महोत्तरी । महाशिवरात्रि सम्पन्न भएसँगै १५ दिने मिथिला माध्यमिकी परिक्रमा विधिवत् रूपमा सुरु भएको छ।
धार्मिक आस्था, परम्परा र सांस्कृतिक उत्सवको संगम मानिने यो यात्रासँगै महोत्तरीमा यात्रुको स्वागत र व्यवस्थापन तयारी तीव्र पारिएको छ। यात्रुहरू चौथो दिन मटिहानीबाट महोत्तरी प्रवेश गर्ने कार्यक्रम रहेको छ।
यात्राको चौथो दिन महोत्तरी प्रवेश गर्ने यात्री क्रमशः मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवनसहित यस जिल्लामा पाँच रात बिताउनेछन् । यात्रा सुरु भएसँगै महोत्तरीका यी रात्रि विश्रामस्थल रहेका ठाउँमा यात्रीको बासस्थान, खाना, प्राथमिक उपचार र सुरक्षा प्रबन्धका लागि स्थानीयतह, मठमन्दिर व्यवस्थापन र स्थानीय प्रहरी प्रशासनले तयारी थालेका छन् । “यसपालि निर्वाचन अभियानको बीचमै माध्यमिकी परिक्रमा यात्रा परेको छ, यसलाई व्यवस्थित र सुरक्षित गर्न सम्बद्ध स्थानीयतह, मठमन्दिर व्यवस्थापन र अन्य सरोकारवालासँग समन्वय गरिँदैछ,” प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव भन्छन्, “यात्रीले कुनै असजिलो झेल्नु नपरोस् भन्नेतर्फ सबैले ध्यान पुर्याउन आवश्यक छ ।”
यस क्रममा चौथो दिनको रात्रि विश्रामस्थल रहेको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले यात्रीका सुविधालाई प्राथमिकतामा राखेर समुचित प्रबन्ध गरिने बताएका छन् । यसैगरी, पाँचौं दिनको विश्रामस्थल रहेको जलेश्वर नगरपालिका, छैटौँ दिनको मडै विश्रामस्थलका लागि महोत्तरी गाउँपालिका, सातौँ दिनको ध्रुवकुण्ड विश्रामस्थलका लागि बलवा नगरपालिका र आठौँ दिनको विश्रामस्थल कञ्चनवनका भङ्गाहा नगरपालिकाले आवश्यक समन्वय भइरहेका छन्। आठौँ दिनको विश्रामस्थल कञ्चनवनमा दिउँसो होली महोत्सव मनाइने परम्परासमेत छ । “हामीले यात्रीको सुविधाका पक्षसँगै होली महोत्सव भव्य र सुसभ्य बनाउन अहिलेदेखि नै तयारी थालेका छौँ,” भङ्गाहाका नगरप्रमुख सञ्जीवकुमार साह भन्छन्, “यसका लागि सम्बद्ध सबै पक्षसँग समन्वय गरिरहेका छौँ ।”
फागुन औँसीदेखि पूर्णिमासम्मको १५ दिने यो धार्मिक यात्रामा महोत्तरी, धनुषा र भारतको मधुवनी जिल्लाका समेत १५ ठाउँमा रात्रिबासको परम्परा छ ।
मिथिलाविहारीबाट सुरु हुने परम्परा
धनुषाको मिथिलाविहारी नगरपालिका–८ कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट श्रीरामको प्रतिमा डोला (डोली) मा बोकेर यात्रा सुरु गरिने परम्परा छ । कचुरीबाट मिथिलाविहारी अर्थात् श्रीरामको डोला यात्रामा जनकपुरस्थित अग्निकुण्ड मठबाट सीताजीको प्रतिमा अर्को डोलामा बोकेर साथ लगाइएपछि माध्यमिकी परिक्रमा विधिवत् सुरु भएको मानिन्छ । आज मध्याह्न सुरु भएको यो यात्रा जनकपुरधामस्थित मठमन्दिरको परिक्रमा गर्दै धनुषाकै हनुमानगढीमा पुगेर यात्री रात्रिबास गर्नेछन् । यात्रामा नेपाल भारतका साधुसन्त र सर्वसाधारण सहभागी रहेका कचुरीस्थित मिथिलाविहारी मन्दिरका महन्थ रामनरेश शरणले जानकारी दिए ।
