सुकुलबाट पार्टी प्यालेससम्म : हराउँदै नेवार समुदायको सामूहिक भोज संस्कृति

काठमाडौँ । परालबाट बुनेको सुकुलमा लहरै बसेर, पालैपालो परिकार पस्किँदै खाने परम्परा। अगाडि परिवार, आफन्त र छिमेकीको लामो लहर ।

एक जनालाई परिकार पस्किएपछि क्रमशः अर्कोलाई पस्किने र सबैलाई खाना पुगेपछि मात्रै सामूहिक रूपमा खान सुरु गर्ने चलन। यो कुनै सामान्य भोजको दृश्य नभई नेवार समुदायको मौलिक ‘सुकुल भोज’ अर्थात् नेपाल भाषामा भनिने ‘सुकु भ्वय्’को पहिचान हो ।

काठमाडौँ उपत्यकाका नेवार बस्तीमा कुनै समय चाडपर्व, जात्रा, विवाह, व्रतबन्ध, बेलविवाह, गुफा, पास्नी, रथारोहणदेखि विभिन्न सामाजिक तथा धार्मिक अवसरमा सुकुल भोज आयोजना हुन्थ्यो। भोज खानु केवल पेट भर्नु थिएन, आफन्त र समुदायसँग लामो समय बिताउने, आपसी सम्बन्ध बलियो बनाउने र संस्कृतिलाई पुस्तान्तरण गर्ने अवसर पनि थियो ।

तर अहिले त्यो परम्परा विस्तारै साँघुरिँदै गएको छ। घर–आँगन र टोलका चोकमा लहरै बसेर खाने सुकुल भोजको स्थान पार्टी प्यालेस, होटल तथा आधुनिक सभाहलमा आयोजना हुने भोजभतेरले लिन थालेका छन् । कुर्सी र टेबलमा बसेर छिटोछरितो रूपमा खाना खाने आधुनिक शैली बढेसँगै सुकुल भोजको अभ्यास घट्दै गएको संस्कृतिविद्हरू बताउँछन् ।

संस्कृति अध्ययनकर्ता गणेश रञ्जितकारका अनुसार बदलिँदो जीवनशैली, बढ्दो व्यस्तता र आधुनिक पहिरन पनि सुकुल भोज घट्नुका प्रमुख कारण हुन् । सुकुल भोजमा लामो समयसम्म पलेँटी कसेर बस्नुपर्ने र क्रमशः विभिन्न परिकार खानुपर्ने भएकाले अहिलेको व्यस्त जीवनशैलीसँग यसको तालमेल मिल्न कठिन हुँदै गएको उनको भनाइ छ ।

“वानपिस, स्कर्ट, गाउन, पाइन्ट, हाफ पाइन्ट तथा लेहेंगाजस्ता आधुनिक पहिरनमा लामो समय सुकुलमा बसेर खान सहज हुँदैन,” रञ्जितकार भन्छन्, “त्यसैले नयाँ पुस्ता कुर्सी–टेबलमा बसेर खाने भोजतर्फ आकर्षित भएको देखिन्छ ।”

मृत्यु संस्कार र गुठीमा सीमित हुँदै

संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार पहिले नेवार समुदायका विभिन्न चाडपर्व, जात्रा तथा सामाजिक संस्कारमा व्यापक रूपमा प्रयोग हुने सुकुल भोज अहिले मुख्यतः मृत्यु संस्कार र गुठीका भोजमा सीमित हुँदै गएको छ । नेवार समुदायमा मृत्यु संस्कारका क्रममा गरिने न्हेनुमा, लत्या, खुल्हा, दाकिला तथा प्रत्येक वर्ष गरिने संस्कारमा अझै सुकुल भोजको अभ्यास पाइन्छ। तर यस्ता अवसरमा नयाँ पुस्ताको सहभागिता तुलनात्मक रूपमा कम हुँदै गएको श्रेष्ठ बताउँछन् ।

शुभकार्यका भोजमा भने पार्टी प्यालेस र आधुनिक सभाहल रोज्ने क्रम बढेको छ । समयको बचत, सहज व्यवस्थापन र पाहुनाले आफूलाई मन लागेको परिकार लिएर खान पाउने सुविधाका कारण आधुनिक भोज लोकप्रिय भएको देखिन्छ । भक्तपुर थिमीकी सुमित्रा श्रेष्ठलाई भने पुरानो सुकुल भोजको सामूहिक रमाइलो अझै सम्झना छ । “नेवार समुदायका मानिस यो भोजमा खुबै रमाउँथे। सबै जना मिलेर रमाइलो गर्दै भोज खान्छन् र खुवाउँछन् पनि,” उनी भन्छिन्, “हिजोआज मानिसको बेफुर्सदी बढेको छ। यो भोज तुलनात्मक रूपमा खान लामो समय लाग्छ, त्यसकारण विस्तारै हराउँदै गएको होला।”

