काठमाडौं । ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान घिसिङले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीसँगै उनले मन्त्री पदबाट अलग हुने निर्णय लिएको जनाइएको छ। घिसिङले भदौ ३० गते ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रीको रूपमा सपथ ग्रहण गरेका थिए। करिब पाँच महिनाको कार्यकालपछि उनले पदत्याग गरेका हुन्। राजीनामाको घोषणा औपचारिक रूपमा सार्वजनिक गर्न उनले बुधबार साँझ पत्रकार सम्मेलन गरेका थिए ।
कुलमान घिसिङले पछिल्लो समय सक्रिय रूपमा राजनीतिक यात्रालाई अगाडि बढाउँदै आएका थिए। उनले यसअघि आफ्नै नेतृत्वमा ‘उज्यालो नेपाल’ नामक नयाँ राजनीतिक दल दर्ता गराएका थिए। तर पछि उनले उक्त दललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गराएका छन्। एकतापछि घिसिङ रास्वपाको उपसभापति बनेका छन्। दलको उपसभापति पदमा रहेकै अवस्थामा गैरदलीय सरकारमा मन्त्री बनेको विषयलाई लिएर उनको व्यापक आलोचना हुँदै आएको थियो।
सरकारले आफूलाई गैरदलीय भन्दै आएको सन्दर्भमा दलको शीर्ष तहमा रहेका नेता मन्त्री बनेको विषयले राजनीतिक वृत्तमा प्रश्न उठाएको थियो। विपक्षी दलदेखि सत्तारूढ पक्षभित्रकै नेताहरू, विश्लेषक र नागरिक समाजका प्रतिनिधिहरूले समेत घिसिङको भूमिकामाथि आलोचना गरेका थिए। गैरदलीय सरकारको अवधारणा र व्यवहारबीच विरोधाभास देखिएको भन्दै उनले पद छोड्नुपर्ने दबाब बढ्दै गएको थियो। यही चौतर्फी आलोचना र दबाबका बीच घिसिङ राजीनामाका लागि तयार भएको बताइएको छ । राजीनामासँगै घिसिङ अब पूर्ण रूपमा निर्वाचन अभियानमा केन्द्रित हुनेछन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उनी रास्वपाको तर्फबाट उम्मेदवार बन्ने तयारीमा रहेको स्रोतहरूको भनाइ छ । पत्रकार सम्मेलनमार्फत उनले मन्त्री पदबाट राजीनामा दिनुको कारण, आफ्नो कार्यकालका उपलब्धि र कमजोरी, साथै आगामी राजनीतिक योजना र दृष्टिकोणबारे स्पष्ट धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
घिसिङको राजीनामाले ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रालय अहिले रिक्त बनेको छ। उक्त मन्त्रालय मुलुकको ऊर्जा उत्पादन, पूर्वाधार विकास र सहरी व्यवस्थापनका दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ। त्यसैले अब प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा राजनीतिक चासो बढेको छ । नयाँ मन्त्री नियुक्त गर्ने वा अस्थायी रूपमा अन्य मन्त्रीलाई जिम्मेवारी दिने भन्ने विषयमा प्रधानमन्त्रीको निर्णयलाई महत्वका साथ हेरिएको छ । कुलमान घिसिङको राजीनामाले सरकारको गैरदलीय चरित्र, आगामी निर्वाचन र सत्ताको समीकरणमा कस्तो प्रभाव पार्नेछ भन्ने विषयमा समेत राजनीतिक वृत्तमा बहस सुरु भएको छ। निर्वाचनको मुखमा भएको यो राजीनामालाई आगामी चुनावी प्रतिस्पर्धासँग जोडेर हेरिँदै आएको छ।
प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीनवटा महत्त्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गरेकामा बधाई र धन्यवाद दिइन् । “निकै प्रतिकूल अवस्थामा तपाईँले यो सरकारमा सामेल भएर देशका निम्ति ठूलो गुन लगाउने गरी काम गर्नुभएको छ,“ प्रधानमन्त्री कार्कीले भनिन्, “रातदिन नभनी खट्नुभयो । देशका विभिन्न भागमा पुग्नुभयो । विपद्का बेला उस्तै सक्रिय रहनुभयो । विपद्ग्रस्त क्षेत्रमा आफैँ पुगेर खट्नुभयो । हाम्रो विकास निर्माणका बेथितिहरुविरुद्ध कठोर कदम चाल्नुभयो । यो कुरा देशले सम्झनेछ। जनताले मूल्यांकन गर्नुहुनेछ।“ उनले आगामी राजनीतिक जीवन थप सफल रहोस् भन्दै शुभकामना पनि व्यक्त गरिन् ।
प्रधानमन्त्री कार्कीले घिसिङलाई सम्मानस्वरुप खादा पहिराइदिँदै भनिन्, “तपाईँ आफ्नो रहरले वा कुनै स्वार्थ राखेर आउनुभएको होइन । हामीले नै निम्त्याएका हौँ। अझ जेनजी युवाले तपाईँको माग गरेका हुन् । चुनाव लागेपछि राजनीतिमा जान छुट पाउने गरी नै तपाईँलाई हामीले भित्र्याएका हौँ। कुनै सुविधा पनि नलिएर तपाईँले निःस्वार्थ सेवा गर्नुभयो । आउँदा दिनमा अझै देशको निम्ति अझै ठूलो काम गर्न सक्नुहुनेछ। यसका निम्ति म बधाई अहिले नै दिन चाहन्छु।“
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।
