मिथिला माध्यमिकी परिक्रमा फागुन शुक्लपक्षभरि धार्मिक उत्सवका रुपमा मनाइन्छ । मिथिला माध्यमिकी परिक्रमामा महोत्तरी, धनुषा र छिमेकी मित्रराष्ट्र भारतको मधुवनी जिल्लासहित १३३ किलोमिटर वृत्तभित्र १५ ठाउँमा रात्रिबास गरेर रामसीताका भजन गाउँदै मिथिला माध्यमिकी परिक्रमा सम्पन्न गरिने परम्परा छ । जय सीयाराम नाम सङ्कीर्तन गाउँदै गरिने यो यात्रालाई साधुसन्तले अलौकिक भन्ने गरेका छन् । यस यात्रामा महोत्तरी र धनुषासमेत नेपालतर्फ १०७ र भारततर्फ २६ किलोमिटर दूरी तय गरिन्छ ।
धार्मिक आस्था र सांस्कृतिक महत्व
मिथिलाविहारी (श्रीराम) र किशोरीजी (सीताजी) का प्रतिमा राखिएका डोला अघि लगाएर १५ दिन मिथिला क्षेत्रभित्रका तीर्थस्थलहरुको दर्शन गर्दै नाङ्गा खुट्टाले पैदल हिँडेर गरिने यो यात्राको पहिलो दिनको बास धनुषाको हनुमानगढीमा गरिने परम्परा छ । यसपछि धनुषामा क्रमशः नवौँ दिन पर्वता, १०औँ दिन धनुषाधाम, ११औँ दिन सतोखरधाम, १२औँ दिन औरही र अन्तिमरात अर्थात् १५औँ दिनको बास जनकपुरस्थित रङ्गशाला (बाह्रबिघा) मैदानसहित ६ रात्रि विश्रामको परम्परा छ ।
यसैगरी, भारतको मधुवनी जिल्लामा दोस्रो दिन कल्याणेश्वर (कलना), तेस्रो दिन गिरिजास्थान, १३औँ दिन करुणा र १४औँ दिन बिसौलमा रात्रिबासको परम्परा छ । त्रेतायुगमा श्रीराम र सीताजी विवाहपछि तत्कालीन मिथिलाका विभिन्न ठाउँमा विहार गर्दै भ्रमण गर्नुभएको सम्झनामा उनिहरुको पदचाप पछ्याउँदै यो १५ दिने मिथिला माध्यमिकी परिक्रमाको परम्परा चलेको महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ मैथिल संस्कृतिका ज्ञाता डा रवीन्द्र दास वैष्णव बताउछन् । “उनिहरु (श्रीराम र सीताजी) हिंडेको बाटोको माटो स्पर्शले मोक्ष मिल्ने विश्वास गरिन्छ,” डा वैष्णव भन्छन्, “त्यसैले साधुसन्तले यसलाई अलौकिक यात्रा भन्ने गरेका छन् ।”
होली महोत्सवसँग जोडिएको यात्रा
यात्रा अवधिभरि सांसारिक दुःख बिर्सेर श्रीराम र सीताजीमै आफुलाई समर्पित गरिने हुँदा यो यात्रा अलौकिक भन्ने गरिएको उनको कथन छ । फागुन पूर्णिमाका दिन यो यात्रा सम्पन्न गरेसँगै होलिका दहनको धुरा उडाएर (होलिका राक्षसीको आकृति डढाएर त्यसको खरानी उडाइने चलन) त्यसको भोलिपल्ट हिन्दू धर्मावलम्बीले फागु अर्थात् होली पर्व मनाउनेछन् । यो यात्रामा त्रेतायुगका श्रीराम र सीताजीसँगै सत्ययुगका दानव राजा हिरण्यकशिपु संहारको कथा समेटिएको मिथिला संस्कृतिका अर्का ज्ञाता जलेश्वर–५ पतैलीका बासिन्दा अवकाश प्राप्त सहप्राध्यापक ध्रुव राय बताउछन् ।
नेपाल र भारतका हजारौँ साधुसन्त सहभागी हुने यो यात्रालाई मिथिलाको महाकुम्भ पनि भनिन्छ । यो धार्मिक परिक्रमाका यात्रीको बासस्थान, प्राथमिक उपचार, भोजन र आपत्कालीन सेवाका लागि रात्रि विश्रामस्थल रहेका ठाउँमा सम्बन्धित स्थानीय तह, मठमन्दिर व्यवस्थापन, सामाजिक सङ्घसंस्था र व्यक्तिहरुले आपसी समन्वयमा प्रबन्ध गर्ने गरेका छन् । माध्यमिकी परिक्रमाको संयोजन स्थानीयतह, सामाजिक सङ्घसंस्था र विभिन्न मठमन्दिर व्यवस्थापनको समन्वयमा बृृृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले गर्दै आएको छ ।



































