सुरु भयो मौन अवधि

काठमाडौं । आगामी बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आज राति १२ बजेपछि मौन अवधि सुरु हुँदैछ ।

मतदान हुनुअघि ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्बम लागू हुने यो अवधि निर्वाचन व्यवस्थापनको दृष्टिले अत्यन्त संवेदनशील र महत्त्वपूर्ण मानिन्छ । निर्वाचन आयोग ले तोकेको व्यवस्थाअनुसार मौन अवधिमा कुनै पनि प्रकारको चुनावी प्रचारप्रसार गर्न पाइँदैन । राजनीतिक दल, उम्मेदवार, तिनका समर्थक, सञ्चारमाध्यम, सञ्चारकर्मी तथा मतदाता सबैले यो अवधिमा विशेष आचरण पालना गर्नुपर्ने हुन्छ । आयोगले स्पष्ट पारेअनुसार मौन अवधिमा चुनावसँग सम्बन्धित छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला, गोष्ठी जस्ता कार्यक्रम आयोजना गर्न निषेध गरिएको छ ।

यस अवधिमा बाजागाजा बजाउने, नाचगान गर्ने, सार्वजनिक भोजभतेर आयोजना गर्ने, जुलुस प्रदर्शन गर्ने वा कुनै किसिमको सभा–समारोह आयोजना गर्न पाइँदैन । हुलहुज्जत, होहल्ला वा शान्ति भंग गर्ने गतिविधि गर्न वा गराउन कडाइका साथ प्रतिबन्ध लगाइएको छ । निर्वाचनको वातावरण स्वच्छ राख्न र मतदातालाई स्वतन्त्र रूपमा निर्णय लिन सक्ने अवसर दिन यस्ता प्रावधान लागू गरिएको आयोगको भनाइ छ । डिजिटल माध्यममा समेत कडाइ गरिएको छ । सामाजिक सञ्जाल, अनलाइन पोर्टल, छापा माध्यम वा अन्य कुनै प्लेटफर्ममार्फत कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट, सेयर वा प्रसारण गर्न पाइँदैन । साउण्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन प्रयोग गरी मत माग्ने वा प्रचार गर्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ ।

राजनीतिक दल तथा उम्मेदवारहरूले मौन अवधि सुरु हुनुअघि सामाजिक सञ्जालमार्फत चलाइएका विज्ञापन तथा प्रचार सामग्री हटाउनुपर्नेछ । भातृ संगठन तथा समर्थक समूहहरूले पनि अनलाइन प्लेटफर्ममा राखिएका प्रचार सामग्री हटाएर आयोगको निर्देशन पालना गर्नुपर्नेछ । आयोगले मौन अवधि उल्लङ्घन गर्ने जो–कोहीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।

मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान समाप्त नभएसम्म मतदाता वा मतदान केन्द्रमा खटिएका कर्मचारीलाई बाधा पुर्‍याउने कुनै पनि गतिविधि गर्न पाइँदैन । मतदान केन्द्र आसपास भय, त्रास वा असुरक्षाको वातावरण सिर्जना गर्ने, मतदातामाथि दबाब दिने वा मतदान प्रक्रियामा अवरोध पुर्‍याउने कार्य गैरकानुनी मानिनेछ ।

त्यस्तै, मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री मतदानको ४८ घण्टा अघि नै हटाउनुपर्ने प्रावधान छ । मतदान केन्द्र रहेको घर, भवन वा स्थान वरिपरि शान्ति भंग हुने कुनै गतिविधि गर्न नपाइने आयोगले स्पष्ट पारेको छ । निजी वा सार्वजनिक घर, भवन वा जग्गामा निर्वाचनलाई असर पार्ने गरी कार्यक्रम सञ्चालन गर्नसमेत रोक लगाइएको छ । निर्वाचनको निष्पक्षता कायम राख्न सुरक्षाका विशेष प्रबन्ध मिलाइएको जनाइएको छ । सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिएको छ भने मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्थालाई थप कडाइ गरिएको छ । निर्वाचनका क्रममा कुनै अवाञ्छित गतिविधि हुन नदिन स्थानीय प्रशासन र सुरक्षा निकायहरू परिचालित रहनेछन् ।

मौन अवधि निर्वाचन प्रक्रियाको अत्यन्त संवेदनशील चरण भएकाले सबै पक्षले कानुनी व्यवस्था र आचारसंहिताको पालना गर्नुपर्ने आयोगको आग्रह छ । मतदातालाई स्वतन्त्र रूपमा सोच्न, मूल्याङ्कन गर्न र आफ्नो मताधिकार प्रयोग गर्न सहज वातावरण सिर्जना गर्नु नै मौन अवधिको मूल उद्देश्य रहेको आयोगले जनाएको छ । निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले यसको विश्वसनीयता कायम राख्न सबै सरोकारवाला जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याइएको छ । आयोगले कानुन उल्लङ्घन गर्ने जो–कोहीलाई कारबाहीको दायरामा ल्याइने स्पष्ट पार्दै शान्त, व्यवस्थित र अनुशासित रूपमा मतदान सम्पन्न गराउन सबैको सहयोग अपेक्षा गरेको छ ।

केके गर्न पाइँदैन ?

निर्वाचन प्रचारप्रसारमा रोक
सामाजिक सञ्जालमा कडाइ
भोज भतेर, हुलहुज्जत गर्न नहुने
कुनै पनि तरिकाबाट मत माग्न नपाउने
मतदानमा बाधा पुर्‍याउन नहुने
विज्ञापन हटाउनु पर्ने
मतदान केन्द्रमा शान्ति कायम राख्नु पर्ने
प्रचारप्रसार सामग्री हटाउनु पर्ने

प्रक्षेपण राष्ट्रिय दैनिक देखि साभार।