ठूला स्तन महिलालाई बोझ

ठूला स्तनका कारण केही महिलाहरूले स्वास्थ्यसँग सम्बन्धित गम्भीर समस्याहरूको सामना गर्नुपर्ने हुन्छ

‘म सधैँ काँध झुकाएर हिँड्थेँ, केवल मेरा स्तनहरू धेरै ठूला छन् भन्ने नदेखियोस् भनेर । मलाई यो कुरा आज पनि याद छ, किनकि मलाई धेरैधेरै लज्जाबोध महसूस हुन्थ्यो ।’ सन् २०१० मा अर्जेन्टिनाकी विश्वविद्यालय प्राध्यापक र्‍याकेलले ‘ब्रेस्ट रिडक्शन सर्जरी’ (स्तनको आकार घटाउने शल्यक्रिया) गराउने फैसला गरिन् ।

अहिले ५२ वर्षकी र्‍याकेल भन्छिन्, ‘यस शल्यक्रियाको नतिजाले ‘स्वतन्त्रताको अनुभूति’ गरायो, यस्तो पहिले कहिल्यै महसूस गरेकी थिइनँ ।’

विश्वका धेरै भागहरूमा ठूला स्तनलाई आकर्षक मानिन्छ तर साँच्चै यसले महिलाहरूको स्वास्थ्य र जीवनको गुणस्तरका लागि निकै मुस्किलहरू खडा गर्न सक्छन् । ठूला स्तनलाई धेरै प्रकारका समस्याहरूसँग जोडिएको छ, जस्तैः लगातार ढाड दुखाइ, टाउको दुखाइ, शरीरको गलत झुकाव (पोस्चर), सुन्निनु, निद्रामा समस्याहरू र मानसिक स्वास्थ्यसँग जोडिएका समस्याहरू ।

खेलकुद र कसरत पनि प्रभावित

‘इन्टरनेसनल सोसाइटी अफ एस्थेटिक प्लास्टिक सर्जरी’को ताजा तथ्यांकअनुसार सन् २०२४ मा विश्वभर ६ लाख ५२ हजार ६७६ वटा ‘ब्रेस्ट रिडक्सन सर्जरी’ गरिएका थिए । यसमध्ये सबैभन्दा बढी शल्यक्रिया १ लाख १५ हजार ६४७ वटा ब्राजिलमा भए, त्यसपछि अमेरिकामा ६७ हजार ४७८, फ्रान्समा ३८ हजार ७८०, जर्मनीमा ३२ हजार ६८, टर्कीमा २५ हजार ३३४ र भारतमा २२ हजार ४०० वटा स्तन घटाउने शल्यक्रियाहरू भए ।

र्‍याकेल भन्छिन्, ‘सुरुका २ सन्तानलाई दूध खुवाएपछि स्तन अझ ठूला भएका थिए ।’ र्‍याकेलका अनुसार किशोरावस्थादेखि नै उनले ठूला स्तनका कारण लगातार ढाड दुखाइ झेल्नुपर्‍यो ।

उनका अनुसार अर्जेन्टिनामा ठूला स्तनलाई अक्सर एक प्रकारको वरदान मानिन्छ । ‘धेरैजसो मानिसहरू, खासगरी महिलाहरू मसँग भन्छन् कि तपाईँ धेरै भाग्यमानी हुनुहुन्छ,’ उनी भन्छिन्, ‘म भाग्यमानी थिइनँ । मैले धेरै पीडा झेलेँ । मैले एउटा किशोरीको रूपमा दुःख झेलेँ, एउटा महिलाको रूपमा पनि र एउटी आमाको रूपमा पनि ।’

वास्तवमा आफ्नो शरीरलाई लुकाउनका लागि जुन तरिकाले उनी हिँड्थिन्, त्यसैका कारण आज पनि उनलाई ढाड दुखिरहन्छ । एक सक्रिय व्यक्ति भएको नाताले र्‍याकेललाई योगा, पिलाटिज र जिम जान मन पर्थ्यो । तर अन्ततः ठूला स्तनको बोझले उनलाई आफ्ना मनपर्ने गतिविधिहरूमा हिस्सा लिन बन्द गर्न बाध्य गरिदियो ।

