साउदी, पाकिस्तान र टर्कीको गठबन्धन के हो ?

अन्ततः अलि छिटो भए पनि साउदी अरेबिया, पाकिस्तान र टर्कीबिच भएको मक्का रक्षा सम्झौताको वास्तविक रूप सार्वजनिक भएको छ । टर्कीका विदेशमन्त्री हाकान फिदानले घमण्डका साथ वर्णन गरेजस्तै सम्झौता भत्किएको त होइन तर यो के हो वा के होइन भन्ने कुरा उदांगो भएको छ । यो नेटो शैलीको रक्षा गठबन्धन होइन । अवश्य पनि त्यो सुरुदेखि नै असम्भव जस्तै थियो, किनकि नेटोको सदस्य रहेको टर्कीलाई एकैपटक अर्को सैन्य गुटमा सामेल हुने स्वतन्त्रता छैन । तैपनि यो समूहलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आशीर्वाद प्राप्त थियो, जसले विश्वभर आफ्ना भारहरू बाँड्न खोजिरहेका छन् ।

निःसन्देह कसैले पनि पाकिस्तान वा टर्कीले साउदी राज्यमा आक्रमण हुँदा युद्धमा हामफाल्ने आशा गरेका थिएनन्, किनभने सम्झौता मूलतः साउदी अरेबियाका लागि एउटा सुरक्षा कवच मात्र हो । इरान युद्ध सुरु भएदेखि र साउदी अरेबिया तथा यसका महत्वपूर्ण पूर्वाधारहरूमाथि निरन्तर आक्रमण हुन थालेपछि १ वर्षअघि नै साउदीसँग पारस्परिक रक्षा सम्झौता गरेको पाकिस्तान कुनै पनि युद्धको भूमिकामा ओर्लिएन । यद्यपि उसले साउदी भूमिमा सैन्य टोली, लडाकु विमान र हतियारहरू तैनाथ गरेको थियो । तर उसले अमेरिकी र इरानबिच मध्यस्थताको बाटो रोज्यो । मक्का सम्झौता जसले टर्कीलाई समेत समेटेर यो व्यवस्थालाई विस्तार गर्‍यो, सन् २०२५ को साउदी–पाकिस्तान रक्षा सम्झौतामा आधारित थियो ।

तथापि हुथीहरूले गत हप्तादेखि साउदी अरेबियाविरुद्ध सुरु गरेको आक्रमणले पारस्परिक रक्षा व्यवस्थाको भ्रमलाई तोडिदिएको छ । यदि उनीहरूले सम्झौताको परीक्षण गर्न आक्रमण सुरु गरेका हुन् भने उनीहरूले यो केवल एउटा कागजको बाघ मात्र हो भन्ने पूर्ण पुष्टि पाएका छन् । किनभने आक्रमणहरूले साउदी भूभागलाई मात्र नभई हर्मुज बन्द भएदेखि साउदीहरूले पूर्णरूपमा भरोसा गरिरहेको इस्ट वेस्ट पाइपलाइन लगायतका महत्वपूर्ण र रणनीतिक पूर्वाधारहरूलाई समेत निशाना बनाएका छन् । ‘पेट्रोलाइन’ भनेर चिनिने पाइपलाइनले साउदी अरेबियाको पश्चिमी तटमा रहेको लाल सागरको यान्बु बन्दरगाहलाई जोड्थ्यो ।

त्यहाँबाट निर्यात युरोपसम्म जान सक्छ; तर यसका मुख्य एसियाली बजारहरू, अर्थात् भारत, चीन, जापान र दक्षिण कोरियाका लागि यो बाब–अल–मन्दब भएर जानुपर्छ, जसमाथि अहिले हुथीहरूको नियन्त्रण छ । बाब–अल–मन्दबमा साउदी जहाजहरूमाथि आक्रमण भइरहँदा विश्वव्यापी बजारमा साउदीको तेल पठाउने महत्वपूर्ण विकल्प बनेको पाइपलाइन नै क्षतिग्रस्त भई बन्द भएको छ । तसर्थ हुथीहरूले अब ताइज क्षेत्रमा रहेको यमनको मुख्य मोखा बन्दरगाहमा पनि कब्जा जमाएका छन्, जसले साउदी अरेबियाका लागि खतराको मात्रालाई अझ बढाएको छ । यस्तो परिदृश्यमा साउदी अरेबियाका रक्षा साझेदारहरू पारमाणविक शक्ति सम्पन्न पाकिस्तान र नेटोको दोस्रो ठूलो तथा युद्ध–अभ्यस्त सेना भएको टर्कीको यस्तो नाटकीय अनुपस्थिति अचम्मलाग्दो छ । अवश्य पनि अहिले पाकिस्तान र टर्की दुवै क्षति न्यूनीकरणको स्थितिमा ओर्लिएका छन् ।

