काठमाडौँ । आसन्न राष्ट्रिय सभा निर्वाचनमा चार ठूला दलबीच चुनावी तालमेल गर्ने सहमति बनेको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गरेर अघि बढ्ने निष्कर्षमा पुगेका हुन् ।
कांग्रेसको पहलमा सुरु भएको छलफलपछि एमाले, नेकपा र जसपा पनि एकै ठाउँमा आउन सहमत भएका हुन् । कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकले एमाले र नेकपाका शीर्ष नेतासँग निरन्तर छलफल गरेपछि चार दलबीच गठबन्धनको आधार तयार भएको कांग्रेस नेताहरूले बताएका छन् । राष्ट्रिय सभामा शक्ति सन्तुलन मिलाउने र निर्वाचनमा अनावश्यक प्रतिस्पर्धा टार्ने उद्देश्यले तालमेल गर्ने सहमति बनेको उनीहरूको भनाइ छ ।
कांग्रेसका एक नेताका अनुसार राष्ट्रिय सभा निर्वाचनका लागि चार दलबीच सिट बाँडफाँडको मोटामोटी सहमति भइसकेको छ । सहमतिअनुसार निर्वाचन हुने १८ सिटमध्ये कांग्रेसले ७, एमालेले ७, नेकपाले ३ र जसपाले १ सिट पाउने प्रस्ताव छ । पार्टीको सङ्ख्यात्मक ‘स्ट्रेन्थ’ का आधारमा कांग्रेसले ८ सिटमा दाबी गरे पनि नेकपाका लागि एक सिट छाडेर सहमतिमा पुगेको ती नेताले बताए । सोमबार कांग्रेस कार्यवाहक सभापति खड्का र नेता लेखक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डु पुगेका थिए ।
त्यहाँ भएको छलफलमा अध्यक्ष ओलीले राष्ट्रिय सभामा एमालेको उपस्थिति कमजोर रहेको भन्दै ७ सिटभन्दा कममा सहमत हुन नसकिने स्पष्ट अडान लिएको स्रोतले जनाएको छ । ओलीको अडानपछि कांग्रेस र एमालेबीच सिट सङ्ख्यामा सहमति जुटेको हो । कांग्रेस नेताका अनुसार प्रारम्भिक रूपमा कांग्रेस ७, एमाले ६, नेकपा ४ र जसपा १ सिटमा जाने प्रस्ताव गरिएको थियो । तर एमाले अध्यक्ष ओली ७ सिटभन्दा तल झर्न तयार नभएपछि समीकरण फेरिएको हो । यता नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको आन्तरिक शक्ति सन्तुलन र राष्ट्रिय सभामा प्रभाव कायम राख्न ४ सिट आवश्यक रहेको धारणा राखेका थिए ।
यसैक्रममा मंगलबार बिहान कांग्रेस नेता रमेश लेखकले नेकपा संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठ सहभागी हात्तीवनको छलफलमा एमालेसँग भएको संवादबारे ‘ब्रिफिङ’ गरेका थिए । उनले नेकपालाई ३ सिटमा सहमत गराउने प्रस्ताव राखेका थिए । छलफल सकारात्मक भए पनि अन्तिम टुंगो भने लागिसकेको छैन । नेकपाका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रिय सभा निर्वाचनलाई केन्द्रमा राखेर कांग्रेससँग छलफल भएको पुष्टि गरे । “राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाने विषयमा सकारात्मक छलफल भएको छ । आधारभूत सहमति बनेको छ, केही प्राविधिक कुरा मिलाउन बाँकी छन्,” उनले भने । राष्ट्रिय सभा निर्वाचनमा जसपालाई पनि सहभागी गराउन कांग्रेस नेताहरूले जसपा अध्यक्ष उपेन्द्र यादव र नेता महन्थ ठाकुरसँग टेलिफोन संवाद गरिरहेको बुझिएको छ । जसपाले एक सिट पाउने प्रस्तावमा प्रारम्भिक रूपमा सकारात्मक देखिएको कांग्रेस स्रोतको भनाइ छ ।
चार दलबीच सिट सङ्ख्यामा सहमति भए पनि क्लस्टर र प्रदेशगत भागबन्डा अझै मिल्न बाँकी छ । पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका रहेकाले आजैभित्र यी विषयमा सहमति गर्नुपर्ने दबाब दलहरूमा छ । विशेषगरी महिला, दलित, आदिवासी–जनजाति र अन्य क्लस्टरको मिलान र कुन प्रदेशबाट कुन दलको उम्मेदवार हुने भन्ने विषयमा अन्तिम सहमति हुन बाँकी छ । एमाले उपमहासचिव लेखराज भट्टले पनि राष्ट्रिय सभाका लागि क्लस्टर मिलाउन बाँकी रहेको स्वीकार गरेका छन् । एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “हरेक प्रदेशबाट एक–एक जना पर्ने गरी हामीले ७ सिट मागेका छौँ । तर कुन प्रदेशमा महिला कति, पुरुष कति र कुन क्लस्टर कसले लिने भन्ने टुंगो लागेको छैन ।”
उनका अनुसार एमाले सचिवालय बैठकले यसबारे सहमति गर्न अध्यक्ष ओलीलाई जिम्मेवारी दिएको छ । “सिट बाँडफाँडको आधारभूत सहमति भइसकेको छ । अब क्लस्टर र प्रदेशगत विषयमा नेपाली कांग्रेससँग अध्यक्षज्यूले छलफल गरेर टुंगो लगाउनुहुनेछ,” भट्टले बताए । राष्ट्रिय सभा निर्वाचनमा कोसी र लुम्बिनी प्रदेशबाट ३–३ जना, मधेस प्रदेशबाट ४ जना तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २–२ जना गरी कुल १८ सदस्य निर्वाचित हुनेछन् । ५९ सदस्यीय राष्ट्रिय सभामा हाल कांग्रेसका १६, एमालेका ११ (राष्ट्रपतिबाट मनोनितसहित), नेकपाका २७ (मनोनितसहित), जसपाका ४ र राष्ट्रिय जनमोर्चाका १ सदस्य छन् ।
आगामी फागुन २१ गते कार्यकाल सकिन लागेका राष्ट्रिय सभा सदस्यमा एमालेका ८, मनोनित वामदेव गौतमसहित नेकपाका ९ र जसपाका २ जना छन् । कांग्रेसका भने यसपटक कार्यकाल सकिने सदस्य छैनन् । आउँदो माघ ११ गते १८ सदस्यका लागि निर्वाचन हुँदै छ भने एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् । २०७६ सालमा निर्वाचित राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिन लागेकाले यो निर्वाचन हुन लागेको हो । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका पदाधिकारी मतदाता हुन्छन् ।
प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको मतभार १९ तोकिएको छ । एक्लाएक्लै चुनाव लड्दा कोसी प्रदेशमा एमाले र बाँकी ६ प्रदेशमा कांग्रेसको मतभार बढी छ । चार दलबीच गठबन्धन कायम रहेमा अधिकांश स्थानमा निर्विरोध निर्वाचित हुने सम्भावना उच्च रहेको नेताहरूको आकलन छ । न्यून मतभार भएका राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत दलहरू राष्ट्रिय सभा निर्वाचनमा सक्रिय प्रतिस्पर्धामा उत्रिने संकेत देखिएका छैनन् । यद्यपि राजनीतिक उपस्थितिका लागि केही प्रदेशमा उम्मेदवारी दिने सम्भावना रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।




































