सुनसरी । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले आज मानवअधिकार विषयक संवाद कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जिल्लाका पत्रकारहरू, मानवअधिकारकर्मी तथा सरोकार भएका निकायबीच पत्रकारिता अभ्यासमा देखिएका मानवअधिकार उल्लङ्घनका मुद्दाहरूबारे विस्तृत छलफल गरिएको हो ।
सहभागी पत्रकारले समाचार सङ्कलनका क्रममा भोग्नुपरेका व्यावसायिक अवरोध, अभिव्यक्ति स्वतन्त्रताको हनन, शारीरिक तथा मानसिक दुव्र्यवहार, सूचनामा पहुँचको अभाव, सरकारी कार्यालयबाट असहयोगलगायत विषयमा छलफल गरेका थिए । पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष एवं कान्तिपुर दैनिकका पत्रकार अर्जुन सुवेदीले छाला उद्योग अनुगमनको क्रममा स्थानीय तहका कर्मचारीले सञ्चारकर्मीलाई साथमा लैजान पाइँदैन भन्दै आफूलाई रोकेको अनुभव सुनाए । “अधिकारकर्मी र पत्रकारले सहकार्य गर्दै जनस्वास्थ्य र पर्यावरणसम्बन्धी विषयमा अनुगमन गर्न खोज्दा अवरोध भयो, जुन अभिव्यक्ति स्वतन्त्रतामाथिको स्पष्ट हस्तक्षेप हो”, उनले भने ।
नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, पत्रकार विनय ब्राहकोटी, तेजवनलगायत वक्ताले जिल्लामा पत्रकारमाथि हुने धम्की, अपमानजनक व्यवहार, सूचनाको गोप्यकरण र प्रशासनिक निकायको असहयोगलगायत विषयमा छलफल गरेका थिए । उनिहरूले विशेष गरी ग्रामीण भेगका पत्रकार बढी जोखिममा रहेर काम गरिरहेका भन्दै सुरक्षाको प्रत्याभूति हुन नसकेको गुनासो गरे ।
इन्सेक कोशी प्रदेश प्रमुख मनोहर पोखरेलले मानवअधिकार उल्लङ्घनको सूचना सञ्चारकर्मीमार्फत समाजमा पुग्ने भएकाले पत्रकारको अधिकार सुरक्षित हुनु अतिआवश्यक रहेको औँल्याए । उनले थपे, “इन्सेकले जिल्लास्तरमा यस्ता कार्यक्रममार्फत पत्रकार र अधिकारकर्मीबीच सहकार्य र संयोजनको वातावरण बनाउन खोजिरहेको छ ।” सहभागीहरूले पत्रकारमाथि हुने दुव्र्यवहार, सूचनाको पहुँचमा हुने अवरोध र राज्य संयन्त्रबाट हुने दबाबको अन्त्य गर्न आग्रह गरेका थिए । साथै, पत्रकार सुरक्षासम्बन्धी स्पष्ट कानुनी व्यवस्था र स्थानीय तहका कर्मचारीलाई अभिव्यक्ति स्वतन्त्रताबारे अभिमुखीकरण आवश्यक रहेको सुझाव दिएका थिए ।
काठमाडौं । मेलम्ची स्थित रिबर्मा खोलाबाट दैनिक थप आठ करोड लिटर पानी काठमाडौं ल्याएर वितरण गर्न सुरु गरिएको छ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी नियमित रुपमा आपूर्तिका लागि उक्त खोलाबाट पानी ल्याएर वितरण गर्न सुरु गरिएको हो । काठमाडौँमा वर्षातको समयमा पनि नियमित रुपमा मेलम्चीको पानी सञ्चालन गर्न मेलम्ची स्थित रिबर्मा खोलामा निर्माण गरिएको टयाङ्की सोमबार खानेपानीमन्त्री प्रदीप यादव सहितको टोली उक्त क्षेत्रमा पुगेर उक्त टयाङ्कीको सफल परिक्षण गरेका थिए । परीक्षण सफल भएसँगै मेलम्चीको सुरुङ मार्ग हुँदै सोमबार राति मेलम्चीको रिबर्मा खोलाबाट आठ करोड लिटर पानी काठमाडौं ल्याएर मंगलबारदेखि नियमित रुपमा वितरण कार्य सुरु गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक एवं इञ्जिनियर रत्नप्रसाद लामिछाने जानकारी दिए ।
उनले भने, “काठमाडौँमा पानी पथान्तरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको टयाङ्की सोमबार सफल परिक्षण गरिएको थियो, सोही राति त्यहाँबाट पानी पथान्तरण गरेर काठमाडौँमा ल्याएर अहिले आठ करोड लिटर थप पानी वितरण गरिँदैछ ।” मेलम्ची आयोजनाको हेडबक्स नबन्दासम्मका लागि अस्थायी रुपमा रिबर्मा खोलाको पानी मिसाएर काठमाडौँ ल्याइ वितरण कार्यको सुरुवात गरिएको कार्यकारी निर्देशक लामिछानेले बताए । “गत वर्ष पनि यहाँ बर्खामा कति फोहोर हुने रहेछ भनेर पहिलादेखि अध्ययन गरेका थियौँ”, उनले भने, “अघिल्लो वर्ष अध्ययन गर्दा यहाँको पानीमा कुनै समस्या देखिएको छैन, सोमबार पानी पथान्तरण गरी काठमाडौँ पुगेको र वितरण सुरु गरिएको छ ।”
अहिले दैनिक २० करोड लिटर पानी मेलम्चीबाट आइरहेको र वर्षातको बेलामा रिबर्मा खोलाबाट पाँचदेखि सात करोड लिटर पानी र बागमतीबाट पनि पाँचदेखि सात करोड लिटर पानी गरी कम्तिमा पनि दशदेखि १४ करोड लिटर पानी यो वर्ष काठमाडौँ ल्याउनेगरी तयारी गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । रिबर्मा खोलाबाट ल्याइएको पानी काठमाडौँमा निर्माण भएका विभिन्न खानेपानी ट्याङ्कीमार्फत वितरण गर्दै उपत्यकावासीको दैनिक जीवनलाई सहज बनाउनका लागि यो आपूर्ति नियमित बनाइने तयारीसमेत गरिएको छ । लामो समयदेखि मेलम्ची आयोजनामा भइरहेका अवरोध र प्राविधिक समस्यापछि यो सफल प्रयासलाई ‘मेलम्ची पुनरागमन’ को रूपमा हेरिएको छ ।





































