म्याग्दी । २० वर्षअघि तीन दिनकी सुत्केरी हुँदा श्रीमान् बेपत्ता भएपछि एक्लै जीवनको संघर्ष गर्दै आएकी म्याग्दीको मालिका गाउँपालिका–४ छापकी ४५ वर्षीया नरमाया घर्तीको जीवनमा फेरि अर्को बज्रपात परेको छ।
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा उनका २३ वर्षीय छोरा भुपेन्द्र रेग्मी बेपत्ता भएपछि नरमाया अहिले छोराको खोजी र आफ्नै उपचारको चिन्ताबीच काठमाडौँमा बसिरहेकी छन्।
नाकसम्बन्धी गम्भीर स्वास्थ्य समस्या झेलिरहेकी नरमायाका लागि छोरा भुपेन्द्र नै सबैभन्दा ठूलो सहारा थिए। निर्माणाधीन जलविद्युत् आयोजनामा काम गर्दै आएका भुपेन्द्र आमाको उपचार खर्च जुटाउनकै लागि रसुवा पुगेका थिए। तर बाढीमा उनी बेपत्ता भएपछि नरमायाको सहारा मात्र गुमेको छैन, उपचारका लागि आवश्यक खर्च जुटाउने बाटोसमेत कठिन बनेको छ।
भुपेन्द्रले भदौ ९ गते साँझ आमालाई फोन गरेका थिए। त्यसबेला उनले असोजमा आमालाई उपचारका लागि काठमाडौँ लैजाने, दसैँअघि विवाह गर्ने र त्यसपछि पोखरामा बस्ने योजना सुनाएका थिए ।
“असोजमा उपचारका लागि काठमाडौँ जाने, दसैँअघि बिहे गर्ने र पोखरा गएर बस्ने योजना सुनाएको थियो,” नरमायाले भनिन्, “भदौ १० गतेदेखि छोरासँग सम्पर्क भएको छैन ।” त्यसयता उनको मोबाइलमा अपरिचित नम्बरबाट फोन आउँदा पनि नरमायाको मनमा एकैपटक आशा पलाउँछ—कतै छोराले नै फोन गरेको त होइन? तर फोन उठाउँदा छोराको खबर नपाउँदा निराशा थपिन्छ ।
भुपेन्द्रको अवस्था पत्ता लगाउन उनले स्थानीय जनप्रतिनिधि, निर्माण कम्पनी, आयोजना तथा सम्बन्धित सरकारी निकायसँग गुहार मागिरहेकी छन्। छोराको अवस्थाबारे टुङ्गो नलागेसम्म घर फर्कने आँटसमेत नरहेको उनी बताउँछिन् । “छोराको अवस्था टुङ्गो नलागी कसरी घर जानु?” उनले भनिन्, “तीन दिनको सुत्केरी हुँदा श्रीमान् बेपत्ता भए। अहिले भोटेकोशीको बाढीले मेरो भरोसा खोस्यो, झन् पीडा थपिदियो ।”
२० वर्षअघि हराएका श्रीमान्को पीडा अझै ताजा
नरमायाका श्रीमान् नन्दबहादुर रेग्मी बेपत्ता भएको दुई दशक बितिसकेको छ। दरवाङको एक किराना पसलमा बजार प्रतिनिधिका रूपमा काम गर्ने नन्दबहादुर एकाएक बेपत्ता भएका थिए। त्यतिबेला नरमाया तीन दिनकी सुत्केरी थिइन् ।
नन्दबहादुरको अवस्थाबारे लामो समयसम्म कुनै जानकारी नआएपछि आफन्त तथा गाउँलेको सल्लाहमा धार्मिक विधिअनुसार काजकिरिया गरिएको थियो। तर कानुनी रूपमा उनको मृत्यु प्रमाणित गर्ने प्रक्रिया भने पूरा हुन सकेन ।
आर्थिक अभावका कारण अदालतबाट श्रीमान्को न्यायिक मृत्यु प्रमाणित गराउन नसकेको नरमायाले बताइन्। नन्दबहादुरले नागरिकतासमेत नबनाएका कारण उनीहरूबीचको विवाह पनि कानुनी रूपमा दर्ता भएको थिएन । कागजी प्रक्रिया पूरा हुन नसक्दा नरमाया सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित हुँदै आएकी छन् ।
