आईसीसी वरियतामा दीपेन्द्र एक स्थान तल, कुशल भुर्तेलको सुधार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा एक स्थान तल झरेका छन् भने ब्याटर कुशल भुर्तेलले ब्याटिङ वरियतामा सुधार गरेका छन् ।
आईसीसीले बुधबार सार्वजनिक गरेको नयाँ टी–२०आई वरियताअनुसार दीपेन्द्र चौथो स्थानबाट पाँचौं स्थानमा झरेका हुन्। उनको रेटिङ अंक भने २३९ नै कायम रहेको छ ।

हाल नेपाली टोली सिंगापुरमा जारी एसियन गेम्स छनोट प्रतियोगिता खेलिरहेको छ। नेपालले आफ्नो पहिलो खेलमा चीनलाई पराजित गरेको थियो । उक्त खेलमा दीपेन्द्रले ब्याटिङ गर्ने अवसर पाएनन् भने बलिङतर्फ पनि विकेट लिन सकेनन् ।

अलराउन्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा ३२८ रेटिङ अंकसहित यथावत् छन्। भारतका हार्दिक पाण्ड्या २९९ अंकसहित दोस्रो स्थानमा कायम छन् भने पाकिस्तानका सायम अयुब तेस्रो स्थानमा रहेका छन् ।

अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ चौथो स्थानमा उक्लिएका छन्। वेस्ट इन्डिजका रस्टन चेज पनि २३९ अंकसहित पाँचौं स्थानमा पुगेका छन्। दीपेन्द्र र चेज समान अंकका कारण संयुक्त रूपमा पाँचौं स्थानमा रहेका छन् ।

यता, नेपाली ओपनर कुशल भुर्तेलले टी–२०आई ब्याटिङ वरियतामा दुई स्थान सुधार गरेका छन्। नयाँ वरियताअनुसार उनी ४९६ रेटिङ अंकसहित ६४औं स्थानमा उक्लिएका छन् । नेपाली क्रिकेटका दुई प्रमुख खेलाडीको वरियतामा आएको यो परिवर्तनले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको निरन्तर उपस्थितिलाई झल्काएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।