काठमाडौं । १९९० सालको विनाशकारी भूकम्प र विगतका भूकम्प सम्झने दिनका रूपमा माघ २ गते सोमबार भूकम्प सुरक्षा दिवस मनाइएको छ । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ विशेष नारासहित भूकम्प सुरक्षा दिवस मनाइएको हो ।
१९९० को भूकम्प त्यस बेलाको गणनामा संसारभरका सबैभन्दा ठूला भूकमपमध्ये १० वटामा पर्ने विज्ञहरू भन्छन् । गृह मन्त्रालयको प्रतिवेदनअनुसार भूकम्प, बाढीपहिरो, हिमपहिरोलगायत प्रकोपबाट वार्षिक करिब ९ सय मानिसले जीवन गुमाउनु परिरहेको छ । २०७२ वैशाख १२ गते गएको ७.६ रेक्टर स्केलको भूकम्प नेपालका लागि पछिल्लो ८० वर्षकै सबैभन्दा ठूलो विपद्को रूपमा रहेको छ । यो र वैशाख २९ को परकम्पले काठमाडौं वरिपरिको जनजीवनमा नराम्ररी प्रभावित पार्यो ।
प्रतिवेदनअनुसार करिब आठ हजार ८९० जनाको ज्यान लिएको थियो, जसमा २३ सयभन्दा बढी बालबालिका थिए । यसका साथै करिब ८ लाख ७५ हजार घर ध्वस्त हुनुका साथै विद्यालय, स्वास्थ्य संस्था तथा पूर्वाधारका संरचनाहरूमा अपूरणीय क्षति पुग्न गएको थियो । यसका अलावा पटकपटक आएका परकम्पले गर्दा लाखौं बालबालिका तथा प्रौढमा समेत मनोवैज्ञानिक असर परेको थियो, जुन आज पनि गम्भीर समस्याको रूपमा रहेको छ ।
पछिल्लो समय नेपालमा भूकम्पका धक्का महसुस हुँदै आएको छ । पश्चिमदेखि पूर्वी भू-भागमा लगातार भूकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिए ।
पुस महिनामा मात्रै ३ म्याग्निच्युडमाथिका करिब १४ वटा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । छोटो समयमा धेरै भूकम्प जानुले पश्चिम नेपालमा ठूलो भूकम्प जाने खतरा रहेको सबैले आकलन गरिरहेका छन् । गत वर्षको भूकम्पले थिलथिलो बनाएको पश्चिमी क्षेत्र अझै उठ्न सकेको छैन । यसका बाबजुद ठूलो खतरा बाँकी नै रहेको पूर्वानुमानले त्रासमाथि पीडा थपिरहेको छ ।
भूकम्पविदहरूका अनुसार ठूलो भूकम्पको खतरा पश्चिमी क्षेत्रमा मात्र नभएर पूर्वी क्षेत्रमा पनि उस्तै रहेको छ । किनभने २०७२ सालको भूकम्पपछि पूर्वी नेपालमा भूकम्प जाने शक्ति संचित भएर बसेको छ । त्यस कारण नेपालको जुनसुकै भूभागमा पनि फेरि ठूलो भूकम्प जान सक्ने सम्भावना उस्तै छ ।
पुसमा भूकम्प
सुरुमा पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो भने अर्को दिन पुस ३ गते बझाङको धामेनालाई नै केन्द्रबिन्दु बनाए ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । यसपछि पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गयो भने पुस ६ गते बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो । पुस ६ को भूकम्पले बाजुरामा दर्जनभन्दा बढी घर भत्काएको/चर्काएको थियो । यस्तै पुस ९ गते दार्चुलाको अपी हिमाल आसपास केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसपछि पुस १२ गते राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो भने फेरि पुस १६ गते बैतडीको सिगास गाउँपालिकाको न्वाघर केन्द्रबिन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । यस्तै पुस १८ गते बिहीबार दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो । सिन्धुपाल्चोकको माझीटार केन्द्रबिन्दु भएर ४ दशमलव आठ म्याग्निच्यूडको परकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले विसं २०७२ को गोरखा केन्द्रबिन्दु भएको भूकम्पकै पराकम्प स्वरूप यो धक्का महसुस गरिएको थियो। पुस १९ गते शुक्रबार बिहान ८ बजेर ३ मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो । मुगु केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्यूडको परकम्प गएको थियो । यस्तै पुस १९ गते नै बिहान ८ बजेर २९ मिनेटमा भूकम्पको धक्का महसुस भएको थियो । यो मनाङ केन्द्रबिन्दु भएर ४ दशमलव १ म्याग्निच्यूडको मापन गरिएको थियो ।
यस्तै पुस २३ गते मंगलबार बिहान ६ बजेर ५० मिनेटमा नेपालको पूर्वोत्तर सीमा नजिकै चीनको डिङ्गे केन्द्रबिन्दु भएर ७ दशमलव ० म्याग्निच्यूडको भूकम्प गएको थियो । यो भूकम्पले २०७२ को कहालीलाग्दो नेपाली भूकम्पको समय सम्झाइदिएको थियो । पुस महिनाकै २७ गते लमजुङको खुदी केन्द्रबिन्दु भएर ३ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रेकर्ड राख्न सकिने भूकम्प औसतमा दैनिक १० पटकसम्म जाने गरेको छ । नेपालमा उपलब्ध प्रविधिले २ म्याग्निच्युडभन्दा माथिका भूकम्प मात्र रेकर्ड गर्न सक्छन् । यसभन्दा मुनिका साना भूकम्प दैनिक कति जान्छन् रेकर्डमै नहुने राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् भरत कोइरालाले जानकारी दिए । जसलाई मानिसले महसुस गर्न नसक्ने उनको भनाइ छ । उनी भन्छन्, ‘पृथ्वीमा मानिसहरूले थाहा नपाउने गरी दैनिक धेरै भूकम्प गइरहेको हुन्छ । जसलाई मापन गरिएको हुँदैन ।’
भूकम्प कहिले, कति र कुन ठाउँमा जान सक्छ भनेर यसै गरी किटेरै भन्न कसैले पनि सक्दैन । यदि यसर भन्न सकेको खण्डमा मात्र भूकम्पबारे पूर्वजानकारी भएको मान्न सकिने भूकम्पविद् कोइरालाले जिकिर गरे । यस कारण यी तीन वटा कुराको जानकारी हुन नसक्नाले भूकम्पबारे पूर्वजानकारी हुँदैन । पृथ्वीको सतहमुनि गहिराइको विस्तृत अध्ययन गर्ने उपकरण नभएका कारण हालसम्म कसैले पनि भूकम्प जान सक्ने समय, यसको मापन र कहाँ जाँदैछ भनेर भन्न नसक्ने अवस्थामा रहेको उनको भनाइ छ। तर, भूकम्पीय उच्च जोखिम क्षेत्र पृथ्वीको कुन भागमा छ भनेर थाहा हुने उनले बताए । उनका अनुसार भूकम्प निम्त्याउने प्लेटहरू कता र कुन जमिनमा चलिरहेका छन् भनेर स्याटेलाइटबाट हेर्न सकिन्छ । यसर्थ नेपाल भूकम्पको उच्च जोखिम क्षेत्र अर्थात् सिमानामा पर्छ ।
नेपालमा भूकम्प गइरहनुको कारण
नेपालमा भूकम्प जानुमा पृथ्वीको बनावटलाई नै प्रमुख कारण मानिएको छ । नेपालको भौगोलिक बनावटका कारण पनि यहाँ भूकम्प धेरै जाने गरेको छ । नेपाल पृथ्वीमा धेरै भूकम्प गइरहने क्षेत्रमा पर्छ यस कारण पनि यहाँ धेरै भूकम्प जाने गर्छ । भौगर्भिक भूखण्ड, भौगोलिक अवस्थितिको आधारमा नेपालमा भूकम्पको उच्च जोखिमयुक्त दुईवटा क्षेत्र पर्छन् । दक्षिणतिर अवस्थित इन्डियन प्लेट र उत्तरतिर अवस्थित युरेसियम प्लेट गरी दुई वटा प्लेटको सिमाना अथवा जोड्ने भागमा नेपाल अवस्थित छ। यस कारण पनि नेपालमा भूकम्प गइरहन्छ ।