साउदीमा आगो, पाकिस्तान एक्समा व्यस्त

साउदी युवराज मोहम्मद बिन सलमानसँगको टेलिफोन वार्तामा पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले साउदी राज्यप्रति पूर्ण ऐक्यबद्धता व्यक्त गर्दै हुथीका कदमहरूको कडा शब्दमा निन्दा गरे । उनको कार्यालयद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘साउदी नेतृत्वका साथै भाइचारापूर्ण साउदी अरेबियाका जनताप्रति पूर्ण ऐक्यबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले हालैका हुथीका कदमहरूले क्षेत्रीय शान्ति र सुरक्षामा खतरा पुर्‍याएको र यसले विश्वव्यापी अर्थतन्त्र र ऊर्जा आपूर्तिलाई अझ खलल पार्न सक्ने बताउनुभयो ।’ अहिले साउदीहरूले इस्लामको सबैभन्दा पवित्र स्थल मक्कामा पनि ड्रोन प्रहार भएको रिपोर्ट गरेका छन्, जसलाई इरानीहरूले अस्वीकार गरेका छन्, शेहबाज शरीफले आक्रमणको निन्दा गर्दै सबै पक्षहरूलाई अधिकतम संयम अपनाउन र थप तनावको डिलबाट पछि हट्न आग्रह गरे ।

एक्स (ट्वीटर) मा एउटा पोस्ट गर्दै उनले भने, ‘हाम्रो क्षेत्रले द्वन्द्वबाट धेरै नै कष्ट भोगिसकेको छ । संवाद र कूटनीति नै शान्तिको एक मात्र दिगो बाटो हो । पाकिस्तान साउदी अरेबियाको भाइचारापूर्ण राज्यको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षाका साथै हरमेन शरिफैनको सुरक्षा र पवित्रताका लागि काँधमा काँध मिलाएर दृढताका साथ उभिएको छ, जुन कर्तव्य प्रत्येक पाकिस्तानीले आफ्नो मुटुको नजिक राख्छ ।’ यदि विश्वका धेरै मानिसहरू दृष्टिदोषबाट पीडित छैनन् भने पाकिस्तानले कसरी साउदी अरेबियाको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षाका लागि काँधमा काँध मिलाएर उभिएको छ भन्ने कुरा देख्न कठिन छ । तैपनि पाकिस्तान पछि हटेको छैन र उसले आफ्ना साउदी भाइहरूको रक्षा कसरी गर्छ भनेर हेर्नु चाखलाग्दो हुनेछ । केवल १ दशकअघि हुथी, यमन र खाडी रक्षाकै विषयले पाकिस्तान र उसका खाडी मित्रहरूबिच विभाजन ल्याएको थियो र यस्तै आक्रमणहरूलाई रोक्नका लागि साउदीहरूले गत वर्ष पाकिस्तानसँग पहिलो द्विपक्षीय सम्झौता र यस वर्ष पाकिस्तान र टर्की दुवैसँग त्रिपक्षीय सम्झौता गरेका थिए ।

पाकिस्तानका कहिल्यै नसकिने समस्याहरू

अवश्य पनि पाकिस्तानसँग ९०९ किलोमिटर लामो सीमा जोडिएको इरानसँग सिधा भिडन्त हुन सक्ने द्वन्द्वमा नहोमिनुका पछाडि ठोस कारणहरू छन् । उनीहरूले केही वर्षअघि मात्रै आईआरजीसीले उनीहरूमाथि हानेको मिसाइल आक्रमण बिर्सेका छैनन् । पाकिस्तानले आफ्नो पूर्वी सीमामा भारत र ‘सिन्दूर २.०’को खतराको सामना गरिरहेको छ । उत्तर र उत्तर पश्चिममा यसले शत्रुतापूर्ण अफगान तालिबानको सामना गरिरहेको छ, जससँग १ वर्षभन्दा बढी समयदेखि भिडिरहेको छ । यसको सेना देशभित्रै बलोच र तहरीक–ए–तालिबान विद्रोहसँग लड्न व्यस्त छ । उसले नचाहेको अन्तिम कुरा भनेको इरानबाट हुने आक्रमण हो । यसबाहेक आन्तरिक रूपमा पहिले नै साम्प्रदायिक तनावबाट ग्रसित पाकिस्तानमा ठूलो संख्यामा शिया जनसंख्या छ, जसले इरानविरुद्ध कुनै पनि पाकिस्तानी दुस्साहसलाई सहन गर्दैन । यसै वर्षको सुरुमा इरानमा अमेरिकी–इजरायली आक्रमणपछि कराँचीलाई कब्जामा लिएको विरोध प्रदर्शनलाई मात्र सम्झनुहोस् । कन्सुलर कार्यालयमा प्रदर्शनकारीहरूमाथि अमेरिकी कन्सुल जनरलले गोली चलाउँदा १० जना पाकिस्तानीले ज्यान गुमाएका थिए र जेसुकै भए पनि फिल्ड मार्शल असिम मुनिर पनि शिया हुन् । त्यसैले हुथीहरूविरुद्ध सैन्य हस्तक्षेप नगर्न पाकिस्तानसँग प्रशस्त कारणहरू छन् ।

