रवि लामिछानेले गरे अदालतसँग थुनामुक्तिको माग, रूपन्देही अदालतमा दिए निवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतसँग थुनामुक्तिको माग गरेका छन् । उनले १९ साउनमा रूपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गराउँदै बैंक जमानतमा रिहा गर्न अनुरोध गरेका हुन् ।

अदालतमा अन्य मुद्दाभन्दा निवेदन नै अघि हुने भएकाले मङ्गलबार र बुधबार नै निवेदन पेशीमा चढे पनि लामिछानेकै कानुन व्यवसायीले यसलाई रोकेका छन् । आफूलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएको भन्दै लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका हुन् ।

सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका प्रतिवादीहरूमाथि एकमुष्ट १० करोड ९९ लाख रुपैयाँ बिगो कायम गरिएको छ। लामिछानेले आफ्नो भागमा पर्ने बिगो बराबरको रकम बैंक जमानतमा राखेर रिहा हुन पाउने व्यवस्था गर्न माग गरेका हुन्। सहकारी प्रकरणमा ८४ दिन हिरासत बसेका लामिछाने रिहा भएर २५ दिनजति बाहिर बसेका थिए । बाहिर बस्दा थुनामा राख्नुपर्ने व्यवहार र परिस्थिति नदेखिएकाले त्यही पृष्ठभूमिमा लामिछानेले निवेदन दिएको हुन सक्ने बताइएको छ ।