गोरखा । अजिरकोट–१ घ्याच्चोककी ७४ वर्षकी सुबी गुरुङ आज दुई वर्षपछि पुनः आँखा देखेकी छन् । केही वर्षदेखि बायाँ आँखा कम देख्ने उहाँले दुई वर्षयता आँखै देख्न सकेकी थिइनन् ।
यहाँ घ्याच्चोकस्थित घरबाट उनलाई छोरा कान्छा गुरुङले बोकेर अस्पतालसम्म पुर्याएका थिए । अस्पतालमा उनीजस्ता अन्य २६ जना मोतियाबिन्दुका बिरामीको सफल शल्यक्रिया भयो । शल्यक्रियापछि आज बिहानै उनीहरूलाई अस्पतालको छतमा लगियो । बिहानीको न्यायो घाममा सबैको आँखाको पट्टी खोलियो । पट्टी खोल्नेबित्तिकै त गुरुङ खुसीले फुरुङ्ग भए ।
स्वास्थ्यकर्मीले आँखामा औषधि राखेर सफा गरिदिएपछि उनलाई कालो चस्मा लगाइदिए । बिस्तारै धमिलो धमिलो हुँदै आँखाको ज्योति फर्किएको गुरुङले बताए । घर जाने बेलासम्म उनले मान्छे चिन्न थालिसकेका थिए । “अँ अहिले बिस्तारै देख्दै गएको जस्तो भयो है”, उनले खुसी हुँदै छोरासँग भनिन् ।
छोराको सहारामा उपचार गर्न गएकी आमा पट्टी खोलेपछि ठिमठिम हिँडेरै घर जान तम्सिइन् । यो देखेपछि स्वास्थ्यकर्मीको टोलीले सम्झाउँदै भनेका थिए, “एकैपटक सबैतिर हेर्न हतार नगर्नु है, बिस्तारै आँखा खोल्नुपर्छ । आजभन्दा भोलि, पर्सि राम्रो देखिन्छ ।”
गुरुङले पनि आफूलाई संसार देखाइदिने डाक्टरतिर हेर्दै भनिन्, “मलाई संसार देखाउनुभयो, धेरै धेरै धन्यवाद छ ।”
शिविरमा आएका अजिरकोट–३ डिहिटारका ९१ वर्षीय गुणनिधि अधिकारी पनि शल्यक्रियापछि आँखा देख्ने थालेपछि निकै खुसी छन् । उनीभन्दा धेरै खुसी छोरा काजिराम अधिकारी देखिन्थे । शल्यक्रियापछि बुबा आँफैँ हिँड्डुल गर्न सक्ने भएपछि सन्तोषले सास फेर्न पाएको काजिरामले बताए ।
“बुढो मान्छे, त्यही माथि आँखा नदेख्ने भएपछि साह्रै बिजोग हुने रहेछ”, उनले भने, “अब त सबै देखेँ, हिँड्नसक्छु भन्नुभएको छ । यति भयो भने घरपरिवारलाई धेरै हलुका हुन्छ ।”
शिविरमा विगत केही वर्षदेखि आँखा नदेखेका सिम्जुङका ६३ वर्षीय पूर्णबहादुर तामाङ र मुच्चोकका ६५ वर्षीय नक्कले तामाङले पनि आँखा देख्न थालेका छन् ।
अजिरकोट गाउँपालिकाको आयोजना, मुटु फाउन्डेसन तथा मनोज एसोसिएसन फ्रान्सको आर्थिक सहयोग र हिमालय आँखा अस्पताल पोखरा, रुइत फाउन्डेसन र आइ केयर फाउन्डेसनको प्राविधिक सहयोगमा भच्चेकमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा अजिरकोट गाउँपालिकाअन्तर्गतका सबै वडा तथा लमजुङको दूधपोखरी गाउँपालिका स्थानीय गरी ४१७ जनाले सेवा लिएका छन् । हिमालय आँखा अस्पताल पोखराका वरिष्ठ नेत्र रोग विषेशज्ञ डा ज्योत्सना शर्मा नेतृत्वको टोलीले शिविरमा सेवा दिएको हो ।
