भोज मात्र होइन, सामाजिक सम्बन्धको माध्यम

सुकुल भोजको विशेषता केवल परिकारको विविधता र खाने शैलीमा सीमित छैन। यसले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई समेत जोड्ने काम गर्छ ।

परम्परागत रूपमा सुकुल भोजमा सबैलाई एउटै सुकुलमा लहरै बसाइन्छ। भोजमा सहभागीमध्ये अगाडिदेखि अन्तिम व्यक्तिसम्म सबैलाई परिकार पस्किएपछि र निश्चित विधि पूरा भएपछि मात्रै खाने चलन हुन्छ। आफूलाई मन परेको परिकार मात्रै लिएर तुरुन्तै उठ्ने सुविधा हुँदैन । स्थानीय युवा श्रीओम धौभडेलका अनुसार पार्टी प्यालेसको भोजमा आफूलाई मन लागेको परिकार लिने, खाने र उठ्ने सहजता हुन्छ। तर सुकुल भोजमा त्यसो गर्न पाइँदैन ।

“लहरै विभिन्न परिकार ल्याइन्छ र नटुङ्गेसम्म उठ्न पाइँदैन,” उनी भन्छन्, “यसले भोजलाई लामो बनाउँछ, तर यही शैली यसको मौलिक पहिचान पनि हो ।”

भक्तपुर नगरपालिका–७ का केशव त्वानाबासुका अनुसार पहिले घरअगाडिका चोक, बाटो तथा खुला स्थानमा सुकुल बिछ्याएर भोज खुवाउने चलन थियो । कतिपय ठाउँमा पाल टाँगेर लगातार केही दिनसम्म समेत भोज चल्ने गरेको उनी सम्झन्छन् । “पहिला चोक–चोकमा सुकुल बिछ्याएर भोज खुवाइन्थ्यो । अहिले भने मृत्यु संस्कार र गुठीको भोजमा बढी सीमित भएको छ,” उनी भन्छन् ।

परिकारको आफ्नै विशेषता

नेपाल भाषामा ‘झ्वः भ्वय्’ भनेर समेत चिनिने सुकुल भोजमा विभिन्न परम्परागत नेवारी परिकार निश्चित क्रममा पस्कने चलन छ । भोजको सुरुवात चिउरा र विभिन्न अचार तथा परिकारबाट हुने गर्छ। छ्यापी, भटमास, साग, आलु–तामा, मासु, केराउ, चना, सिमी, सिम्पुललगायतका परिकार पस्कने गरिन्छ । त्यसैगरी काउली, आलु, छ्याला अर्थात् तामाको झोल भएको तरकारी, तकोला अर्थात् ठूलाठूला टुक्रा पारिएको राँगाको मासु, हरियो साग, अमिलो, भुटन र दहीलगायतका परिकार पनि भोजको हिस्सा हुन्छन् ।

अन्त्यमा भिजाएको सानो केराउ, काटिएको मुला, गाजर तथा विभिन्न फलफूलका टुक्रा सलादका रूपमा पस्कने परम्परा छ । परिकारको विविधतासँगै कुन परिकारपछि कुन परिकार पस्कने भन्ने निश्चित क्रम पनि सुकुल भोजको विशेषता हो । संस्कृतिविद्हरूका अनुसार परम्परागत नेवारी भोजमा अन्न, गेडागुडी, सागसब्जी, मासु, अचार तथा दुग्धजन्य परिकारको संयोजन हुने भएकाले यसको पोषण तथा स्वास्थ्यसँग सम्बन्धित पक्षसमेत महत्वपूर्ण छ ।

पार्टी प्यालेसमा पनि खोजिँदै मौलिकता

सुकुल भोजको अभ्यास घटे पनि केही ठाउँमा आधुनिक परिवेशअनुसार यसको शैली जोगाउने प्रयास भइरहेको छ । भक्तपुरका केही पार्टी प्यालेसमा कुर्सी र टेबलको व्यवस्थामै भए पनि लहरै बसेर परम्परागत नेवारी परिकार पस्कने अभ्यास देखिन थालेको छ । यद्यपि धेरैजसो पार्टी प्यालेसमा परम्परागत शैलीको सुकुल भोजका लागि आवश्यक संरचना र व्यवस्था नहुँदा शुभकार्यमा समेत यस्तो भोज गर्न चाहनेहरूले समस्या भोग्ने गरेका छन् ।

