काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै ‘भिजन–१०’ नामक चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
धनुषाको जनकपुरमा आयोजित चुनावी सभामा पार्टीका सभापति गगनकुमार थापाले उक्त भिजन सार्वजनिक गर्दै देशको दीर्घकालीन विकास, समृद्धि र सुशासनका लागि कांग्रेसले स्पष्ट रोडम्याप तयार गरेको बताए । भिजन–१० मार्फत नेपाली कांग्रेसले नागरिकलाई सम्मानित जीवनयापनको अवसर प्रदान गर्ने, आर्थिक समृद्धि हासिल गर्ने तथा विश्वसामु नेपाललाई प्रतिष्ठित राष्ट्रका रूपमा स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ । घोषणापत्रमा वर्तमान चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै समावेशी, न्यायपूर्ण र दिगो विकासको मार्गमा देशलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
कांग्रेसले प्रस्तुत गरेको भिजनअनुसार पहिलो लक्ष्य ‘सम्मानित भएर बाँच्न पाउने नेपाल’ निर्माण गर्नु हो । यसअन्तर्गत नागरिकको मौलिक अधिकार, सामाजिक सुरक्षा, रोजगारी, स्वास्थ्य सेवा र जीवनस्तर उकास्न विशेष प्राथमिकता दिइने उल्लेख गरिएको छ । प्रत्येक नागरिकले राज्यबाट सम्मान, सुरक्षा र अवसर पाउने वातावरण सिर्जना गर्ने पार्टीको प्रतिबद्धता छ । दोस्रो लक्ष्य ‘सपना देख्न सक्ने नेपाल’ निर्माण गर्नु हो । यसअन्तर्गत युवालाई देशभित्रै अवसर प्रदान गरी उनीहरूलाई विदेश पलायन हुन बाध्य नबनाउने नीति लिइने जनाइएको छ । शिक्षा, सीप विकास, नवप्रवर्तन र उद्यमशीलतालाई प्रवद्र्धन गर्दै युवाको भविष्य सुरक्षित गर्ने योजना घोषणापत्रमा समेटिएको छ ।
तेस्रो लक्ष्य ‘सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल’ हो । निजी क्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत लगानी वातावरण सुधार गर्ने, उद्योग व्यवसाय विस्तार गर्ने र रोजगारी सिर्जनामा जोड दिने कांग्रेसको योजना छ । स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्य पनि समावेश गरिएको छ । चौथो लक्ष्य ‘पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल’ हो । कृषि क्षेत्रलाई आधुनिकिकरण, व्यावसायीकरण र प्रविधिमैत्री बनाउँदै किसानको आय वृद्धि गर्ने कांग्रेसको प्रतिबद्धता छ । उत्पादनदेखि बजारसम्मको सुनिश्चितता, अनुदान र बीमा प्रणालीमार्फत किसानलाई संरक्षण गर्ने नीति घोषणापत्रमा उल्लेख गरिएको छ ।
पाँचौँ लक्ष्य ‘ओखती र ओत दिने नेपाल’ निर्माण गर्नु हो । यसअन्तर्गत नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, सरकारी अस्पताललाई सुदृढ बनाउने र स्वास्थ्य बीमा प्रणालीलाई प्रभावकारी बनाउने लक्ष्य लिइएको छ । प्राकृतिक विपद्, महामारी र संकटका बेला राज्यले नागरिकलाई पूर्ण संरक्षण दिने व्यवस्था गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
छैटौँ लक्ष्य ‘छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल’ हो । शिक्षा क्षेत्रमा समान पहुँच सुनिश्चित गर्दै गुणस्तरीय र निःशुल्क शिक्षालाई प्राथमिकता दिने कांग्रेसको योजना छ । विद्यालयदेखि उच्च शिक्षासम्म छात्रवृत्ति, सहुलियत र प्रविधिमैत्री शिक्षाको विस्तार गर्ने प्रतिबद्धता घोषणापत्रमा समावेश गरिएको छ । सातौँ लक्ष्य ‘बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल’ निर्माण गर्नु हो । यसअन्तर्गत सुशासन, पारदर्शिता र जवाफदेहितालाई मजबुत बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने र कानुनको समान कार्यान्वयन सुनिश्चित गर्ने नीति लिइने बताइएको छ । राज्य संयन्त्रलाई प्रभावकारी र जनमैत्री बनाउने लक्ष्य कांग्रेसले अघि सारेको छ । आठौँ लक्ष्य ‘भौतिकतामा गर्व गर्न सक्ने आधुनिक नेपाल’ हो । पूर्वाधार विकास, स्मार्ट सहर, डिजिटल सेवा, यातायात, ऊर्जा र सञ्चार क्षेत्रमा लगानी बढाउने योजना घोषणापत्रमा समेटिएको छ । आधुनिक प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई छरितो बनाउने कांग्रेसको प्रतिबद्धता छ ।
नवौँ लक्ष्य ‘विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल’ निर्माण गर्नु हो । स्वतन्त्र, सन्तुलित र सक्रिय परराष्ट्र नीति अवलम्बन गर्दै अन्तर्राष्ट्रिय समुदायमा नेपालको प्रतिष्ठा बढाउने योजना कांग्रेसले प्रस्तुत गरेको छ । राष्ट्रिय हितलाई सर्वोपरि राख्दै कूटनीतिक सम्बन्ध विस्तार गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।
दसौँ लक्ष्य ‘समुन्नतिमा लम्कने नेपाल’ हो । यसअन्तर्गत समग्र आर्थिक, सामाजिक र राजनीतिक विकासलाई दिगो रूपमा अघि बढाउँदै समृद्ध राष्ट्र निर्माण गर्ने दीर्घकालीन सोच कांग्रेसले अघि सारेको छ । गरिबी निवारण, क्षेत्रीय असन्तुलन अन्त्य र समावेशी विकासलाई मुख्य आधार बनाइने जनाइएको छ । भिजन–१० सार्वजनिक गर्दै सभापति थापाले यो घोषणापत्र केवल चुनावी नारा नभई देशलाई सही दिशामा लैजाने मार्गचित्र भएको बताए । उनले जनताको विश्वास, सहभागिता र सहयोगबाट मात्र भिजनलाई व्यवहारमा उतार्न सकिने उल्लेख गर्दै कांग्रेस नेतृत्वको सरकारले यी लक्ष्यलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे । नेपाली कांग्रेसले भिजन–१० मार्फत नागरिकको जीवनस्तर उकास्ने, लोकतन्त्रलाई सुदृढ बनाउने र समृद्ध नेपालको आधार तयार गर्ने लक्ष्य लिएको स्पष्ट गरेको छ । पार्टीले आगामी निर्वाचनमा जनतासँग यही भिजन लिएर जाने र कार्यान्वयनमा दृढ रहने जनाएको छ ।
१ सम्मानित भएर बाँच्न पाउने नेपाल
२ सपना देख्न सक्ने नेपाल
३ सम्पत्ति र रोजगारी सृजनालाई प्रोत्साहन गर्ने नेपाल
४ पेटभरी खुवाउने, देशलाई चिनाउने किसानको नेपाल
५ ओखती र ओत दिने नेपाल
६ छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल
७ बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल
८ भौलिकतामा गर्व गर्न सक्ने आधुनिक नेपाल
९ विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
१० समुन्नतिमा लम्कने नेपाल
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।




































