राष्ट्रिय सभा निर्वाचन : कांग्रेस, एमाले र लोसपाको जित पक्का

काठमाडौं । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ४४ जनाले उमेदवारी दिएका छन् । १८ पदमा हुने निर्वाचनका लागि बुधबार प्रदेश निर्वाचन कार्यालयमा उमेदवारी दिएका हुन् ।

कोसी प्रदेशतर्फको अन्य क्लष्टरमा नेपाली कांग्रेसका सुनिल थापा भने निर्विरोध निर्वाचित भएका छन् । नेपाली कम्युनिस्ट पार्टीले उमेदवार बनाएका हेमराज घिमिरे अनुपस्थित भएपछि उनी निर्विरोध भएका हुन् । राष्ट्रियसभामा नेपाली कांग्रेस, नेकपा (एमाले) र मधेस केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टीबीच गठबन्धन बनेको छ ।

जसअनुसार कांग्रेसले ९, एमालेले ८ र लोसपाले १ सिटमा उमेदवारी दर्ता गराएको हो । भागबण्डा नमिल्दा तालमेलको निर्णयबाट पछि हटेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले छुट्टै उमेदवारी दर्ता गराएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालसँग लोसपाको एकताको समझदारी भइसकेको छ । सुरुवातमा जसपा नेपाल नै गठबन्धनमा रहने भनिए पनि मधेस प्रदेशमा जसपा नेपालले आफ्ना छुट्टै तीन उमेदवार उठाएको छ । महन्थ ठाकुरलाई भने सहयोग गर्ने निर्णय जसपा, नेपालको छ ।

गठबन्धनसँग मुख्य प्रतिष्पर्धीको रुपमा नेकपा छ । तर, नेकपा भन्दा गठबन्धनको मतभार अत्याधिक देखिन्छ । १८ वटै पदमा गठबन्धनका उमेदवार जित्ने निश्चित जस्तै छ । राष्ट्रियसभाका मतदाता प्रदेशसभाका सदस्य र स्थानीतहतर्फ पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष हुुन् । प्रदेश सांसदको मतभार ५३ र स्थानीय तहका प्रतिनिधिको मतभार १९ कायम छ ।

सोही मतभारका आधारमा लेखाजोखा गरेर कुन प्रदेशमा दलहरुको अवस्था कस्तो छ हेरौँ मतभार–

कोसी प्रदेश

कोसी प्रदेशमा कुल ३६७ मतदाता छन् । उनीहरुको कूल मतभार १० हजार १३५ छ । कोसीमा एमाले सबैभन्दा बलियो छ । प्रदेशमा एमालेका ४०, कांग्रेसका २९, नेकपाका १७ सांसद छन् । राप्रपाका ६ र जसपा,नेपालका १ सदस्य छन् । स्थानीय तहतर्फ एमालेका ११०, कांग्रेसका ११५, नेकपाका ३८ मतदाता छन् । जसपा नेपाल, राप्रपाका ४–४ र स्वतन्त्र ३ मतदाता छन् । एमालेको ४ हजार २१०, कांग्रेसको ३ हजार ७२२ मतभार छ । दुई दलसँग ७ हजार ९३२ मतभार छ । नागरिक उन्मुक्ति पार्टी पनि एक भएपछि नेपाली कम्युनिस्ट पार्टीको मतभार २ हजार १२७ हुन आउँछ । गठबन्धन नेकपाभन्दा ५ हजार २११ मतभार बढी देखिन्छ । राप्रपासँग ३९४ र स्वतन्त्रसँग ११० मतभार छ ।

मधेस प्रदेश

मधेस प्रदेशमा ३७१ मतदाता छन् । उनीहरुको कूल मतभार १० हजार ५८५ छ । राष्ट्रियसभाका चार सदस्यका निम्ति उमेदवारी परेको छ । यो प्रदेशसभामा सबैभन्दा ठूलो दल एमाले हो, स्थानीय तहमा कांग्रेसको पकड छ । प्रदेशसभामा एमालेका २५ सदस्य निर्वाचित भएका थिए ।

तर, दिपेन्द्रकुमार ठाकुर निलम्बनमा छन् । उनले मत दिए पाउँदैनन् । त्यसो गर्दा एमाले प्रदेशसभाका २४ सांसदले मत हाल्न पाउनेछन् । कांग्रेसका २२, जसपा नेपालका १९ सांसद छन् । तर, जसपा नेपालका सरोज कुमार सिंह निलम्बनमा छन् । उनले मत दिन पाउँदैनन् । नेकपाका १६, जनमत पार्टीका १३ र लोसपाका ९ सांसद छन् । निलम्बनमा परेका लोसपाका अभिराम शर्माले मत दिन पाउँदैनन् । नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादीका १–१ सांसद छन् । उता स्थानीय तहमा कांग्रेसका मतदाता धेरै छन् । जहाँ कांग्रेससँग १०२, एमालेका ५७, जसपा नेपालका ५१, नेकपाका २९ र लोसपाका २४ मतदाता छन् । जनमतका ३ मतदाता छन् ।

त्यस्तै, स्वतन्त्र ३, विवेकशील साझा २ र तमलोपाका १ मतदाता छन् । यहाँ कांग्रेससँग ३ हजार १०४, एमालेसँग २ हजार ३५५ र लोसपासँग ८८० मतभार छ । गठबन्धनसँग कूल ६ हजार ३३९ मत छ । नेकपासँग १ हजार ३९९ मतभार छ । नेकपाभन्दा ४ हजार ९४० मतभारले गठबन्धन अघि देखिन्छ । जसपा नेपालसँग १ हजार ८७० , जनमतसँग ७४६, राप्रपा र संघीय समाजवादीसँग समान ५३, तमलोपासँग १९, विवेकशील साझासँग ३८ र स्वतन्त्रसँग ३७५ मतभार छ ।

