काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ प्रयोग हुने ५८ वटा चुनाव चिह्नसहितको नमूना मतपत्र निर्वाचन आयोगले सार्वजनिक गरेको छ।
यसपटक समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत बन्दसूची पेश गरेका राजनीतिक दलहरूको संख्या सीमित भएकाले अघिल्ला निर्वाचनको तुलनामा मतपत्रमा समावेश हुने चुनाव चिह्नको संख्या घटाइएको हो।
निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागिता जनाउन ९३ वटा राजनीतिक दलले नाम दर्ता गराएका थिए। तीमध्ये ६४ वटा दलले मात्र समानुपातिकतर्फको बन्दसूची समयमै आयोगमा बुझाएका हुन्। बन्दसूची पेश गर्ने दलहरूमध्ये ५४ वटा दलले आफ्नै–आफ्नै निर्वाचन चिह्न प्रयोग गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका छन्। बाँकी १० वटा दल भने विभिन्न क्लस्टरमा आवद्ध भई चारवटा साझा निर्वाचन चिह्नमार्फत चुनावी प्रतिस्पर्धामा सहभागी हुँदैछन्।
यसअघिका निर्वाचनमा भने बन्दसूची पेश हुनुअघि नै मतपत्र छपाइ सुरु गरिने अभ्यास थियो। त्यसका कारण समानुपातिक निर्वाचनमा नाम दर्ता गराएका सबै राजनीतिक दलका चुनाव चिह्न मतपत्रमा समावेश हुने गरेका थिए। तर यसपटक आयोगले नीति परिवर्तन गर्दै बन्दसूची बुझाएका दलहरूको चुनाव चिह्न मात्रै समावेश गरेर मतपत्र छपाइ गरेको जनाएको छ। यही व्यवस्थाका कारण समानुपातिकतर्फ प्रयोग हुने निर्वाचन चिह्नको संख्या ५८ मा सीमित भएको हो।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको मतपत्र छपाइको कार्य पूरा भइसकेको छ। सार्वजनिक गरिएको नमूना मतपत्रअनुसार समानुपातिकतर्फको मतपत्रमा सबैभन्दा अगाडि नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ राखिएको छ। त्यसपछि क्रमशः नेपाली कांग्रेसको ‘रुख’, नेकपाको ‘पाँचकुने तारा’, राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’, जनता समाजवादी पार्टीको ‘छाता’ र जनमत पार्टीको ‘माइक’ सहितका विभिन्न दलका चुनाव चिह्नहरू क्रमबद्ध रूपमा राखिएका छन्।
नमूना मतपत्रअनुसार सबैभन्दा अन्तिम क्रममा ‘गाई’ चुनाव चिह्न राखिएको छ। आयोगले मतदातालाई मतदान प्रक्रियाबारे सहज जानकारी दिन तथा मतपत्रबारे स्पष्ट बुझाउन नमूना मतपत्र सार्वजनिक गरेको जनाएको छ।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न भएसँगै अब प्रत्यक्षतर्फको मतपत्र छपाइ र अन्य निर्वाचन तयारीका कामलाई तीव्रता दिइनेछ। आयोगले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न आवश्यक सबै तयारी समयमै पूरा गरिने दाबी गरेको छ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।
































