फ्रान्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानसँग सम्झौता हुन सक्ने आशा व्यक्त गरेका छन् । यसअघि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले अमेरिकाले आक्रमण गरे ‘क्षेत्रीय युद्ध’ सुरु हुने चेतावनी दिएका थिए ।
गत महिना चर्किएको सरकारविरोधी प्रदर्शनमाथि इरानी अधिकारीहरूले गरेको दमनपछि ट्रम्पले सैन्य कारबाहीको धम्की दिएका थिए र मध्यपूर्वतर्फ एक विमानवाहक युद्धपोत समूह पठाउने आदेश दिएका थिए । आइतबार खामेनीले ती प्रदर्शनलाई ‘क’ू सँग तुलना गर्दै अमेरिकाले आक्रमण गरे व्यापक युद्ध सुरु हुने चेतावनी दिए ।
‘अमेरिकीहरूले बुझ्नुपर्छ, यदि उनीहरूले युद्ध सुरु गरे भने यसपटक त्यो क्षेत्रीय युद्ध हुनेछ,’ उनले भने । साथै उनले इरानी जनतालाई ट्रम्पको बयानबाट नडराउन आग्रह गरे ।
खामेनीले भने, ‘उनीहरू (दंगाइहरू) ले प्रहरी, सरकारी केन्द्र, आईआरजीसी केन्द्र, बैंक र मस्जिदहरूमा आक्रमण गरे, कुरान जलाए , यो कू जस्तै थियो,’ र थपे, ‘त्यो कू दबाइयो ।’
इरानी नेताको चेतावनीबारे सोध्दा ट्रम्पले पत्रकारहरूलाई भने, ‘अवश्य पनि उसले त्यसो भन्छ । आशा छ, हामी सम्झौता गर्छौं । यदि सम्झौता भएन भने, उसले सही भनेको थियो कि थिएन, त्यसबेला थाहा हुन्छ ।’
इरानमा सुरु भएका प्रदर्शन सुरुमा बढ्दो जीवनयापन खर्चविरुद्धको असन्तोषका रूपमा देखिए पनि पछि ती ठूलो सरकारविरोधी आन्दोलनमा परिणत भए । इरानी नेताहरूले यी घटनालाई अमेरिका र इजरायलले उक्साएको ‘दंगा‘ भनेका छन् ।
यसैबीच, इरानी अधिकारीहरूले २६ वर्षीय प्रदर्शनकारी एरफान सोल्तानीलाई धरौटीमा रिहा गर्ने आदेश दिएका उनको वकिलले आइतबार बताएका छन् । वाशिङ्टनले उनी मृत्युदण्डको सूचीमा रहेको दाबी गर्दै कुनै पनि प्रदर्शनकारीलाई फाँसी दिए अमेरिकाले आक्रमण गर्ने चेतावनी दिएको थियो ।
सोल्तानी जनवरीमा पक्राउ परेका थिए । इरानको न्यायपालिकाका अनुसार उनीमाथि इस्लामिक प्रणालीविरुद्ध प्रचार गरेको र राष्ट्रिय सुरक्षाविरुद्ध काम गरेको आरोप लगाइएको थियो ।
वाशिङ्टनले उनी मृत्युदण्ड पाउने अवस्थामा रहेको चेतावनी दिएको थियो, तर तेहरानले उनले कहिल्यै मृत्युदण्डको सजाय नपाएको र ती अभियोगमा मृत्युदण्डको व्यवस्था नै नभएको जनाएको छ ।
अमेरिका–इरानबीच तनाव बढिरहेका बेला, इरानका विदेशमन्त्री अब्बास अराघ्चीले आइतबार ‘गलत अनुमान’ हुनसक्ने चिन्ता व्यक्त गरे, तर ट्रम्प सही निर्णय लिन पर्याप्त बुद्धिमान हुने विश्वास व्यक्त गरे ।
उनले भने, इरानले वार्ताकार साझेदारका रूपमा अमेरिकामाथि विश्वास गुमाइसकेको छ, तर क्षेत्रका केही देशहरूले विश्वास पुनःनिर्माणका लागि मध्यस्थता गरिरहेका छन् ।
