यूएईमा रहेका २६७ नेपाली कैदीलाई आममाफी

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) सरकारले आफ्नो राष्ट्रिय दिवस ‘ईद अल इतिहाद’को अवसर पारेर त्यहाँका विभिन्न कारागारमा सजाय भोगिरहेका २६७ जना नेपाली नागरिकलाई आममाफी दिएको छ ।

यूएईको यस निर्णयलाई नेपाल सरकारले मानवीय र मैत्रीपूर्ण कदमको रूपमा उच्च मूल्यांकन गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै यूएई सरकारले नेपाली कैदीहरूलाई दिएको माफीबारे औपचारिक जानकारी दिएको हो । विज्ञप्तिमा यूएई सरकारप्रति नेपाल सरकारको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरिएको छ ।

“यूएईको ५४औँ राष्ट्रिय दिवस (ईद अल इतिहाद)को शुभ अवसरमा २६७ नेपाली कैदीहरूलाई उदारतापूर्वक दिइएको माफीको लागि नेपाल सरकार यूएई सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ,” परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।परराष्ट्र मन्त्रालयका अनुसार यूएई सरकारको यो निर्णय दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी सम्मान र मानवीय मूल्यमा आधारित रहेको छ । नेपाली नागरिकहरूप्रति देखाइएको यो सहानुभूतिपूर्ण व्यवहारले नेपाल–यूएई द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र मजबुत बनाउने विश्वास पनि मन्त्रालयले व्यक्त गरेको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार परराष्ट्र मन्त्रालयको निर्देशन र पहलमा अबुधाबीस्थित नेपाली दूतावासले यूएईका सम्बन्धित निकायसँग पटक–पटक अनुरोध गर्दै आएको थियो । सोही अनुरोधलाई सकारात्मक रूपमा ग्रहण गर्दै यूएई सरकारले राष्ट्रिय दिवसको अवसरमा नेपाली कैदीहरूलाई आममाफी दिने निर्णय गरेको हो । परराष्ट्र मन्त्रालयले माफी पाएका नेपाली नागरिकहरू तत्काल स्वतन्त्र भए पनि उनीहरू नेपाल फर्किनुअघि यूएईको प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गर्नुपर्ने जनाएको छ । “अन्य कुनै विचाराधीन कानुनी मुद्दा वा प्रतिबन्ध नभएको अवस्थामा, माफी पाएका नेपाली नागरिकहरू यूएईको प्रचलित कानुनद्वारा तोकिएबमोजिम आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्नेछन्,” विज्ञप्तिमा स्पष्ट गरिएको छ ।

यूएईमा रोजगारी, व्यवसाय तथा अन्य कारणले बसोबास गर्दै आएका नेपाली नागरिकहरूको संख्या ठूलो रहेको छ । यस्तो अवस्थामा यूएई सरकारले समय–समयमा राष्ट्रिय दिवस, रमजान तथा अन्य विशेष अवसरमा विभिन्न मुलुकका कैदीहरूलाई आममाफी दिने परम्परा रहेको छ । यसपटक नेपाली नागरिकहरू ठूलो संख्यामा माफी पाउनु नेपालका लागि सकारात्मक कूटनीतिक उपलब्धिको रूपमा हेरिएको छ । नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिकहरूको हित, सुरक्षा र कानुनी सहयोगका लागि निरन्तर कूटनीतिक पहल गर्दै आएको जनाउँदै परराष्ट्र मन्त्रालयले भविष्यमा पनि यस्ता विषयमा सम्बन्धित देशहरूसँग सहकार्य जारी रहने बताएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।