काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न नहुने बताए।
शनिबार काठमाडौंमा आयोजित ‘काष्ठमण्डप डायलग’को तेस्रो श्रृङ्खला कार्यक्रममा खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक खेलमैदान बन्न नहुने र असंलग्न, सन्तुलित विदेश नीति अवलम्बन गर्नुपर्ने धारणा राखेका हुन् ।नेपाल–चीन सीमापार रेलवे र ट्रान्स–हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क निर्माणलाई तीव्रता दिनुपर्ने उनले बताए ।उनले बीआरआई फ्रेमवर्क अघि बढाउने, चिनियाँ लगानी भिर्त्याउने र सन्तुलित व्यापार सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिए ।
चीनको विकास मोडल, सामाजिक स्थायित्वबाट नेपालले पाठ सिक्न सक्ने उनले बताए । खनालले विश्वव्यापी तापक्रम वृद्धिमा नेपालको योगदान निकै न्युन मात्र रहे पनि नेपाल सबैभन्दा बढी जोखिममा परेको उल्लेख गर्दै जलवायु न्यायका लागि आवाज उठाउनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले रसुवा बाढीपछि नेपालमा भएको ठूलो धनजनको क्षतिप्रति दुख व्यक्ति गर्दै नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए ।जलवायु परिवर्तनको असर कुनै एक देशले मात्र सामना गर्न नसक्ने बताउँदै उनले नेपाल र चीन दुवैले हिमालयन पारिस्थितिकीय प्रणालीमा मिलेर काम गर्नुपर्नेमा जोड दिए ।




































