाको तर्फबाट वार्ता टोलीमा बुद्धिमान तामाङ, विक्रम पाण्डे र ध्रुवबहादुर प्रधान छन् भने राप्रपा नेपालको तर्फबाट राजीव पराजुली, राजाराम बर्तौला र तेजकुमार कुर्म सहभागी छन् । एकतापछि कमल थापा राप्रपामा पूर्वअध्यक्षको हैसियतमा रहने तय भएको छ । राप्रपाको विधानअनुसार पूर्वअध्यक्ष पार्टीको कार्यसम्पादन समितिदेखि सबै केन्द्रीय समितिहरूमा पदेन सदस्य रहने व्यवस्था छ । त्यसबाहेक राप्रपा नेपालबाट आएका अन्य नेताहरूको पदीय मिलानबारे भने अझै टुंगो लाग्न बाँकी रहेको नेताहरूले बताएका छन् ।
राप्रपाका एक पदाधिकारीका अनुसार यो एकता निशर्त रूपमा भएको हो । ‘उहाँहरूले कुनै पनि पदका लागि बार्गेनिङ गर्नुभएको छैन । न्यायोचित रूपमा पदीय मिलान हुन्छ,’ ती पदाधिकारीले भने । २०७८ सालमा सम्पन्न राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि कमल थापाले पार्टी परित्याग गरेका थिए । त्यसबेला थापाले आफूलाई राजसंस्थाले चुनाव हराएको आरोप लगाउँदै राजसंस्थाको एजेन्डाबाट समेत दूरी बनाएका थिए । त्यसपछि उनले आफू निकट नेताहरूलाई साथ लिएर राप्रपा नेपाल ब्युँताएका हुन् ।
तर, राप्रपा नेपालले अपेक्षित राजनीतिक प्रभाव जमाउन सकेन । थापा स्वयंले प्रतिनिधिसभा निर्वाचनमा एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि पराजय भोग्नुपर्यो । निर्वाचन परिणाम र संगठन विस्तारमा आएको कमजोरीसँगै थापाको राजनीतिक अस्तित्व संकटमा पर्दै गएको विश्लेषण हुँदै आएको थियो । यही परिस्थितिमा उनले केही समयदेखि पुनः राप्रपामा फर्किने मनशाय बनाएको बताइन्छ ।
यसै वर्ष संयुक्त जनआन्दोलन समितिको ब्यानरमा भएको राजावादी आन्दोलनले कमल थापा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई नजिक ल्याएको थियो । आन्दोलनका क्रममा देखिएको सहकार्य र साझा एजेन्डाले दुवै पक्षबीच विश्वासको वातावरण बनाएको र त्यहीँबाट पार्टी एकताको ढोका खुलेको नेताहरूको भनाइ छ । लामो समयदेखि छुट्टाछुट्टै राजनीतिक यात्रा तय गरेका यी दुई नेताको पुनर्मिलनलाई राप्रपाभित्र संगठन सुदृढीकरणका रूपमा हेरिएको छ ।
यता, राप्रपाले मंसिर १८ गतेभित्र नियमित महाधिवेशन गर्नुपर्ने संवैधानिक र कानुनी दायित्व भए पनि पार्टीको केन्द्रीय समितिको बैठकले अध्यक्ष लिङदेनको कार्यकाल छ महिना थप गरेको छ । यसअनुसार अब आगामी जेठ १८ भित्र महाधिवेशन गर्नुपर्नेछ । अध्यक्ष लिङदेन पुनः अध्यक्ष बन्ने योजनामा रहेको बताइन्छ । कमल थापाको पुनरागमनले आगामी महाधिवेशनको आन्तरिक शक्ति सन्तुलन र पार्टीको भावी राजनीतिक दिशामा कस्तो प्रभाव पार्छ भन्ने विषयमा भने चासो बढ्दै गएको छ
सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।




