‘यदि अमेरिकी वार्ता टोलीले राष्ट्रपति ट्रम्पले भनेजस्तै निष्पक्ष र न्यायोचित सम्झौताका लागि आयो भने, र इरानसँग परमाणु हतियार नहुने सुनिश्चित गरियो भने, फेरि वार्ताको सम्भावना देख्छु,’ उनले सीएनएनसँगको अन्तर्वार्तामा भने ।
आतंकवादी घोषणा
इरानले प्रदर्शनका क्रममा हजारौंको मृत्यु भएको स्वीकार गरेको छ । आइतबार राष्ट्रपतिको कार्यालयले अशान्तिमा मारिएका ३ हजार १ सय १७ जनामध्ये २ हजार ९ सय ८६ जनाको नाम सार्वजनिक गरेको छ । बाँकी १३१ जनाको पहिचान खुल्न बाँकी रहेको र चाँडै विवरण सार्वजनिक गरिने जनाएको छ ।
अधिकारीहरूले अधिकांश मृतक सुरक्षाकर्मी र सर्वसाधारण भएको दाबी गर्दै हिंसालाई ‘आतंकवादी गतिविधि’ को परिणाम भनेका छन् । तर अमेरिका–आधारित ‘ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सी’ ले ६ हजार ८ सय ४२ जनाको मृत्यु पुष्टि भएको र तीमध्ये अधिकांश प्रदर्शनकारी भएको जनाएको छ ।
यस प्रतिक्रियास्वरूप युरोपेली संघले इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) लाई आतंकवादी संगठनको सूचीमा राखेको छ । यसको जवाफमा इरानी सांसदहरूले आइतबार युरोपेली सेनाहरूलाई पनि आतंकवादी घोषणा गरेका छन् ।
संसद बैठकमा सांसदहरूले गार्डको हरियो पोसाक लगाएर ऐक्यबद्धता प्रदर्शन गरे र ‘अमेरिकालाई मृत्य’, ‘इजरायललाई मृत्यु’ र ‘युरोप, लाज मान’ भन्ने नारा लगाए, राज्य टेलिभिजनले देखाएको दृश्यमा देखिन्छ । यस निर्णयको तत्काल प्रभाव के हुने भन्ने अझै स्पष्ट छैन । यस कदमले अमेरिका, क्यानडा र अष्ट्रेलियाले पहिले नै गरेका समान वर्गीकरणसँग मेल खान्छ ।
धम्की र संवाद
फिरुजेह नामकी ४३ वर्षीया गृहिणीले पूरा नाम नबताउने सर्तमा हालको तनावले आफूलाई धेरै चिन्तित र डराएको बताइन् । ‘अहिले त म सुत्दासम्म समाचार हेर्छु । कहिलेकाहीँ मध्यरातमा उठेर पनि अपडेट हेर्छु,’ उनले भनिन् ।
आईआरजीसी अधिकारी अहमद वाहिदीलाई मेहर समाचार एजेन्सीले उद्धृत गर्दै ‘शत्रुहरूले युद्धको वातावरण बनाउन खोजिरहेका छन्’ भनेको छ ।
तर इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारिजानीले शनिबार भने, ‘बनावटी सञ्चार युद्धको हल्लाविपरीत, वार्ताका लागि संरचनात्मक तयारी अघि बढिरहेको छ ।’ ट्रम्पले पनि संवाद भइरहेको पुष्टि गरे, तर आफ्ना अघिल्ला धम्की फिर्ता नलिँदै ‘अब के हुन्छ, हेरौं’ भनेका छन् ।
यसअघि ट्रम्पले इरानले सैन्य कारबाहीको सामना गर्नुभन्दा आफ्नो परमाणु र क्षेप्यास्त्र कार्यक्रमबारे सम्झौता गर्न रोज्ने विश्वास व्यक्त गरेका थिए । तर तेहरानले भने, यदि क्षेप्यास्त्र र रक्षा क्षमताको विषय एजेन्डामा नराखिने हो भने मात्र परमाणु वार्ताका लागि तयार हुने जनाएको छ ।
































