३४ वर्षसम्म झुक्याए, यस वर्ष उनीहरूलाई झुक्याइदिनू : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले विगत तीन दशकदेखि जनतालाई झुक्याउँदै आएका परम्परागत दल र नेताहरूलाई यसपटक जनताले नै जवाफ दिनुपर्ने बताएका छन्।

शनिबार चितवन–२ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले ३४ वर्षदेखि दोहोरिँदै आएको राजनीतिक संस्कार तोड्ने समय आएको दाबी गरे। लामिछानेले चुनावी अभियानका क्रममा मतदाता प्रभावित पार्न विभिन्न दलले पैसा बाँड्ने प्रवृत्तिमाथि कटाक्ष गर्दै त्यस्तो पैसा लिएर पनि अन्तिम निर्णय मतदाताले विवेकपूर्ण गर्नुपर्ने धारणा राखे।

“मासुभातको पैसा, बाँड्न गएको पैसा, उसको भए त सम्पत्ति घट्न पर्थ्यो नि, बढेको छ। हाम्रै पैसा हो, खाइदिने नि,” उनले भने, “हाम्रो अस्पताल राम्रो नबनाएर ठगेको पैसा खाइदिनुस्, हाम्रो स्कुलमा शिक्षा नदिएर लुटेको पैसा खाइदिनुस्। राम्रो बाटो, पुल, नहर नबनाएको पैसा हो, खाइदिनुस्। तर भोट चाहिँ घण्टीमा हालिदिनुस्।”

उनले ‘घण्टी’ चुनाव चिन्हतर्फ संकेत गर्दै मतदातालाई अन्तिम निर्णयमा परिवर्तनको पक्षमा उभिन आग्रह गरे। लामिछानेले अंग्रेजी उखान ‘टिट फर ट्याट’ उल्लेख गर्दै भने, “३४ वर्षसम्म झुक्याए, यस वर्ष उनीहरूलाई झुक्याइदिनू।” उनका अनुसार वर्षौंदेखि दोहोरिँदै आएको आश्वासन र अपूरा प्रतिबद्धताबाट आजित जनताले अब आफ्नो मतमार्फत सशक्त सन्देश दिनुपर्छ।

लामिछानेले मत माग्न घरदैलोमा आउने उम्मेदवार र दलका प्रतिनिधिलाई सोझै अस्वीकार नगर्न पनि सुझाव दिए। “घरमा आउँछन्, यसपटक पनि हामीलाई है भोट भनेर के के भन्छन्। झुटको दोकान खोल्नेलाई मैले के सिकाउन पर्छ र!” उनले भने, “त्यतिखेर तपाईंले भन्ने के भने, तपाईंलाई नै हो भोट भन्दिनुस्, तपाईं नै हो भन्दिनुस्। गर्ने बेला के हो मैले किन भन्नु।”

उनको यो अभिव्यक्ति चुनावी मैदानमा तीव्र प्रतिस्पर्धा र आरोप–प्रत्यारोपबीच आएको हो। रास्वपाले आफूलाई पुराना दलको विकल्पका रूपमा प्रस्तुत गर्दै सुशासन, पारदर्शिता र प्रणाली सुधारलाई मुख्य एजेन्डा बनाएको छ।

लामिछानेले यसपटकको निर्वाचनलाई “पुरानो राजनीतिक शैलीविरुद्ध जनमत संग्रह” का रूपमा चित्रण गर्दै मतदातालाई परिवर्तनको पक्षमा उभिन आग्रह गरे। चितवन–२ मा आयोजित सभामा पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले परिवर्तनको नारासहित रास्वपाको पक्षमा मतदान गर्न अपिल गरेका थिए।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।