आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै

काठमाडौं। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको महत्वपूर्ण पर्व ‘छठ’ शनिबारदेखि सुरु भएको छ।

बिहानै स्नान गरी शुद्ध भई दिनभर निर्जल व्रत बस्ने बर्तालुहरूले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने छठ पर्वको मुख्य विधि रहेको छ।

ऐतिहासिक ग्रन्थ महाभारत अनुसार अज्ञातवासका क्रममा द्रौपदीसहित पाण्डवहरूले गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको उल्लेख पाइन्छ। सोही कालदेखि छठ पर्वको परम्परा सुरु भएको मान्यता रहिआएको छ। त्यसैगरी सूर्य पुराण अनुसार अत्रि ऋषिकी पत्नी अनुसूया सर्वप्रथम छठ व्रत गरेकी बताइन्छ, जसको फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्।

सूर्यलाई संसारका सबै भौतिक तथा जैविक अस्तित्वहरूको मूल स्रोत मानिन्छ। सूर्यको किरणबिनाबाट वनस्पति, जीवजन्तु तथा मानवी जीवन असम्भव हुने जनविश्वास छ। सूर्यकिरण चिकित्सा सम्बन्धी विभिन्न ग्रन्थहरूमा सूर्यको प्रकाशले कठिन रोगसमेत निको हुने उल्लेख छ।

साम्ब पुराण अनुसार श्रीकृष्णका पुत्र साम्बले कुष्ठरोगबाट मुक्ति पाउन सूर्यदेवको कठोर तपस्या गरेपछि रोग मुक्त हुन सफल भएको उल्लेख छ। त्यसैले छठमा व्रत गरे दुःख, दरिद्रता र रोगबाट मुक्ति मिल्ने जनआस्था छ। बर्तालुले चढाउने झुप्पा–झुप्पा फल अर्पण सूर्यदेव प्रसन्नताको प्रतीक मानिन्छ।छठ व्रत बस्न नसक्नेहरूले अर्का व्रतधारीकाबाट कामना पूरा गराउने प्रचलन पनि छ। आर्थिक अवस्था कमजोर भएकाहरूले समेत भिक्षा मागेर भए पनि छठ पर्व श्रद्धापूर्वक मनाउने गर्दछ‍न्।