चितवनबाट एलपी ग्यास धमाधम राजधानी पठाउदै

चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौं पठाइरहेका छन् ।

चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उधोगले राजधानीमा एलपी ग्यास पठाउन दैनिक १४ घण्टा बोटलिङको काम गरिरहेका छन् । नेपाल एलपी ग्यास उधोग सघंका सदस्य विमल कालाखेतीले चितवनको बाबा, साइबाबा, नेपाल ग्यास गण्डकी, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को जानकी र धनुषाको नेपाल ग्यास, नारायणीले दैनिक २ सिफ्टमा १५ हजार सिलिन्डर बोटलिङ गरिरहेको जानकारी दिए । उक्त प्लान्टले २४ वटा बोटलिङ उपकरणबाट १ मिनेटमा २४ सिलिन्डर भरिरहेका छन् ।
धनुषाको नोबेल, बाराको वान (एनएल), जगदम्बा, लियो, अम्बर ग्यास, पर्साको सुप्पर, मनोज, मकवानपुरको साहरा ग्यास र नवलपरासीको चन्डेश्वरी ग्यासले बोटलिङ गराएर सिलिन्डर उपत्यका पठाइरहेका छन् । उक्त उधोगले दैनिक १० हजार हाराहारी सिलिन्डर भरेका छन् । तीमध्ये आधा स्थानीय बजारमा र बाँकी काठमाडौं पठाइरहेको बताइन्छ ।

कालाखेतीले ट्रक व्यवस्थापनदेखि बुलेटमा ग्यास मगाएर बोटलिङ गरेर बजार पठाउनेसम्मको काममा सबै उधोगी लागिरहेको बताए । दैनिक उपत्यकामा ४० हजार सिलिन्डर माग हुने गरेकामा अहिले करिब १ लाख सिलिन्डरको माग रहेको छ । बुधबार ५३ हजार ४६९ सिलिन्डर पठाइएको थियो । यो सङख्या दैनिक तलमाथि हुने गरेको छ । चितवनमा भरिएका सिलिन्डर हेटौँडा हुँदै काठमाडौं पठाइएको छ । साँघुरो सडक र सवारीको उच्च चापसँगै बेलाबेलामा खस्ने पहिरोका कारण ढुवानी असहज हुँदा समस्या भइरहेको छ ।