विराटनगर । कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै मन्त्रीहरूलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्दै मन्त्रिमण्डल पुनःसंरचना गरेका हुन् । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सहमति अनुसार नयाँ अनुहारलाई सरकारमा सहभागी गराइएको छ ।
मुख्यमन्त्रीको सिफारिसमा नियुक्त ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूलाई शपथ गराएका हुन् । पुनर्गठित मन्त्रिमण्डलमा सत्ता साझेदार दल कांग्रेस र एमालेबीच बराबरी भागबण्डा गरिएको छ । दुवै दलबाट ४–४ जना मन्त्री र १–१ जना राज्यमन्त्री नियुक्त गरिएको छ । यसअघिको मन्त्रिमण्डललाई पूर्ण रूपमा हटाएर नयाँ टिम गठन गरिएको हो ।
नयाँ मन्त्रिमण्डलअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी प्रदीपकुमार सुनुवारले पाएका छन् । पर्यटन, वन तथा वातावरण मन्त्रालय भीम पराजुलीलाई दिइएको छ भने खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी तिलचन पाठकले सम्हालेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय इन्द्रमणि पराजुलीलाई तोकिएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालय विदुरकुमार लिङ्थेपले पाएका छन् । सामाजिक विकास मन्त्रालय रामप्रसाद महतोको जिम्मामा गएको छ भने स्वास्थ्य मन्त्रालय मानबहादुर लिम्बूलाई दिइएको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालय इसाइल मन्सुरीले सम्हालेका छन् । त्यसैगरी शोभा चेम्जोङलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त गरिएको छ भने उमाकान्त गौतमलाई विनाविभागीय राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
मुख्यमन्त्री कार्कीले सरकारलाई थप प्रभावकारी र गतिशील बनाउने उद्देश्यले मन्त्रिपरिषद् पुनर्गठन गरिएको बताएका छन् । नयाँ मन्त्रीहरूको नियुक्तिसँगै प्रदेश सरकारका कामकारबाहीलाई तीव्रता दिने र नीति कार्यान्वयनलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।




































