समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सांसदहरुले सडक निर्माण, किसानका लागि मल र सिँचाइको व्यवस्थालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद गोमादेवी तिमिल्सिनाले नारायणघाट–काठमाडौं सडक खण्डको सुधार गर्न सरकारको ध्यानाकर्षण गराइन्। उनले भनिन्, “म हिजो मात्रै नारायणघाटबाट काठमाडौं आउँदै थिए, बाटोको हालत विजोग छ, ६ महिनाअगाडि राम्रै थियो, तर अहिले खाल्डाखुल्टी मात्रै छ, पहिला ५ घण्टामा काठमाडौं पुगिन्थ्यो, अहिले आठ घण्टामा पनि पुग्न कठित छ, यो बाटो सुधारका निम्ति म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”

सांसद नरबहाुर विष्टले पछिल्लो समय भएको ‘भिजिट भिसा’ प्रकरणबारे सरकारसँग जवाफ माग गरे । “पछिल्लो समय फेरी भिजिट भिसाको विषय उठेको छ, यसबारेमा गृहमन्त्री रमेश लेखकले सदनमा जवाफ दिनुपर्छ,” उनले भने ।

सांसद भुवनबहादुर सुनारले सरकारले विद्यालय शिक्षा विधेयक गत असार १५ गतेभित्र पारित हुन्छ भने पनि अहिलेसम्म राष्ट्रियसभामा आएको छैन किन? भन्दै सरकारसँग प्रश्न गरे ।

सांसदहरु सुरेशकुमार आले मगर, नारायणदत्त मिश्र, मदनकुमारी शाह (गरिमा) र राजेन्द्रलक्ष्मी गैरेले बाढी, पहिरो, महङ्गी, शान्तिसुरक्षालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।