ओलीको निर्देशन : सबै उम्मेदवार जनताको घरघरमा पुग्नू

झापा । आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचनको मिति नजिकिँदै गर्दा केपी शर्मा ओलीले पार्टीका उम्मेदवार तथा नेता–कार्यकर्तालाई जनताको घर–घरमा पुगेर चुनावी अभियानलाई तीव्र बनाउन निर्देशन दिएका छन्।

नेकपा एमालेका अध्यक्ष ओलीले जनतामाझ प्रत्यक्ष रूपमा पुगेर पार्टीका एजेन्डा स्पष्ट पार्न, भ्रम चिर्न र मतदातासँग प्रत्यक्ष संवाद गर्न विशेष जोड दिएका हुन्। काठमाडौं फर्किने क्रममा ओलीले झापाको बिर्तामोडस्थित होटल हेभनमा पार्टीका उम्मेदवार, निर्वाचन परिचालन कमिटीका संयोजक तथा अगुवा नेता–कार्यकर्तालाई बोलाएर विस्तृत छलफल गरेका थिए। सो अवसरमा उनले निर्वाचन परिणाममुखी बनाउन सबै तहका नेता–कार्यकर्ताले जिम्मेवारीपूर्वक सक्रिय हुनुपर्ने बताएका थिए।

छलफलमा सहभागी झापा क्षेत्र नम्बर ४ निर्वाचन परिचालन कमिटीका संयोजक मनोज ताम्लीका अनुसार अध्यक्ष ओलीले जनतासँग प्रत्यक्ष सम्पर्क बढाउन विशेष निर्देशन दिएका थिए। “सबै नेता–कार्यकर्ता परिणाम निकाल्ने गरी निर्वाचनमा खटिनुपर्छ,” अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै संयोजक ताम्लीले भने, “जनस्तरमा रहेका भ्रम चिर्न जनताका घर–घरमा पुग्न पनि उहाँको विशेष निर्देशन छ।” ओलीले निर्वाचनमा सामाजिक सञ्जालमा देखिने धारणा र वास्तविक जनमतबीच अन्तर हुन सक्ने उल्लेख गर्दै प्रत्यक्ष भेटघाटलाई प्राथमिकता दिनुपर्ने बताएका थिए। उनले मतदातासँग प्रत्यक्ष संवादमार्फत पार्टीका उपलब्धि, योजना र भावी कार्यक्रमबारे जानकारी गराउनुपर्नेमा जोड दिएका थिए। साथै उनले निर्वाचनलाई केवल औपचारिक प्रक्रिया नभई जनताको विश्वास जित्ने अवसरका रूपमा लिन आग्रह गरेका थिए।

छलफलमा झापाका सबै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको सहभागिता रहेको थियो। उनीहरूले हालसम्म सञ्चालन गरिएको चुनावी अभियान, घरदैलो कार्यक्रम, जनसम्पर्क अभियान तथा स्थानीय तहमा भइरहेको गतिविधिबारे अध्यक्ष ओलीलाई जानकारी गराएका थिए। निर्वाचन परिचालन कमिटीका संयोजकहरूले समेत आ–आफ्नो क्षेत्रको चुनावी अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए।उम्मेदवारहरूले अध्यक्ष ओलीसमक्ष सामाजिक सञ्जालमा देखिएजस्तो अन्य दलहरूको पक्षमा व्यापक जनसमर्थन नरहेको बताएका थिए। उनीहरूले प्रत्यक्ष भेटघाटका क्रममा मतदाताबाट एमालेप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भएको उल्लेख गरेका थिए। चुनावी प्रचार अभियानका क्रममा भएका भेटघाट, घरदैलो कार्यक्रम तथा अन्तरक्रियामा मतदाताले एमालेको पक्षमा खुलेर समर्थन व्यक्त गरेको उनीहरूको भनाइ थियो।

उम्मेदवारहरूले वर्तमान राजनीतिक परिस्थितिमा एमालेप्रति जनताको विश्वास बढ्दै गएको दाबी गर्दै त्यसलाई मतमा परिणत गर्न अझ सशक्त रूपमा अभियान सञ्चालन गरिने बताएका छन्। उनीहरूले पार्टी नेतृत्वबाट प्राप्त निर्देशनअनुसार संगठित र योजनाबद्ध रूपमा चुनावी अभियान अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए। अध्यक्ष ओलीले निर्वाचनलाई पार्टीको भविष्यसँग जोडिएको महत्वपूर्ण अवसरका रूपमा लिन आग्रह गर्दै पार्टीभित्र एकता, अनुशासन र सक्रियता कायम राख्नुपर्नेमा जोड दिएका थिए। उनले जनताको विश्वास जित्न पारदर्शी, जिम्मेवार र परिणाममुखी राजनीतिक अभ्यास आवश्यक रहेको पनि बताएका थिए। एमालेले झापालाई आफ्नो बलियो आधार क्षेत्रका रूपमा लिँदै आएको छ। आगामी निर्वाचनमा पनि झापाबाट सकारात्मक परिणाम आउने विश्वास पार्टी नेतृत्वले व्यक्त गरेको छ। अध्यक्ष ओलीको निर्देशनपछि झापामा एमालेको चुनावी अभियान अझ सक्रिय हुने अपेक्षा गरिएको छ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।