‘ब्रिटिस एसोसिएसन अफ एस्थेटिक प्लास्टिक सर्जन्स’की अध्यक्ष डाक्टर नोरा न्यूजेन्ट भन्छिन्, ‘जुन महिलाहरू ब्रेस्ट रिडक्सन सर्जरी गराउन आउँछन्, उनीहरूलाई हिँडडुल गर्न र कसरत गर्न मुस्किल हुन्छ ।’ उनी भन्छिन्, ‘व्यावहारिक दृष्टिकोणले हेर्दा ठूला स्तन भारी हुन्छन्, त्यसैले तिनीहरूले शरीरलाई अगाडितर्फ तान्छन् । यसले ढाड र गर्दनमा लगातार दबाब बढाउँछ । यसले एक्सरसाइज गर्न निकै असहज बनाइदिन्छ र सही फिटिङ हुने, सपोर्ट दिने ब्रा खोज्न पनि धेरै मुस्किल हुन्छ ।’

र्‍याकेल भन्छिन् कि उनलाई आफ्नो छातीलाई सम्हाल्नका लागि २ वा ३ ओटा ब्रा एकैसाथ लगाउनुपर्थ्यो र आफ्नो साइजको ब्रा खोज्नु उनका लागि एक अलग प्रकारको आर्थिक बोझ पनि बनेको थियो । उनी भन्छिन्, ‘अर्जेन्टिनामा ठूला स्तनका लागि पाइने ब्रा धेरै महँगा हुन्थे ।’

‘मलाई स्वतन्त्रता महसूस भयो’

न्यूजेन्ट बताउँछिन् कि उनीकहाँ आउने धेरैजसो महिलाहरूको प्रत्येक स्तनबाट ५००–८०० ग्रामसम्म तौल कम गरिन्छ । उनी भन्छिन्, ‘कहिलेकाहीँ शरीरको कुल तौलको हिसाबले यो धेरै लाग्दैन, तर शरीरको एउटा सानो हिस्साका लागि यो धेरै ठूलो मात्रा हो ।’
र्‍याकेलको मामलामा डाक्टरहरूले कुल मिलाएर उनका स्तनबाट २.५ किलो तौल कम गरिदिए । र्‍याकेल भन्छिन्, ‘मलाई याद छ, शल्यक्रियापछि जब मैले भूइँबाट केही कुरा उठाउनु थियो र मलाई यस्तो लाग्यो कि ‘वाह ! यो त बिल्कुलै फरक शरीर हो’ । मलाई साँच्चै धेरैधेरै स्वतन्त्रता महसूस भयो ।’

राम्रो ब्राको शक्ति

प्रोफेसर जोआना वेकफिल्ड स्कर जब लगातार भइरहने स्तन दुखाइका बारेमा डाक्टरसँग कुरा गर्न गइन्, तब उनलाई सल्लाह दिइयो कि उनलाई केवल एउटा सही फिटिङ भएको ब्राको आवश्यकता छ ।

बायोमेकानिक्सकी विज्ञ भएको नाताले उनले अनुसन्धान गर्ने फैसला गरिन् कि आँखिर एउटा राम्रो ब्रा कस्तो हुन्छ । उनी भन्छिन्, ‘मलाई महसूस भयो कि वास्तवमा हामीलाई यो धेरै कम थाहा छ कि हामीलाई ब्रा किन चाहिन्छ, ब्राका फाइदाहरू के हुन् र एउटा ब्राले कसरी काम गर्नुपर्छ । यसको सट्टा ब्रालाई धेरैजसो एउटा फेसन आइटमको रूपमा हेरिएको छ, न कि यस्तो चिजको रूपमा जो कामको होस्, जसको कुनै उद्देश्य होस् र जसको स्वास्थ्यसँग जोडिएका फाइदाहरू हुन् । यो कुरा मलाई साँच्चै निकै निराशाजनक लाग्यो ।’

यही कुराले उनलाई सन् २००५ मा बेलायतको ‘युनिभर्सिटी अफ पोट्र्समाउथ’मा ब्रेस्ट हेल्थ (स्तन स्वास्थ्य) मा एक अनुसन्धान समूह सुरु गर्न प्रेरित गर्‍यो । उनको टोलीले गलत फिटिङ भएको ब्रा लगाउनाले हुने ४ वटा ठूला नकारात्मक असरहरू पहिचान गरेको थियोः १) दुखाइ र छालामा खिचावट । २) तन्तु (टिस्यू) लाई नोक्सान । ३) श्वास फेर्ने तरिका र मुटुको धडकनको बीचको समयमा परिवर्तन । ४) शारीरिक गतिविधिहरूमा अवरोध ।

