हिमाली राष्ट्र नेपालमा सर्वसाधारणको जीवन अस्तव्यस्त बनाउने गरी आएको आकस्मिक बाढीका प्रभावहरूलाई क्यामेरामा कैद गर्ने प्रयास गर्दै म १० दिनदेखि नेपालबाट रिपोर्टिङ गरिरहेको छु । जब म यो ऐतिहासिक रिपोर्टिङका लागि भारतबाट प्रस्थान गरेको थिएँ, मलाई यी दुःखी सम्झनाहरू जीवनभर बोक्नुपर्ने एउटा भारी बन्नेछन् भन्ने कुनै अनुमान थिएन ।
एक पत्रकारका लागि विपद्को रिपोर्टिङ गर्नु भनेको घटनास्थलमा पुग्नु, स्थितिको अवलोकन गर्नु, मानिसहरूसँग कुरा गर्नु र उनीहरूका कथाहरू विश्वसामु ल्याउनु हो । तर यी १० दिनको अवधिमा मैले महसूस गरेँ कि धेरै कथाहरू केवल मेरो आँखा अगाडिबाट गुज्रिए र मभित्रै अड्किएर रहे । नेपाल बाढीको रिपोर्टिङका क्रममा म यस्ता धेरै कथाहरूको सामना गर्न पुगेँ । केही सबैभन्दा हृदयविदारक कथाहरू ती थिए, जसलाई मैले क्यामेरामा कैद गर्न सकिनँ । पहिलो दिनदेखि नै विनाशको परिमाण अकल्पनीय थियो । सडकहरू बगेका थिए ।
पुलहरू भत्किएका थिए । घरहरूको ठाउँमा भग्नावशेष मात्र बाँकी थियो । मैले त्रिशूलीमा रामबहादुर थापालाई भेटेँ । उहाँको सिङ्गो घर बगेको थियो । तर गुमेको घर मात्र थिएन; उहाँका परिवारका धेरै सदस्यहरू पनि बेपत्ता थिए । उहाँको अगाडि उभिएर कुरा गर्नु सहज थिएन । उहाँ कुनै समय आफ्नो घर रहेको ठाउँ अगाडि उभिनुभएको थियो, जुन अहिले भग्नावशेषको थुप्रोमा परिणत भएको थियो। त्यो घरभित्र सम्झनाहरू गाडिएका थिए ।मैले उहाँलाई त्रासदीका बारेमा प्रश्नहरू सोधेँ । म एक पत्रकारको रूपमा आफ्नो कर्तव्य पूरा गरिरहेको थिएँ; तर मेरो मनको कुनै कुनामा भने ती मानिसले व्यहोरेको क्षतिकै विचार खेलिरहेको थियो । प्रकृतिले एकै छिनमा उहाँको सिङ्गो संसार खोसेको थियो ।
त्रिशूलीमै अर्को एउटा यस्तो कथा सामुन्ने आयो, जसले मलाई भित्रैदेखि हल्लाइदियो । २५ जनालाई आश्रय दिने एउटा घर बाढीमा बगेर गयो । ती २५ जनाकै मृत्यु भयो । त्यो घर, जहाँ कुनै समय बालबालिका, वयस्क र वृद्धवृद्धाहरू बस्थे, त्यसको अस्तित्व नै समाप्त भयो । अनि त्यहाँ बस्ने मानिसहरूको पनि । प्राकृतिक विपत्तिपछि पत्रकारहरू प्रायः तथ्यांकको कुरा गर्छन्, कतिको मृत्यु भयो, कति बेपत्ता छन् । तर जब म कुनै समय घर रहेको त्यो खाली ठाउँमा उभिएको थिएँ, मैले महसुस गरेँ कि ज्यान गुमाएका मानिसहरूलाई केवल एउटा संख्यामा सीमित गर्नु ती मृत आत्माहरूप्रतिको ठूलो अन्याय हुनेछ । उनीहरूका आ–आफ्ना अनुहार, नाम र विभिन्न नाता सम्बन्ध अनि सम्झनाहरू थिए ।
चितवनमा मैले एउटा यस्तो दृश्य देखेँ जुन बिर्सनु असम्भव छः २ जना बालबालिका आफ्ना आमाबाबुको खोजी गरिरहेका थिए । म उनीहरूको पीडा कम गर्न सक्दैनथेँ; म केवल उनीहरूका कथाहरू रेकर्ड गर्न सक्थेँ । ती बालबालिकालाई भेट्दा मलाई लाग्यो, विपद्मा सबैभन्दा बढी असुरक्षित को हुन्छ ? सायद त्यो बालक जसलाई आफ्ना आमाबाबु फर्किनेछन् वा छैनन् भन्ने कुरा समेत थाहा हुँदैन । म नदी किनारमा पुगेँ र शवहरू निकाल्दै गरेको दृश्यको रिपोर्टिङ गरेँ । मानिसहरू नदीमा पसेर १–१ गरी शवहरू बाहिर निकालिरहेका थिए । त्यसपछि म शवगृह पुगेँ । त्यहाँ करिब १७० वटा शवहरू राखिएका थिए । यतिधेरै शवहरू एकै ठाउँमा देख्नु ती १० दिनमा मेरा लागि सबैभन्दा कठिन क्षणहरूमध्ये एक थियो । १७० वटा शव भेटिए भन्नु सजिलो छ । तर शवगृहमा उभिएर मैले यसको वास्तविक अर्थ के हो भन्ने बुझेँ ।
यसपछि म सामूहिक चिहानतर्फ गएँ, जहाँ पहिचान हुन नसकेका शवहरू गाडिँदै थियो । त्यो दृश्यले मनमा भावनाहरूको आँधी ल्याइदियो । ती अभागी मानिसका आफन्तहरू अझै पनि उनीहरूको अवस्थाबारे जानकारीको पर्खाइमा हुनेछन् । धेरैले आफ्ना प्रियजनहरू जीवितै छन् भन्ने आशा बोकिरहेका हुन सक्छन् । पशुपतिनाथ घाटमा केही परिवारहरू आफ्ना बेपत्ता प्रियजनका लागि प्रतिकात्मक अन्त्येष्टि गरिरहेका थिए । शवहरू थिएनन् र उनीहरू मनलाई बुझाउनका लागि प्रतिकात्मक रूपमा अन्त्येष्टि गर्न बाध्य थिए । कुनै पनि परिवारका लागि यो सबैभन्दा कठिन परिस्थिति हुनुपर्छ । उनीहरूले जससँग आफ्नो जीवन बिताएका थिए, उनीहरूको अन्तिम झलक पनि पाउन सकेनन् । क्यामेराले उनीहरूको पीडा र असहायतालाई कैद गर्न सकेन ।
यी १० दिनको अवधिमा मैले पत्रकारिताको अर्को पाटो पनि अनुभव गरेँः हरेक कथा टेलिभिजनमा देखाउनका लागि हुँदैन । हामी पत्रकारहरू प्रायः दर्शकहरूलाई हामीले जे देख्यौँ त्यो देखाउन चाहन्छौँ । तर सबैजना क्यामेराको अगाडि आउन चाहँदैनन् र त्यो उनीहरूको अधिकार हो । मैले मर्माहत भएका धेरै परिवारहरूलाई भेटेँ । उनीहरू कुरा गर्न चाहँदैनथे । क्यामेरा देख्ने बित्तिकै उनीहरू पछाडि हट्थे । केही मानिसहरू आफ्नो शोकलाई सार्वजनिक गर्न चाहँदैनथे । मैले उनीहरूको भावनाको सम्मान गरेँ । धेरै कथाहरू क्यामेराको नजरबाट ओझेलमै रहे । एउटी रोइरहेकी आमा । एक असहाय बुवा । आफ्ना आमाबाबुलाई पर्खिरहेको एउटा बच्चा । भग्नावशेषमा आफ्ना सामानहरू खोजिरहेको परिवार । आफ्नो अगाडि घर बगेर गएको र फर्किनका लागि केही नबाँकी रहेको दृश्य स्तब्ध भएर हेरिरहेको मानिस ।
जब म आफ्नो होटल पुग्थेँ, यी सम्झनाहरूले मलाई पिरोल्थे । शारीरिक थकान विश्रामले मेटिन्छ तर आफ्नै आँखा अगाडिको पीडा देख्दा हुने मानसिक थकान यति सजिलै जाँदैन । यो निराशाबिच केही यस्ता कथाहरू पनि थिए, जसले मभित्र आशा जगाइराखे । एउटा सुरुङबाट २ जना पुरुषको जीवितै उद्धार गरियो । बाहिरी संसारबाट ९ दिनसम्म सम्पर्कविच्छेद भएपछि जब दुवै जनालाई जीवितै बाहिर निकालियो, तब यतिधेरै पीडाबिच पनि मानवताले हार मान्दैन भन्ने महसूस भयो । मैले उनीहरूका परिवारहरूसँग कुरा गरेँ । उनीहरूको अनुहारमा ९ दिनको त्रास र आफ्नो मान्छे जीवितै पाउँदाको खुसी झल्किन्थ्यो ।
दसौँ दिनमा जब म पछाडि फर्केर हेर्छु, मलाई संख्याहरू सम्झना छैन; मलाई अनुहारहरू सम्झना छ । मलाई रामबहादुर थापाको अनुहार सम्झना छ । मलाई २५ जना मानिस बस्ने त्यो घर सम्झना छ, जो सबै एकैसाथ बगेका थिए । मलाई चितवनका ती २ बालबालिका सम्झना छ, जसका आमा र बुबा दुवै बेपत्ता थिए । मलाई नदीबाट शव निकालिरहेका मानिसहरू सम्झना छ । मलाई शवगृहका १७० वटा शवहरू सम्झना छ । मलाई सामूहिक चिहानको माटो सम्झना छ । मलाई पशुपतिनाथमा आफ्ना प्रियजनको प्रतिकात्मक अन्तिम संस्कार गरिरहेका परिवारहरू सम्झना छ । अनि मलाई कबीर महर्जनको परिवारको अनुहार सम्झना छ, जो ९ दिनको भयानक पर्खाइपछि आफ्नो मान्छेलाई जीवितै पाउँदा हर्षविभोर थिए ।
यी १० दिनले मलाई पत्रकारिताका बारेमा धेरै कुरा सिकाएका छन् । कहिलेकाहीँ कसैको पीडा संसारलाई देखाउनुभन्दा त्यसको सम्मान गर्नु धेरै महत्वपूर्ण हुन्छ । कहिलेकाहीँ जब कसैले क्यामेरामा आउन चाहन्न भन्छ भने उनीहरूको कथा संसारसँग साझा गर्नुभन्दा रोकिनु धेरै महत्वपूर्ण हुन्छ र कहिलेकाहीँ केही कथाहरू समाचार बन्दैनन्, ती केवल तपाईंको सम्झनामा मात्र रहन्छन् । म ईश्वरसँग प्रार्थना गर्छु कि मैले फेरि कहिल्यै यस्तो त्रासदीको रिपोर्टिङ गर्नु नपरोस् । (प्रभाकर कुमार एनडीटीभीका कार्यकारी सम्पादक हुन् ।)




