संस्कृतिप्रेमी सत्यराम सुवालका अनुसार आधुनिक परिवेशसँग अनुकूल हुने गरी सुकुल भोजलाई निरन्तरता दिन सकिन्छ । त्यसका लागि नयाँ पुस्तालाई यसको महत्व बुझाउनु र व्यवहारमै सहभागी गराउनु आवश्यक रहेको उनको भनाइ छ ।

“सुकुल भोज नेवार समुदायको महत्वपूर्ण मौलिक परम्परा हो। यसको प्रचलन घट्दै जानु चिन्ताको विषय हो,” सुवाल भन्छन्, “परम्परा नयाँ पुस्तामा हस्तान्तरण भयो भने मात्रै जीवित रहन्छ ।” उनका अनुसार अहिलेको अवस्था निरन्तर रहे मृत्यु संस्कार र गुठीका भोजमा बाँकी रहेको सुकुल भोजसमेत भविष्यमा आधुनिक पार्टी प्यालेसको भोजमा रूपान्तरण हुन सक्ने जोखिम छ ।

कहाँबाट आयो सुकुल भोजको परम्परा ?

सुकुल भोज ठ्याक्कै कहिलेदेखि सुरु भयो भन्ने यकिन ऐतिहासिक प्रमाण नरहेको संस्कृतिविद्हरू बताउँछन् । नेवार समुदायको सामाजिक संरचना, परम्परा र सभ्यताको विकाससँगै सामूहिक रूपमा खाना खाने संस्कृतिको विकास भएको हुनसक्ने उनीहरूको भनाइ छ ।

यससँग जोडिएको एउटा प्रचलित किंवदन्तीअनुसार प्राचीनकालमा काठमाडौं उपत्यकाका राजाहरूले सम्पन्नता र सामाजिक एकताको प्रतीकका रूपमा सामूहिक भोज आयोजना गर्थे। त्यतिबेला भोजमा सहभागी हुने व्यक्तिहरूको आर्थिक तथा सामाजिक हैसियतअनुसार बस्ने स्थान फरक हुने गर्दथ्यो ।

हुनेखानेहरू चकटी वा महँगा कपडाका आसनमा बस्ने र गरिबहरू भुइँमा बस्नुपर्ने विभेद अन्त्य गर्न सबैलाई एउटै लामो सुकुलमा लहरै बसाउने परम्परा सुरु गरिएको जनविश्वास छ । सुकुलमा बसेपछि राजा, मन्त्री, धनी र गरिब सबै समान हुने मान्यता विकास भएको किंवदन्ती पाइन्छ । त्यसैले सुकुल भोजलाई केवल परम्परागत खानपानको शैलीका रूपमा मात्र नभई सामूहिकता, समानता र सामाजिक आत्मीयताको प्रतीकका रूपमा समेत हेर्ने गरिन्छ ।

नयाँ पुस्ताले जोगाउला त सुकुल भोज ?

आधुनिक जीवनशैलीका कारण परम्परागत सुकुल भोजको अभ्यास घट्दै गए पनि यसको मौलिकता जोगाउने जिम्मेवारी नयाँ पुस्तामाथि रहेको संस्कृतिप्रेमीहरूको भनाइ छ । परम्परागत संस्कृति संरक्षण गर्नु भनेको सुकुलमा बसेर खाना खाने शैली जोगाउनु मात्र होइन । त्यससँग जोडिएको सामूहिकता, आपसी सहयोग, आत्मीयता, परम्परागत खानपान, सामाजिक सहभागिता र सांस्कृतिक पहिचानलाई पनि निरन्तरता दिनु हो ।

त्यसैले पार्टी प्यालेस र आधुनिक सभाहलको बढ्दो प्रयोगसँगै सुकुल भोजलाई पनि समयअनुकूल रूपमा संरक्षण गर्नुपर्ने आवश्यकता देखिन्छ । टोलका परम्परागत चोक तथा खुला स्थान संरक्षण गर्ने, सांस्कृतिक कार्यक्रममार्फत नयाँ पुस्तालाई सहभागी गराउने र आधुनिक भोजमा समेत मौलिक सुकुल भोजको अभ्यासलाई स्थान दिने हो भने यो परम्परा फेरि जीवन्त बन्न सक्ने संस्कृतिप्रेमीहरूको विश्वास छ । नत्र कुनै समय नेवार बस्तीका चोकमा लहरै बसेर खाइने सुकुल भोज भविष्यका पुस्ताका लागि ‘कुनै बेला यस्तो भोज हुन्थ्यो’ भन्ने इतिहासको कथा मात्र बन्ने जोखिम छ ।