काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालको जलविद्युत् उत्पादन क्षमता प्रभावित भएपछि भारतले नेपाललाई दैनिक ६५४ मेगावाटसम्म विद्युत् निर्यात गर्ने भएको छ ।
भारतको विद्युत् मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई १३ सेप्टेम्बर २०२६ देखि ३१ डिसेम्बर २०२६ सम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको हो । बाढीका कारण जलविद्युत् आयोजना, प्रसारण लाइन तथा ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुगेपछि नेपालमा विद्युत् आपूर्तिको व्यवस्थापन चुनौतीपूर्ण बनेको अवस्थामा भारतबाट थप विद्युत् आयात गर्न सकिने भएको हो । भारतबाट प्राप्त हुने विद्युत्ले बाढीबाट प्रभावित उत्पादन क्षमताको केही हिस्सा पूर्ति गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
भारतले स्वीकृत अवधिभर नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् उपलब्ध गराउनेछ । प्राधिकरणका अनुसार मध्यरात १२ बजेदेखि साँझ ६ बजेसम्म भारतबाट नेपालले विद्युत् आयात गर्न सक्नेछ । विद्युत् माग र उपलब्धताका आधारमा आयातको परिमाण फरक पर्न सक्ने भए पनि स्वीकृत सीमाअनुसार अधिकतम ६५४ मेगावाटसम्म बिजुली नेपाल भित्र्याउन सकिनेछ ।
भारतबाट नेपालमा विद्युत् ल्याउन मुख्य रूपमा दुईवटा प्रसारण लाइन प्रयोग हुनेछन् । मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत भारतले अधिकतम ६०० मेगावाटसम्म विद्युत् निर्यात गर्नेछ । यसबाहेक टनकपुर–महेन्द्रनगर १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत थप ५४ मेगावाटसम्म विद्युत् निर्यात गर्न स्वीकृति दिइएको छ ।
यसरी दुई प्रसारण लाइनमार्फत भारतबाट नेपालले अधिकतम ६५४ मेगावाटसम्म विद्युत् आयात गर्न सक्नेछ । बाढीपछि नेपालको आन्तरिक उत्पादनमा आएको कमीलाई ध्यानमा राख्दै भारतबाट हुने यो आयातले विशेष गरी प्रभावित क्षेत्र तथा राष्ट्रिय प्रणालीमा विद्युत् आपूर्ति सन्तुलन कायम गर्न सहयोग पुग्ने प्राधिकरणको अपेक्षा छ ।
भारतले सन् २०२७ जनवरीदेखि नेपाललाई निर्यात गरिने विद्युत्को परिमाण भने सन् २०२६ डिसेम्बरमा पुनरावलोकन गर्ने जनाएको छ । अर्थात् हाल स्वीकृत विद्युत् निर्यातको व्यवस्था वर्षको अन्त्यसम्मका लागि मात्रै हो । त्यसपछि नेपालको विद्युत् उत्पादन, माग, प्रसारण प्रणालीको अवस्था र बजारको आवश्यकताका आधारमा भारतले निर्यातको मात्रा पुनरावलोकन गर्नेछ ।
भोटेकोसी बाढीका कारण नेपालको ऊर्जा क्षेत्रमा भएको क्षति भने तत्काल विद्युत् आयात गरेर मात्र समाधान हुने प्रकृतिको छैन । बाढीले जलविद्युत् आयोजना, प्रसारण संरचना र अन्य ऊर्जा पूर्वाधारमा ठूलो भौतिक तथा आर्थिक क्षति पुर्याएको छ । ऊर्जा पूर्वाधारमा मात्रै बाढीबाट १ खर्ब ३४ अर्ब रुपैयाँ अर्थात् करिब ८८ करोड ९२ लाख अमेरिकी डलर बराबरको क्षति पुगेको अनुमान गरिएको छ । यसमा बाढीबाट क्षतिग्रस्त उपकरण तथा अन्य वस्तुको प्रतिस्थापन लागतसमेत समावेश गरिएको छ ।
त्यस्तै, ऊर्जा क्षेत्रको जलविद्युत् तथा ग्रिडमा मात्रै १६ अर्ब ३४ करोड रुपैयाँ अर्थात् करिब १० करोड ७९ लाख अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको अनुमान छ । बाढीले उत्पादनदेखि प्रसारण र वितरणसम्मको ऊर्जा प्रणालीमा प्रत्यक्ष असर पारेको देखिएको छ ।
