मकवानपुरको मनहरी अस्पतालमा बिरामीको चाप बढ्दो

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाको मनहरीस्थित मनहरी अस्पतालमा पछिल्लो समय बिरामीको चाप उल्लेख्य रूपमा बढ्दै गएको छ। बिरामीको चापलाई मध्यनजर गर्दै आर्थिक वर्ष २०८२/०८३ मा अस्पतालले २४ घण्टा निरन्तर सेवा पनि उपलब्ध गराउँदै आएको छ।

हाल अस्पतालमा दैनिक २०० देखि ३५० जना बिरामी उपचार सेवा लिन आइरहेका छन्। यो आर्थिक वर्षको साउनदेखि हालसम्म ३५० जना बिरामीले आइपिडी सेवा पाइसकेका छन् भने गत आर्थिक वर्षमा यस अस्पतालबाट १२८ जनाले सेवा लिइसकेको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालले आकस्मिक उपचार सेवासमेत नियमित रूपमा सञ्चालन गर्दै आएको छ। अस्पतालमा हाल ४५ जना कर्मचारी कार्यरत छन्। अस्पताल व्यवस्थापन समितिबाट २४ र ८ जना स्थायी र बाँकी पहिलेका करार गरी उक्त संख्यामा कर्मचारीहरूले बिरामीलाई सेवा उपलब्ध गराउँदै आइरहेका छन्।

बढ्दो सेवाको मागलाई मध्यनजर गर्दै आवश्यकताअनुसार २ छात्रवृत्ति, २ पालिका करार र एक मेसु गरी ५ जना चिकित्सकहरू नियुक्त गरिएको छ।

२०८० साल पुस १८ गतेदेखि सेवा विस्तार गरिएको अस्पतालले जानकारी दिएको छ। अस्पतालमा सामान्य उपचारका साथै बालरोग, हाडजोर्नी, स्त्रीरोग, फिजियोथेरापी, ईएनटीलगायत आइपिडी, एक्स–रे, फार्मेसी, ल्याबसँगै २४ सै घण्टा एमबीबीएस चिकित्सकबाट सेवा उपलब्ध छन्। साथै बिरामी वार्ड सञ्चालन भएदेखि टिएफटी, एचबिए१सी, भिटामिन बी१२, भिटामिन डि३, आइरन प्रोफाइललगायतका टेस्ट सेवाहरू थप गरिएको छ।

स्वास्थ्य बीमामार्फत उपचार सेवा प्रदान गर्दै आएको अस्पतालले जनाएको छ। स्वास्थ्य बीमा बोर्डले बीमित बिरामीबाट १० प्रतिशत शुल्क लिने भने पनि

उक्त रकम अस्पतालले नै तिरिदिने गरेको छ। उपलब्ध सेवामध्ये करिब ९० प्रतिशत शुल्क स्वास्थ्य बीमाबाट प्राप्त भइरहेको अस्पतालले जानकारी दिएको छ। २०७४ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि मनहरी गाउँपालिकासँगै कैलाश, राक्सिराङ गरी छिमेकी पालिकाका नागरिकले पनि सेवा लिइरहेका छन्। साथै प्रायः औषधिहरू बीमाबाट प्राप्त गरिने भए पनि औषधि नभएको खण्डमा अस्पतालले आफ्नै फार्मेसीबाट बिरामीलाई उपलब्ध गराउने व्यवस्था अस्पतालले गरेको छ।

मनहरी गाउँपालिका, अस्पतालका सम्पूर्ण कर्मचारी, व्यवस्थापन समिति, अस्पताल प्रशासनको सहयोगबाट अस्पतालले यतिसम्मको उपलब्धि हासिल गरेको मनहरी अस्पतालका प्रमुख डा. रश्मी झाले बताइन्। यस्तै, मनहारी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले मनहरी अस्पतालद्वारा स्वास्थ्य परीक्षण गरी थप बहिरंग सेवा पनि सुरुवात गरेको र अस्पतालले सबै बिरामीहरूलाई सहज र प्रभावकारी ढंगबाट सेवा प्रदान गरिरहेको बताए।

स्वास्थ्य बीमाको विभिन्न कार्यक्रमहरू सञ्चालन गरी मनहरी अस्पताललाई सहयोग पुर्याइरहेका छन्। अस्पतालले विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ। विपन्न, असहाय तथा आपत्कालीन बिरामीका लागि निःशुल्क तथा सहुलियत उपचार सेवा प्रदान गरिँदै आएको छ।

पूर्व–पश्चिम राजमार्ग नजिकै अवस्थित भएकाले सम्भावित सडक दुर्घटनाका घाइतेलाई समयमै उपचार सेवा उपलब्ध गराउन अस्पतालले महत्वपूर्ण भूमिका खेलिरहेको छ। स्थानीय तहस्तरमा सबैभन्दा बढी सेवा प्रदान गर्ने अभ्यासमा मनहरी नगर अस्पताल अगाडि बढिरहेको अस्पताल प्रशासनको भनाइ छ।

स्थानीय तहले विभिन्न घरलाई हरेक वर्ष निःशुल्क बीमा कार्यक्रम सञ्चालन गरेको र ओपिडी प्रतिदिन २०० भन्दा बढी बिरामीले सेवा सुविधा दिने गरेको बीमा फोकल व्यक्ति शिवराम बानियाले जानकारी दिए । यस्तै व्यवस्थापन समितिका अध्यक्ष ठाकुर राम टिटुङले सबैको साथ र सहयोगका कारण अस्पतालले थप सुधार गर्दै आगामी दिनहरूमा प्रभावकारी काम गर्ने बताए।