काठमाडौं । सरोकारवाला विज्ञहरूले जलवायु परिवर्तनका कारण खाद्य सुरक्षामा चुनौती बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आजदेखि सुरु भएको बहुप्रतिक्षित सगरमाथा संवादको तेस्रो समानान्तर सत्रअन्तर्गत खाद्य सुरक्षा र जलवायु प्रतिरोधी कृषि विषयक सत्रमा उनीहरूले खाद्य सुरक्षामा देखिएको समस्या विकराल बन्न सक्ने बताए ।
अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थानका कार्यकारी निर्देशक डा मार्क स्मिथले यतिबेला विश्व पानीको सङ्कटको गम्भीर स्थितिसँग जुधिरहेको, मानव इतिहासमै पहिलोपटक जलचक्र असन्तुलनमा परेको र जसले आगामी पुस्ताका लागि दिगोपनामा मात्र नभई समानतामा पनि खतरा निम्त्याएको बताए ।
उनले भने, “यो मुख्य रूपमा जलवायु परिवर्तनसँग सम्बन्धित छ, तर त्यसका साथै विश्वव्यापी तथा महादेशीयस्तरमा भूमि परिवर्तन र पारिस्थितिकीय प्रणालीको विनास पनि यसका कारण हुन् । वैज्ञानिकहरूले यसलाई मानव जातिका लागि खतरा मानेका छन् ।”
भोकमरी, गरिबी, बहिष्करण, पारिस्थितिकीय सङ्कट, जलवायु परिवर्तन र भविष्यको जल तथा मौसमको जोखिमप्रति गहिरो अनिश्चितताजस्ता पहाडी क्षेत्रका जलवायुजन्य समस्या रहेको उनले भने ।
नेपाल र भूटानका लागि खाद्य तथा कृषि सङ्गठन (एफएओका) देशीय प्रतिनिधि केन शिमिजुले जलवायु परिवर्तनको असरका कारण विभिन्न सामाजिक–आर्थिक चुनौती देखापरेको बताए । उनले भने, “जलवायुजन्य चुनौती सामना गर्न आवश्यक वित्त, प्रविधि र समर्थनसम्म पहुँच सहज बनाउन पनि कठिनाइ हुन्छ ।”
पूर्वसचिव गणेशराज जोशीले जलवायु परिवर्ननको असरका कारण खाद्य सुरक्षामा चुनौती पैदा गरेको भन्दै ती समस्या समाधानका लागि कृषि क्षेत्रमा जलवायु अनुकूलनका कार्यक्रमलाई सुदृढ गर्नुपर्नेमा जोड दिए ।
जलवायु परिवर्तन र दिगोपनाका लागि कतारका विशेषदूत तथा ग्लोबल ड्रायल्याण्ड एलायन्सका कार्यकारी निर्देशक बदर ओमार अल दफाले सुक्खा क्षेत्र भएका देशहरूलाई खाद्य सुरक्षामा लैजानुपर्ने र विश्वमा स्थायित्व तथा शान्तिमा योगदान गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा उषा झाले समयमा नै सचेत नभए भविष्यमा खाद्य सुरक्षामा चुनौती थपिने र भोकमरी तथा गरिबीको समस्या बढ्ने बताइन् ।




































