काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरपक्षले सभापति गगन थापाको नेतृत्वमा हुन लागेको महाधिवेशनमा सहभागी नहुन पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेको छ।
पूर्वसभापति शेरबहादुर देउवा पक्षबाट गठन गरिएको महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सोमबार पत्रकार सम्मेलन गर्दै थापा नेतृत्वको विशेष महाधिवेशनबाट तय भएको अधिवेशन प्रक्रियामा सहभागी नहुन आग्रह गरेका हुन् । इतरपक्षको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा डा. कोइरालाले असोज ३ गतेदेखि सुरु गर्ने भनिएको अधिवेशन विधि र प्रक्रिया मिचेर अघि बढाइएको दाबी गरे। उनले उक्त अधिवेशनलाई ‘तथाकथित अधिवेशन/महाधिवेशन’ को संज्ञा दिँदै त्यसमा सहभागी नहुन कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई आग्रह गरे ।
‘असोज ३ गतेबाट विधि, प्रक्रिया मिची सुरु गर्ने भनिएको तथाकथित अधिवेशन/महाधिवेशनमा भाग नलिन आग्रह गर्दछौं,’ कोइरालाले भने । उनले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिकाअनुसार हुने अधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरे। उनका अनुसार वैधानिक समितिले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
कोइरालाले १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वको वैधानिकतालाई आधार बनाएर पार्टीको नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा राखे। उनले असोज १५ गतेदेखि सुरु हुने वडा अधिवेशन हुँदै विभिन्न तहका अधिवेशनमा सक्रिय सहभागिता जनाउन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
‘१४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिका अनुसार, असोज १५ गतेदेखि सञ्चालन हुने वडा हुँदै विभिन्न तहको अधिवेशनमा सक्रिय सहभागिता जनाई मंसिर २१ देखि २३ गतेसम्म हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन सम्पूर्ण नेपाली कांग्रेसका साथीहरूमा हार्दिक अनुरोध गर्दछौं,’ उनले भने । उनले गगन थापा नेतृत्वको समितिबाट हुने प्रचारप्रसारका कारण कांग्रेसका नेता तथा कार्यकर्ता भ्रममा नपर्नसमेत आग्रह गरे । पार्टीभित्रको विवादलाई लिएर विभिन्न किसिमका राजनीतिक दाबी र प्रचार भइरहेको भन्दै कोइरालाले त्यसबाट प्रभावित नहुन अपिल गरेका हुन् । ‘सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई भ्रम र गैरजिम्मेवार राजनीतिक प्रचारबाट प्रभावित नहुने हार्दिक अपिल गर्दछौं,’ उनले भने ।
नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर दुई पक्षबीच विवाद चर्किएको छ। सभापति गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट आएको समितिले असोज ३ गतेदेखि वडा अधिवेशन सुरु गर्ने तयारी गरेको छ । त्यसका लागि विशेष महाधिवेशनबाट नयाँ कार्यतालिका अघि सारिएको छ । अर्कोतर्फ, डा. शशांक कोइराला नेतृत्वको महाधिवेशन आयोजक समितिले भने असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । उसले मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ । दुवै पक्षले आ–आफ्नो प्रक्रियालाई वैधानिक दाबी गरिरहेका कारण कांग्रेसको महाधिवेशन प्रक्रिया विवादित बनेको हो। पछिल्लो समय पार्टीको नेतृत्व, महाधिवेशनको वैधानिकता र अधिवेशनको कार्यतालिकालाई लिएर कांग्रेसभित्र मतभेद बढ्दै गएको छ । सोमबारको पत्रकार सम्मेलनमार्फत कोइराला नेतृत्वको पक्षले आफ्नो कार्यतालिकालाई आधिकारिक मान्दै थापा नेतृत्वको प्रक्रियाबाट अलग रहन पार्टी पंक्तिलाई औपचारिक रूपमा अपिल गरेको हो ।
प्रक्षेपण राष्ट्रयि दैनिकबाट साभार ।



































