काठमाडौं । ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक कात्तिक १५ गतेलाई बोलाएको छ । बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने एमालेले जनाएको छ ।पछिल्लो केन्द्रीय कमिटी बैठकले एघारौँ महाधिवेशन मङ्सिर २७–२९ मा पोखरामा गर्ने निर्णय गरेको थियो ।
एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार कार्तिक १५ गते बस्ने सचिवालय बैठकले महाधिवेशन तयारीका बारेमा छलफल गर्नेछ ।
सो बैठकले महाधिवेशन प्रतिनिधि छनोट विधि,महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन,स्थानीय आयोजकसँग समन्वय आदिका बारेमा निर्णय गर्ने सचिवालयका एक नेताले जानकारी दिएका छन् । ती नेताका अनुसार सो बैठकले महाधिवेशन तयारीको पूर्ण खाका सार्वजनिक गर्नेछ । बैठकले महाधिवेशनको लोगो र नाराका विषयमा पनि छलफल गर्नेछ ।पार्टीको गण्डकी प्रदेश कमिटी,कास्की जिल्ला कमिटी र पोखरा महानगर कमिटीले महाधिवेशनको प्रारम्भिक तयारी सुरु गरिसकेका छन् । भदौ २४ गतेको विध्वंसमा च्यासल स्थित केन्द्रीय कार्यालय जलाइएपछि सोही ठाउँमा पाल टाँगेर अस्थायी कार्यालय सुरु गरिएको छ । उक्त कार्यालयबाट दैनिक कामका अतिरिक्त महाधिवेशन केन्द्रित काम पनि सुरु गरिएको डा.अधिकारीले जानकारी दिए ।
