आमाका लागि छोरा नै सहारा
कक्षा ८ सम्म अध्ययन गरेका भुपेन्द्रले मजदुरी तथा ज्याला गरेर बहिनीलाई कक्षा १० सम्म पढाएका थिए। परिवारको आर्थिक अवस्था कमजोर भए पनि आमाको उपचार र बहिनीको शिक्षाका लागि उनले निरन्तर मेहनत गर्दै आएका थिए ।
गत जेठमा आमाको नाकमा समस्या देखिएपछि भुपेन्द्रले उनलाई पोखरास्थित गण्डकी अस्पतालमा करिब दुई महिना उपचार गराएका थिए। त्यसपछि आमालाई घर पठाएर उनी मजदुरीका लागि रसुवा गएका थिए ।
नरमायाको स्वास्थ्य समस्या अझै यकिन हुन सकेको छैन । उनले उपचारका क्रममा मासिक करिब २१ हजार रुपैयाँ बराबरको औषधि सेवन गर्नुपर्ने अवस्था रहेको बताइएको छ। चिकित्सकले थप परीक्षण तथा उपचारका लागि काठमाडौँ वा भारत जान सुझाव दिएका थिए ।
आमालाई असोजमा काठमाडौँ ल्याएर थप उपचार गराउने भुपेन्द्रको योजना थियो । तर आमाको उपचारका लागि पैसा कमाउन गएका छोरा नै बाढीमा बेपत्ता भएपछि नरमायासामु अब छोराको खोजीसँगै आफ्नो उपचारको चुनौतीसमेत थपिएको छ ।
छोराको खोजीसँगै आमाको उपचारका लागि सहयोग अभियान
स्थानीय ओखरबोट माध्यमिक विद्यालयका शिक्षक नवीन पुनका अनुसार नरमायाको जीवनमा एकपछि अर्को दुःख आइपरेको छ । “नरमायालाई चिकित्सकले थप उपचारका लागि काठमाडौँ वा भारत जान सुझाव दिएपछि पैसा जुटाउन भुपेन्द्र रसुवा पुगेका थिए। तर त्यहीँ आएको बाढीमा उनी बेपत्ता भए,” पुनले भने, “अहिले नरमायासामु छोरा खोज्ने मात्र होइन, आफ्नो उपचार कसरी गर्ने भन्ने ठूलो चुनौती पनि छ ।”
बागलुङमा विवाह भएकी नरमायाकी छोरीको बच्चा सानो भएकाले दाजुको खोजी र आमाको उपचारका लागि आवश्यक स्रोत जुटाउन उनी आफैँ सक्रिय हुन कठिन भएको जनाइएको छ । यही अवस्थालाई ध्यानमा राख्दै शिक्षक पुनको अगुवाइमा नरमायाको उपचारका लागि सहयोग संकलन अभियान सञ्चालन भइरहेको छ। सामाजिक सञ्जालमार्फत गरिएको अपिलपछि एक सातामै नरमायाको खातामा करिब दुई लाख ५० हजार रुपैयाँ जम्मा भएको पुनले बताए।
उनका अनुसार प्रतिबद्धता जनाएका सबैले सहयोग गरेमा करिब आठ लाख रुपैयाँसम्म संकलन हुने अनुमान गरिएको छ। “रोग पहिचान गरेर उपचार गराउन पाए हुन्थ्यो। तर अस्पतालमा कुरुवा बसिदिने परिवारका सदस्य र आफन्तसमेत नभएकाले समस्या भइरहेको छ,” पुनले भने।
एकातिर भोटेकोशीको बाढीमा बेपत्ता छोराको अवस्थाबारे कुनै खबर नपाउनु, अर्कोतिर आफ्नै स्वास्थ्य उपचारको चिन्ता—नरमायाका लागि अहिले दुवै पीडा एकसाथ आइपरेका छन्। दुई दशकअघि श्रीमान् गुमाउँदा सुरु भएको एक्लोपनमा छोरा नै उनको सहारा बनेका थिए। त्यही सहारा पनि विपत्तिले खोसेपछि नरमायाको जीवन फेरि अनिश्चितताको अँध्यारोमा पुगेको छ ।



