वैज्ञानिकहरूका अनुसार यी दुई प्लेटको बीचमा पहिला समुन्द्र थियो भन्ने गरिन्छ । करिब पाँच करोड वर्ष पहिला यी दुई प्लेट आपसमा जुधेका थिए। त्यति बेला दक्षिणतिर अवस्थित समुन्द्र हरायो र त्यति बेला इन्डियन प्लेट युरेसियम प्लेटको मुनि छिर्यो । त्यो छिर्ने क्रम आज पनि जारी रहेको भूकम्पविदहरू बताउँछन् ।
यस्तै चट्टानहरूले एकअर्काको दबाब थेगुन्जेल भूकम्प जाँदैन । जब दबाब थेग्न सक्दैनन् र चट्टान फुट्न थाल्छन्, अनि त्यो शक्ति भूकम्पको रूपमा बाहिर आउँछ । पृथ्वीभित्रका दुई प्लेटबीचको त्यो शक्ति भूकम्पको रूपमा क्षिण भएपछि मात्रै त्यो ठाउँ पहिलाको अवस्थामा फर्किन्छ । नेपाल अथवा हिमालय क्षेत्रमा भूकम्प जानुको कारण पनि यही हो ।
भूकम्पविद्हरूका अनुसार यो क्षेत्रमा सन् १५०५ मा एकदमै ठूलो भूकम्प गएको थियो । यस बेलाको भूकम्प १९९० सालको भन्दा पनि ठूलो थियो । सन् १९०५ मा पश्चिमको काङ्डामा ठूलो भूकम्प गएको थियो । यस्तै पूर्वी नेपालमा विसं.१९९० मा महाभूकम्प गयो, त्यसअघि करिब सात सय वर्षअघि पनि त्यस क्षेत्रमा भूकम्प गएको अनुसन्धानकर्ताहरू बताउँछन् ।
जानकारी अनुसार मध्य नेपालमा सन् १८९० मा पनि शक्तिशाली भूकम्प गएको थियो । त्यसको दुई सय वर्षभन्दा कम समयमै अर्को शक्तिशाली भूकम्प गएको थियो । यस कारण भूकम्प उच्च जोखिमको रहेको सिमाना अर्थात् सुदूर तथा मध्यपश्चिम क्षेत्रको भूभागमा ठूलो भूकम्प नगएका कारण यहाँ महाभूकम्प जान सक्छ भनेर भनिएको हो । तर, कुन ठाउँमा जान्छ भनेर भन्न सक्ने अवस्था भने छैन ।
यस्तै पश्चिमतिर धेरै सय वर्ष भयो महाभूकम्प गएको छैन शक्ति संचित भएर बसेको छ । यस्तै ठूलै भूकम्प जाने गरी अर्को ठूलो शक्ति पूर्वी क्षेत्रमा पनि तयार भइसकेको भूकम्पविद् अधिकारीले जानकारी दिए । उनका अनुसार नेपालको पूर्वी र पश्चिम क्षेत्रमा महाभूकम्प जाने शक्ति संचित भएका छन् ।
असर
भूकम्प गएपछि सबैभन्दा पहिले जमिन हल्लिएर घरहरू नै भत्किने हो । त्यसबाट मान्छेको ज्यान त जाने नै भयो साथै लगानी पनि डुब्छ । विगतमा पनि भूकम्पले घर भत्किएर हजारौँ मानिसको ज्यान गइसकेको छ । साथै ठूलो मात्रामा लगानी पनि डुबेका छन् । यसकारण भूकम्पले गर्ने ठूलो क्षति भनेको घर भत्किएर किचिनु वा च्यापिनु नै हो । यदि घरहरू बलियो भयो भने भूकम्पको क्षति कम गर्ने र लगानी पनि कम डुब्ने हुने उनले बताए । साथै सहर बजार मात्र नभएर गाउँघरतिर पनि भूकम्पबाट पनि नढल्ने घर बनाउनतर्फ सचेत हुनु पर्ने उनको सुझाव छ ।
कसरी बच्ने ?
भूकम्पको अति जोखिममा रहेको नेपालमा सबै घरहरू सुरक्षित हुनु नै यसबाट बच्ने उत्तम उपाय हो । नयाँ बन्ने सम्पूर्ण घर तथा भौतिक संरचनाहरू सुरक्षित बनाउनुतर्फ सबैले चासो दिनुपर्छ । यसलाई भरपर्दो कसरी बनाउने भनेर तालिम तथा सचेतना दिनु राज्य तथा सरोकारवाला निकायको दायित्व रहन्छ । त्यसका लागि नेपालमै उलब्ध रहेका विज्ञहरूसँग समन्वय गरेर भूकम्पबाट सुरक्षित रहन सकिने भूकम्पविद् डा. अधिकारीले बताए। उनका अनुसार भूकम्पबाट हुने क्षतिलाई कम गर्न घर तथा सम्पूर्ण भौतिक संरचनालाई बलियो बनाउनु नै एक मात्र अचुक उपाय हो । साथै बनिसकेका संरचनालाई थप लगानी लगाएर बलियो बनाउने र भूकम्पको पूर्व तथा भूकम्प पश्चातको तयारी गर्नुपर्छ । राज्यको ध्यान यी कुराहरूमा जानुपर्ने आजको आवश्यकता हो ।




