साउदीहरू अहिलेसम्म धैर्यवान् नै देखिएका छन् । युवराजले इजिप्टको भ्रमण गरिरहेका छन्, जसले पनि ऐक्यबद्धता प्रदर्शन गरेको छ । यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने मक्का सम्झौता हुनुअघि इजिप्ट, साउदी अरेबिया, पाकिस्तान र टर्कीसँगको चतुर्भुज वार्ताको हिस्सा भए पनि यो समूहमा सामेल भएन । टर्कीसँगको हालैको सम्बन्ध सुधारका बाबजुद, इजिप्ट टर्कीसमेत संलग्न रहेको रक्षा सम्झौतामा सहभागी हुन्छ वा हुँदैन भन्नेमा शंका छ । साउदीहरूले पाकिस्तानलाई दिएको भारी आर्थिक सहयोग, ऋणको नवीकरण र इन्धन भुक्तानी छुटलाई हेर्दा उनीहरूसँग पाकिस्तान र केही हदसम्म इजिप्टलाई सैन्य रूपमा सहयोग गर्न बाध्य पार्ने पहुँच छ । यद्यपि समाचारहरूका अनुसार युवराजले इजरायलसँग सम्पर्क बढाइरहेका छन्, जुन कुरा उनले अहिलेसम्म पन्छाउँदै आएका थिए र केही समयअघि प्रतिद्वन्द्वी टर्कीतर्फ मोडिएका थिए ।

टर्कीको सुनको अण्डा

जहाँसम्म टर्कीको कुरा छ, क्षेत्रका विश्लेषकहरूलाई थाहा छ कि उसले साउदी अरेबियाको कुनै पनि प्रकारको प्रत्यक्ष सैन्य रक्षा गर्ने मनसाय कहिल्यै राखेको थिएन । मक्का सम्झौता उसका लागि र अवश्य पनि पाकिस्तानका लागि पनि आफ्नो रक्षा उद्योगको विस्तार गर्न, महत्वपूर्ण पूर्वाधार निर्माण गर्न र त्यसपछि साउदी अरेबिया र अन्य देशहरूलाई आफ्ना सैन्य सामग्रीहरू आपूर्ति गर्नका लागि ‘सुनको अण्डा’ बन्नुपर्ने थियो । आश्चर्यको कुरा होइन, टर्की नै मक्का सम्झौताको विस्तारका बारेमा सबैभन्दा बढी मुखर भएको छ ।
एक कूटनीतिक अभ्यासमा राष्ट्रपति रसिप तयिप एर्दोगानले भनेका थिए कि त्रिपक्षीय मक्का संयुक्त रक्षा सम्झौताले मुस्लिम विश्वलाई एकताको एक शक्तिशाली सन्देश दिन्छ । उनले टर्की, साउदी अरेबिया र पाकिस्तानले मुस्लिमहरूले हाल सामना गरिरहेका सुरक्षा चुनौतीहरूलाई पार गर्न हात मिलाइरहेको कुरामा जोड दिए । त्यो कसरी सम्भव हुन्छ भन्ने कुरा विश्वले जान्न चाहेको छ । त्यसैले विश्वका धेरै मानिसहरूले जे अनुमान गरिरहेका थिए, त्यसलाई अहिले हुथीहरूले पुष्टि गरिदिएका छन्‌ः मक्का रक्षा सम्झौता कुनै रक्षा सम्झौता होइन, बल्कि एउटा असफल निवारक मात्र हो । (एनडीटीभीबाट भावानुवाद)

 प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।