भक्तपुर । सभामुख देवराज घिमिरेले समाज, राष्ट्र, आफैँ र आफ्नै घरपरिवारप्रति जिम्मेवार बोध गर्ने असल नागरिक निर्माणको आवश्यकता औँल्याएका छन् । आज भक्तपुरको गठ्ठाघरमा सनातन पितृमुक्ति समाजले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले यस्तो बताए ।
सभामुख घिमिरेले समाजमा हुने धार्मिक कार्यले नै संस्कृति र परम्पराको महत्व दर्शाउँदै समाजलाई सुव्यवस्थित एवं सरल ढङ्गले अघि बढाउन टेवा पुर्याउने चर्चा गरे । “हाम्रै पूर्वीय दर्शनमा आधारित रहेर नै पश्चिमा दर्शन बनेको हो । त्यसैमा टेकेर उनीहरूले विज्ञानलाई प्रयोग गर्दै चमत्कार गरिरहेका छन् । नयाँ पुस्ता यही प्रगति र चमत्कार देखेर पश्चिमा दर्शनप्रति बढी आकर्षित भएका छन् तर त्यसको जग पूर्वीय दर्शन र संस्कृति नै हो भनेर बुझ्न आवश्यक छ”, उनले भने । हाल अमेरिकामा समेत वेदको अध्ययन र अनुसन्धान हुन थाल्नु त्यसैको थप प्रमाण भएको उनको भनाइ थियो ।
सभामुख घिमिरेले समाजले यसअघि निर्माण गरेको पितृमुक्ति समाज र अग्रज जेष्ठ नागरिक भवनको उद्घाटन गरे । समाजका अध्यक्ष खेमप्रसाद सुवेदीले पितृमुक्तिका लागि १३ दिनसम्म क्रियाकर्म गर्न किरियापुत्रीसहितको सामुदायिक बहुउद्देश्यीय भवनका केही काम बाँकी रहेकाले त्यसलाई पूर्णता दिन रुकम सङ्कलन गर्ने उद्देश्यले महायज्ञ सुरु गरिएको बताए ।
महायज्ञ प्रचार समितिका संयोजक एवं समाजका महासचिव नारायणप्रसाद न्यौपानेले समाजले विसं २०६९ को पुराणबाट सङ्कलित रकमबाट निर्माण सुरु गरेको सामुदायिक भवन निर्माण कार्य पूरा गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको बताए । महायज्ञ १० गते सम्पन्न हुने र यस अवधिभर वाचिका राधिका दासीबाट कथा प्रवचन हुने बताए ।
पाँच आना दुई पैसा क्षेत्रफल रहेको जग्गामा तीनतले भवन निर्माण भइसकेको जानकारी दिँदै समाजका उपाध्यक्ष सीता अधिकारीले शौचालय, ढिकोरो उठाउने ठाउँ निर्माणलगायत विभिन्न संरचना निर्माणमा रु एक करोड ६३ लाख खर्च भई रु १६ लाख ऋण अझै रहेको बताइन् ।



