उनी भन्छिन्, ‘यदि तपाईँका स्तन भारी छन् र ती माथि–तल उफ्रिरहेका छन् भने यसले तपाईँको श्वास फेर्ने तरिका साँच्चै बदल्न सक्छ । यसले यो कुरालाई पनि बदलिदिन्छ कि तपाईँ भूइँमा कति बल लगाउनुहुन्छ । अर्थात् यसको असर पूरा शरीरको काम गर्ने तरिकामा पर्छ ।’

उनले कुरा बुझिन् कि स्तनको दुखाइ कम गर्ने सबैभन्दा मुख्य कुरा स्तन कति धेरै हल्लिन्छन् भन्ने होइन, बरु यो हो कि तिनीहरूको चाल (मूभमेन्ट) लाई कति ढिलो गर्न सकिन्छ । टोलीले अहिले इङ्गल्याण्डको महिला फूटबल टोली ‘लायनेसिस’ जस्ता एथलिटहरू र विश्वका केही शीर्ष गोल्फ खेलाडीहरूसँग मिलेर उनीहरूका लागि सबैभन्दा उत्कृष्ट ब्रा तयार गर्ने काम गरिसकेको छ ।

वेकफिल्ड स्कर भन्छिन्, ‘हामीले देखिरहेका छौँ कि एफए र वर्ल्ड रग्बी जस्ता संस्थाहरू महिला एथलिटहरूको स्वास्थ्यसँग जोडिएका पहलहरूमा पैसा लगानी गरिरहेका छन् र यो परिवर्तन वास्तवमा पछिल्लो करीब ५ वर्षमा मात्र देखिएको छ । यो सबै अहिले नयाँ–नयाँ छ तर यो धेरै राम्रो कुरा हो कि अब यो परिवर्तन देखिएको छ ।’

‘बिरामीहरू राम्रो जिन्दगी बाँच्न चाहन्छन्‌’

समाजले ठूला स्तनको बोझलाई कसरी हेर्छ र बुझ्छ भन्ने कुरा र्‍याकेलले आफैँ झेल्नुपर्‍यो । उनी भन्छिन् कि ‘ब्रेस्ट रिडक्शन सर्जरी’ गराउने फैसलामा उनले आफ्नो वरिपरिका मानिसहरूबाट भेदभावको सामना गर्नुपर्‍यो । साथै उनको फैसलाको कारणलाई लिएर एउटा आमगलत बुझाइ थियो ।

उनी भन्छिन्, ‘धेरैजसो मानिसहरूलाई लाग्यो कि यो स्वास्थ्यको होइन, बरु केवल सुन्दरतासँग जोडिएको फैसला थियो । जब मैले यो शल्यक्रिया गराएँ, तब एक महिलाले मसँग भनिन्, ‘अब तिमीले गएर पेट पनि निकाल्नुपर्छ, जस्तैः लिपोसक्सन’ ।’

यस्ता प्रतिक्रियाहरूका बावजुद र्‍याकेल भन्छिन् कि उनलाई आफ्नो फैसलामा कुनै पछुतो छैन । उनी भन्छिन्, ‘म धेरै खुसी छु र अब जब म ‘मेनोपज’ (महिनावारी रोकिने अवस्था) को चरणमा छु, मलाई थाहा छैन कि ठूला स्तनका साथ म कसरी बाँच्न सक्थेँ होला । म आफैँलाई त्यो शरीरका साथ संघर्ष गरिरहेको सोच्न पनि सक्दिनँ ।’

न्यूजेन्टको भनाइ छ कि ‘ब्रेस्ट रिडक्सन सर्जरी’ गराउने बिरामीहरूको बढ्दो संख्याले सायद ‘सेल्फ केयर’ (व्यक्तिगत हेरचाह) मा बढ्दो चासोलाई देखाउँछ ।
उनी भन्छिन्, ‘पक्कै पनि केवल महिलाहरू मात्र होइन, बरु सबै बिरामीहरू अब राम्रो जिन्दगी बाँच्न चाहन्छन् । यो पूर्णता (परफेक्सन) को खोजी होइन, बरु स्वास्थ्य र कल्याण (वेलनेस) को खोजी हो ।’ (ग्लोबल हेल्थ, बीबीसीबाट भावानुवाद)

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।