पार्टीविरुद्ध षडयन्त्र भएको कांग्रेसको निष्कर्ष, प्रतिवादमा उत्रिने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्न खोजिएको भन्दै कडा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकले राज्य संरक्षित व्यक्तिहरूमार्फत पार्टी र नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्ने प्रयास भएको भन्दै त्यसको कडा प्रतिवाद र विरोध गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिए । यस विषयलाई संसद्, संसदीय समितिमा समेत कडा ढंगले उठाउने उनले बताए । निर्वाचन नजिकिदै जाँदा डिजाइन नै बनाएर अध्यावधिक र पार्टीको वैधानिकतासँग जोडेर भ्रम सिर्जना गर्न खोजिएको उनको भनाइ छ । यस विषयमा राज्यले गर्ने छानबिनमा कांग्रेस पछि नहट्ने उनले बताए ।

बैठकले भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्ने विषयमा सम्बन्धित क्षेत्रका सांसद तथा जनप्रतिनिधिहरूसँग छलफल गर्ने निर्णय गरिएको सहमहामन्त्री रसाईले बताए । कांग्रेस महामन्त्री प्रदीप पौडेलले पूर्वाग्रही र एक–अर्कालाई ठेगान लगाउने राजनीति धेरै दिन नटिक्ने बताए । सबैलाई समन्वय गरेर अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने दायित्व भएको सरकारले सरकारी संयन्त्रहरू प्रयोग गरेर कसैलाई ठेगान लगाउने वा तिर सोझ्याउने काम गर्न नहुने उनले बताए । विशेष गरी सत्ता पक्षको सवालमा उठेको विषय र प्रधानमन्त्रीसँग जोडिएको विषयका बारेमा सरकार जवाफदेही हुनुपर्ने उनको भनाइ छ । छानबिन तथा पक्राउ गर्दा पनि कानुनी प्रक्रिया हुनुपर्ने, गैरकानुनी ढंगबाट पक्राउ गरेर प्रतिशोध साँध्ने वा तर्साउने प्रवृत्ति देखाउन नहुने उनको भनाइ छ । कानुनविपरीतको कुनै पनि काम भए कांग्रेस हेरेर नबस्ने उनको भनाइ छ ।

त्यस्तै सभापति थापाले पनि भिडियो सन्देश जारी गर्दै खण्डन गरेका छन्। बिचौलिया भनिएका इनम सापकोटासँग जोडेर कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा आफूलाई बदनाम गर्न खोजिएको उनको भनाइ छ । ‘म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको साथी, तपाईंको छोरा, तपाईंको सभापति कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन,’ उनले भनेका छन्, ‘मैले सधैँ भन्दै आएको छु, मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन । मेरो हात सधैँ सफा छन् । यति नभएको भए लड्ने आँट आउँथ्यो ?’ विगतमा आफूभन्दा शक्तिशाली सरकारका गलत कामको समेत विरोध गर्दै आएको उनको भनाइ छ । उनले आफ्नै पार्टी नेतृत्वको सरकारलाई पनि आफूले प्रश्न गर्न नछोडेको सम्झिँदै उनले भने, ‘म आज मात्र हो ? योभन्दा बलियो सत्ता भएको समयमा गलत गरेको बेला त्यससँग लडेर प्रश्न गर्दै आएको छु । आफ्नै पार्टीको सरकार हुँदा पनि गलत हुँदा बोल्न छाडिनँ । बोल्ने आँट कहाँबाट आउँछ ? कतै कमजोर भएको भए, मेरो स्वच्छता र इमानदारीमा सम्झौता गरेको भए बोल्ने आँट आउँथ्यो ? आउँदैनथ्यो ।’

पटक–पटक विभिन्न विवाद र चुनौतीको सामना गरेर आफू अघि बढेको उनको भनाइ छ । ‘मेरो वरिपरि विवाद ल्याइएको छ । व्यापक रूपमा मेरो चरित्रमाथि प्रश्न गरिएको छ । प्रत्येक पटक लडेर आएको हुँ म, प्रत्येक पटक बाँचेर आएको हुँ । ढलेको छैन नि म । किन थाहा छ ?,’ उनले थपे, ‘तपाईंहरूको शुभेच्छा, आशिर्वाद आफ्नो ठाउँमा छ । सबैभन्दा ठूलो कुरा मेरो मोरल स्ट्रेन्थ हो । यो लडाइँमा म किन बाँचेको छु भने म सफा छु, स्वच्छ छु र ठिक ठाउँमा उभिएको छु । त्यसैले ढुक्क रहनुस् ।’

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।