नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाउने, हुर्काउने र विश्वव्यापीकरण गर्न पत्रकारिता क्षेत्रका भूमिकालाई विर्सन सकिदैन । नेपालको कम्युनिस्ट आन्दोलनको विकासक्रममा विभिन्न ठाउँबाट प्रकाशन हुने पत्रपत्रिकाको योगदान महत्वपूर्ण रहेको छ ।
सामाजिक सञ्लालको विकास हुनुभन्दा अगाडि पत्रकारिताकै माध्यमबाट विचारहरु प्रवाह हुने गरेको थियो । अझ पञ्चायतकालमा भूमिगत रुपमा प्रकाशन भएका पत्रपत्रिकाले गाउँगाउँमा चेतना जगाउने कार्य गरेको थियो । पार्टीको विचार र नेतृत्वलाई स्थापित गर्न पत्रपत्रिका र पत्रकारले पुर्याएको योगदानलाई आत्मसात गर्नुपर्छ र गरिएको पनि छ ।
पछिल्लो समयमा नेपालका राजनीतिक दलहरुले वैचारिक निकटताको आधारमा पत्रकार जनसंगठन निर्माण गरिरहेका छन् । यही क्रममा नेकपा एमालेले पनि २०५५ सालमा विजय चालिसेको नेतृत्वमा प्रेस चौतारी नेपाल गठन गरेको थियो । यो संगठन निर्माण भएपछि वामपन्थी विचार राख्ने तर मुलधारको मिडियामा कार्यरत पत्रकारहरु संगठित भए । आजदेशभरमा ८ हजारभन्दा बढी पत्रकार यो संगठनमा आवद्ध रहेको छ । एमाले विचारलाई प्रवाह गरी संगठन विस्तारमा प्रेस चौतारी नेपालका पत्रकार र नेतृत्वको भूमिका प्रभावकारी रहेको छ । प्रेस चौतारी नेपाल स्थापना भएको १३ बर्षपछि २०६८ सालमा नेपाल पत्रकार महासंघको नेतृत्व चौतारीकै सदस्यले जित हासिल गरेको थियो । नेपाल पत्रकार महसंघको स्थापना भएको ५८ बर्षपछि वामपन्थी विचार राख्ने पत्रकारले नेतृत्व गर्न पाएको थियो । यस अगाडि कांग्रेसनिकट प्रेस युनियनका सदस्यहरुले पत्रकार महासंघमा एकछत्र रजगज गरेका थिए । यो कार्यमा प्रेस चौतारी नेपालका नेतृत्वको महत्वपूर्ण भूमिका छन् । प्रेस चौतारी नेपालकै सदस्य अहिले पत्रकार महसंघको नेतृत्व रहनुभएको छ।
यति मात्र हैन, नेकपा एमालेलाई चौतर्फी आक्रमण गरेको बेला होस वा पार्टीले सञ्चालन गरेका विभिन्न अभियानमा प्रेस चौतारी नेपालको भूमिका रहेको छ । एमालेको जनसंगठन भएकाले नेकपा एमालेलेको हरेक सुखदुःखको सारथी पनि हो । तर यो संगठनमा काम गरेको आधारमा अहिलेसम्म पार्टीको नेतृत्वमा पुग्न नसकेको तितो यथार्थ रहेको छ । यो संगठन बनेको २७ बर्षमा वर्तमान अध्यक्ष सहित ७ जना अध्यक्ष चुनिएका छन् ।
उहाँहरु अहिलेसम्म एमालेको केन्द्रीय सदस्यसमेत बन्न नसकेको तथ्य छ । अन्य जनसंगठनको अध्यक्षदेखि पदाधिकारीसम्म पार्टी नेतृत्वमा पुगिरहेको बेला प्रेस चौतारी नेपालका नेतृत्वले योग्यताको परीक्षा दिनु परिरहेको छ । एमालेको ११औं महाधिवेशनबाट प्रेस चौतारी नेपालका नेतृत्वलाई पार्टी राजनीतिमा स्थापित गर्न ध्यान जानुपर्छ । पार्टीको जनसंगठनको नेतृत्व गरेपछि पत्रकारिताबाट विमुख हुने भएकाले राजनीतिक रुपमा अगाडि बढ्न पार्टीको मुलधारमा जानु पर्ने बाध्यता रहेको छ । त्यसैले प्रेस क्षेत्र तोकेरै नेतृत्वमा ल्याउन आवश्यक देखिन्छ ।




