वाग्मती प्रदेश

वाग्मती प्रदेशमा ३४७ मतदाता छन् । उनीहरुको कूल मतभार १० हजार ३३३ छ । यो प्रदेशसभामा कांग्रेस पहिलो दल छ कांग्रेसका ३७, नेकपाका २८, एमालेका २७ सांसद छन् । राप्रपाका १३, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ प्रदेश सांसद छन् । स्थानीय तहमा कांग्रेसकै मतदाता धेरै छन् । कांग्रेसका १०८, नेकपाका ६६, एमालेका ६० मतदाता छन् । राप्रपा १, नेमकिपा २ र स्वतन्त्र १ छन् । यहाँ कांग्रेसको कुल मतभार ४ हजार १३, एमालेको २ हजार ५७१ छ । उनीहरुको कुल मतभार ६ हजार ५८४ हुन आउँछ । नेकपाको २ हजार ७३८ मतभार छ । राप्रपासँग ७०८, हाम्रो नेपाली पार्टीसँग १०६, नेमकिपासँग १९७ र स्वतन्त्रसँग १९ मतभार छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा २२९ मतदाता छन् । कूल मतभार ६ हजार ३५७ हुन आउँछ । प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, नेपाली कम्युनिस्ट पार्टीका ७, राप्रपाका २ र नेसपाका १ सांसद छन् । प्रदेशसभाको एक पद भने रिक्त छ । स्थानीयतर्फ कांग्रेसका ६७, एमालेका ७०, नेकपाका ३० र राष्ट्रिय जनमोर्चाका ३ मतदाता छन् । मतभार हेर्ने हो भने कांग्रेससँग २ हजार ७०४, एमालेसँग २ हजार ४९६ छ । दुईसँग कूल ५ हजार २०० मतभार छ । नेकपासँग ९४१ मतभार छ । गठबन्धन नेकपाभन्दा ४ हजार २५९ मतभारले अघि छ । राप्रपासँग १०६, एकीकृत समाजवादीसँग १९, नेसपासँग ५७ र स्वतन्त्रसँग १९ मतभार छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशसभामा ३०४ मतदाता छन् । उनीहरुको मतभार ८ हजार ७३४ छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल एमाले हो, स्थानीय तहमा कांग्रेस अगाडि छ । एमालेका २९, कांग्रेसका २७, नेकपाका १२, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका समान ४ सांसद छन् । जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका समान ३, जसपाका २, जसपा नेपालका १ तथा राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद १–१ छन् । स्थानीय तहतर्फ कांग्रेसका ९२, एमालेका ६७ र नेकपाका ४० मतदाता छन् । राप्रपाका ३, जसपाका ६, लोसपा र राजमोका समान ४ र जनता प्रगतिशीलका २ मतदाता छन् । मतभार हेर्दा कांग्रेससँग ३ हजार १७९, एमालेसँग २ हजार ८१० छ । गठबन्धनका लोसपासँग २३५ मतभार छ । गठबन्धनसँग कूल ६ हजार ६६९ मतभार छ । नेकपासँग १ हजार ६०८ मतभार छ । नेकपाभन्दा गठबन्धन ५ हजार ६१ मतभारले अघि छ । यो प्रदेशमा जसपा नेपालसँग ५३, राप्रपासँग २६९ मतभार छ । जसपासँग १६७, जनमतसँग १५९, राजमोसँग १२९, जनता प्रगतिशीलसँग ३८ र स्वतन्त्रसँग ५३ मतभार छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशमा १९८ मतदाता छन् । उनीहरुको मतभार ५ हजार १२२ रहेको छ । कर्णाली प्रदेशसभामा कांग्रेस र नेकपाका १४–१४ सांसद छन् । एमालेका १० तथा राप्रपा र स्वतन्त्रका १–१ सांसद छन् । स्थानीय तहमा कांग्रेसका ५९, नेकपाका ५८, एमालेका ३५ र स्वतन्त्र ६ मतदाता छन् । मतभार हिसाब गर्दा कांग्रेससँग १ हजार ८६३, एमालेसँग १ हजार १९५ छ । गठबन्धनसँग ३ हजार ०५८ मतभार छ । नेकपासँग १ हजार ८४४ मतभार छ । गठबन्धनको मतभार नेकपाको भन्दा ४ हजार ९०२ले अघि छ । राप्रपासँग ५३ र स्वतन्त्रसँग १६७ मतभार छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा २२७ जना मतदाता छन् । उनीहरुको कूल मतभार ५ हजार ८१ हुन्छ । प्रदेशसभामा कांग्रेसका १, एमालेका ११ सांसद छन् । नेकपाका १५ सांसद छन् । तर, निलम्बनमा परेकाले नेकपाका दीर्घ सोडारीले भोट हाल्न पाउने छैनन् । त्यसैले नेकपाका १४ सांसदमात्रै मतदाता हुन् । नागरिक उन्मुक्तिका ७ तथा राप्रपा र स्वतन्त्रका १–१ सांसद छन् । स्थानीय तहतर्फ कांग्रेसका ८६, एमालेका ५०, नेकपाका ३०, नाउपाका ७ र स्वतन्त्र ३ मतदाता छन् । यहाँ कांग्रेसको कुल मतभार २ हजार ५८८, एमालेको १ हजार ५३३ छ । दुई दलको कूल मतभार ४ हजार १२१ हुन्छ । नेकपाको मतभार १ हजार ८१६ छ । २ हजार ३०५ मतभारले गठबन्धन नेकपाभन्दा अगाडि छ । राप्रपासँग ५३ र स्वतन्त्रसँग ११० मतभार छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।