बाढीपछिको पुनर्निर्माण तथा आवश्यकता मूल्यांकनका लागि तयार गरिएको आरडीएनए प्रतिवेदनले ऊर्जा क्षेत्रको क्षति मूल्यांकन गर्दा जलविद्युत् तथा सौर्य ऊर्जा आयोजना, सबस्टेसन, प्रसारण लाइन, स्वीचयार्ड तथा विद्युत् वितरण पूर्वाधारलाई समेटेको छ । यसबाहेक घरपरिवार तथा समुदायस्तरमा प्रयोग भइरहेका नवीकरणीय ऊर्जा प्रविधिमा भएको क्षतिको समेत मूल्यांकन गरिएको छ ।
भोटेकोसी बाढीबाट मात्रै १३ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन् । ती आयोजनाको कुल क्षमता ७५९.०२५ मेगावाट रहेको छ । तीमध्ये बाढी आउनुअघि नै सञ्चालनमा रहेका सातवटा आयोजनाको कुल क्षमता २५०.४०० मेगावाट थियो । यसले बाढीका कारण नेपालको तत्कालीन विद्युत् उत्पादन क्षमतामा उल्लेख्य असर परेको देखाउँछ ।
त्यस्तै, कुल ५०८.६२५ मेगावाट क्षमताका थप छवटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा थिए । निर्माणाधीन आयोजनामा भएको क्षतिले आगामी दिनमा थप विद्युत् उत्पादन गर्ने नेपालको योजनासमेत प्रभावित हुन सक्ने देखिएको छ । निर्माणाधीन आयोजना पुनःनिर्माण तथा संरचना मर्मतमा समय र ठूलो लगानी आवश्यक पर्ने भएकाले बाढीको प्रभाव दीर्घकालीन रूपमा समेत देखिन सक्नेछ ।
जलविद्युत् आयोजनाबाहेक बाढीले सञ्चालनमा रहेका पाँचवटा सौर्य ऊर्जा प्लान्टमा समेत क्षति पुर्याएको छ । ती सौर्य ऊर्जा प्लान्टबाट कुल २४.३६० मेगावाट विद्युत् उत्पादन भइरहेको थियो । यसले नेपालको ऊर्जा प्रणालीमा जलविद्युत्मा मात्र नभई अन्य नवीकरणीय ऊर्जाका स्रोतमा समेत बाढीको असर परेको देखाएको छ ।
नेपालको विद्युत् प्रणालीमा जलविद्युत्को ठूलो हिस्सा रहेकाले प्रमुख जलविद्युत् आयोजना तथा प्रसारण पूर्वाधारमा हुने क्षतिले समग्र विद्युत् आपूर्तिमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ । भोटेकोसी बाढीपछि देखिएको अवस्थाले प्राकृतिक विपद्का कारण ऊर्जा सुरक्षामा पर्न सक्ने जोखिमलाई समेत उजागर गरेको छ ।क
बाढीबाट क्षतिग्रस्त आयोजनाको पुनर्निर्माण र विद्युत् उत्पादन पुनःस्थापनामा समय लाग्ने भएकाले त्यस अवधिमा भारतबाट हुने विद्युत् आयात नेपालको तत्कालीन ऊर्जा व्यवस्थापनका लागि महत्वपूर्ण हुने देखिएको छ । तर, दीर्घकालमा भने क्षतिग्रस्त जलविद्युत् आयोजना, प्रसारण लाइन, सबस्टेसन र अन्य संरचनाको शीघ्र पुनर्निर्माण नै नेपालको ऊर्जा प्रणालीलाई पुरानै अवस्थामा फर्काउने मुख्य आधार बन्नेछ ।
भोटेकोसी बाढीले ऊर्जा उत्पादन र पूर्वाधारमा पुर्याएको क्षतिले प्राकृतिक विपद्का बेला विद्युत् प्रणालीको लचिलोपन, वैकल्पिक प्रसारण संरचना र ऊर्जा आपूर्तिको विविधीकरणको आवश्यकता पनि थप स्पष्ट पारेको छ । अहिले भारतबाट स्वीकृत भएको ६५४ मेगावाटसम्मको विद्युत् आयातले तत्कालीन अभाव व्यवस्थापनमा राहत दिने भए पनि बाढीबाट प्रभावित आयोजनाको पुनर्निर्माण र ऊर्जा पूर्वाधारको दीर्घकालीन सुदृढीकरण भने नेपालको प्राथमिकतामा रहनुपर्ने देखिएको छ ।
प्रक्षेपण राष्ट्रयि दैनिकबाट साभार ।



































