फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमाथि देखिएको अनिश्चितता क्रमशः हट्दै गएको छ । राजनीतिक दलहरूले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएसँगै देश औपचारिक रूपमा चुनावी चरणमा प्रवेश गरेको छ । लामो समयदेखि अन्योल, शंका र आशङ्काले घेरेको निर्वाचन प्रक्रिया अब रोक्न वा असफल पार्न खोज्नु लोकतन्त्रकै अपमान हुनेछ । अब दल, सरकार र नागरिक—सबैको ध्यान एकै बिन्दुमा केन्द्रित हुनुपर्छ : निष्पक्ष, समयमै र विश्वसनीय चुनाव ।
जेनजी आन्दोलनपछि मुलुक राजनीतिक संक्रमणकालमा छ । पुरानो सत्ता संरचना ढलेपछि नयाँ शक्ति, नयाँ नेतृत्व र नयाँ अपेक्षाहरू सतहमा आएका छन् । तर संक्रमणकाल कहिल्यै स्थायी अवस्था हुन सक्दैन । यसलाई संस्थागत समाधान दिने एक मात्र संवैधानिक बाटो निर्वाचन हो । आन्दोलनले उठाएका असन्तोष, प्रश्न र आकांक्षालाई सडकबाट संसद्मा लैजाने माध्यम पनि चुनाव नै हो । त्यसैले निर्वाचन टार्ने वा कमजोर पार्ने कुनै पनि प्रयास परिवर्तनविरुद्धको षड्यन्त्र ठहरिनेछ ।
यसपटकको निर्वाचन सामान्य राजनीतिक प्रतिस्पर्धाभन्दा पनि ठूलो अर्थ बोकेको छ । यो चुनावले राज्यको वैधानिकता, सरकारको स्थायित्व र लोकतान्त्रिक प्रक्रियाप्रति जनविश्वास पुनःस्थापित गर्नेछ । यदि अब पनि चुनाव बहानामा ढिलाइ गरियो, वातावरण नभएको तर्क दोहोर्याइयो वा शक्ति संघर्षलाई प्राथमिकता दिइयो भने त्यसको प्रत्यक्ष असर शासन प्रणालीमाथि पर्छ । इतिहासले देखाइसकेको छ—अनिर्णय र अनिश्चितताले मुलुकलाई झन् संकटतर्फ धकेल्छ ।
राजनीतिक दलहरूको भूमिका अब निर्णायक छ । चुनावमा जाने प्रतिबद्धता केवल वक्तव्यमा सीमित हुनु हुँदैन । आन्तरिक गुटबन्दी, अस्वस्थ गठबन्धन गणित र सत्ताकेन्द्रित सोचभन्दा माथि उठेर दलहरूले लोकतान्त्रिक जिम्मेवारी वहन गर्नुपर्छ । चुनावको मैदानमा जाने साहस नदेखाउने दल परिवर्तनको वाहक बन्न सक्दैनन् । जनतासँग मत माग्ने, आफ्ना एजेन्डा स्पष्ट राख्ने र परिणाम स्वीकार्ने संस्कार विकास गर्नु आजको आवश्यकता हो ।
सरकारको जिम्मेवारी अझ गम्भीर छ । चुनावको निष्पक्षता, सुरक्षा र प्रशासनिक तयारीमा कुनै कमजोरी हुनु हुँदैन । निर्वाचन आयोगलाई पूर्ण स्वतन्त्रता र स्रोत उपलब्ध गराउनु सरकारको कर्तव्य हो । साथै, अभिव्यक्ति स्वतन्त्रता, सभा–जुलुसको अधिकार र मतदाताको सुरक्षा सुनिश्चित गर्नु राज्यको दायित्व हो । चुनावमा सरकारको तटस्थता देखिन सकेन भने परिणाममाथि प्रश्न उठ्नेछ, जसले संक्रमणकाल झन् लम्ब्याउने खतरा हुन्छ ।
जनताको भूमिका पनि कम महत्वपूर्ण छैन । जेनजी आन्दोलनले नागरिक चेतना र हस्तक्षेपको शक्ति देखाइसकेको छ । अब त्यो चेतनालाई संस्थागत दिशातर्फ लैजानुपर्ने समय आएको छ । चुनावप्रति उदासीनता होइन, सक्रिय सहभागिता आवश्यक छ । मतदानमार्फत् असन्तुष्टि व्यक्त गर्नु, विकल्प छान्नु र गलत निर्णयको जिम्मेवारी लिन तयार हुनु नै लोकतान्त्रिक नागरिकको परिचय हो ।
फागुन २१ को निर्वाचन केवल मिति होइन, यो राजनीतिक संक्रमण अन्त्य गर्ने अवसर हो । यो अवसर गुमेमा मुलुक फेरि अनिश्चितताको दुष्चक्रमा फस्नेछ । त्यसैले अब कसैले पनि चुनाव असफल पार्ने दुस्साहस गर्नु हुँदैन । दलहरू प्रतिस्पर्धामा उत्रुन्, सरकार निष्पक्ष रहोस् र जनता निर्णायक बनून् । लोकतन्त्रको पुनर्स्थापना सडकमा होइन, मतपेटिकामै हुनुपर्छ ।
मिति २०८२ पुस १६ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।



































