आठौं पटक चुनाव लड्दै ओली, फेरि ल्याए झापा–५ समृद्ध बनाउने योजना

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं. ५ बाट आठौं पटक उम्मेदवारी दिंदै समग्र विकास र समृद्धिको खाका समेटिएको विस्तृत प्रतिवद्धता–पत्र सार्वजनिक गरेका छन्।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय गन्तव्यलाई आधार बनाउँदै सार्वजनिक गरिएको प्रतिवद्धता–पत्रमा भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको छ। प्रतिवद्धता–पत्र सार्वजनिक गर्दै ओलीले झापा–५ लाई आर्थिक, सामाजिक र पूर्वाधार विकासको नमुना क्षेत्र बनाउने लक्ष्य लिएको बताए। उनले विगतमा आफ्नै नेतृत्वमा भएका विकास योजनाहरूको निरन्तरतासँगै बाँकी रहेका अधुरा परियोजनाहरू सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। ओलीका अनुसार स्थायित्व, सुशासन र विकासबीचको सन्तुलन कायम गर्दै मात्र मुलुकलाई समृद्धितर्फ लैजान सकिन्छ।

एमालेले आफ्नो दस्तावेजमा २००६ सालदेखि सुरु भएको कम्युनिस्ट आन्दोलनको इतिहास स्मरण गर्दै नेकपा (एमाले)लाई मूलधारको राजनीतिक शक्तिका रूपमा प्रस्तुत गरेको छ। पार्टीले विगतमा सञ्चालन गरेका लोकप्रिय कार्यक्रमहरूलाई आधार मानेर नयाँ योजनाहरू अघि बढाइने उल्लेख गरेको छ। राजनीतिक अस्थिरता अन्त्य, सुशासनको प्रवद्र्धन र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लागू गर्ने विषयलाई विशेष जोड दिइएको छ। साथै, कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको दुरुपयोग रोक्न आवश्यक कानुनी व्यवस्था गर्ने प्रतिबद्धता पनि पत्रमा समेटिएको छ।

भौतिक पूर्वाधारतर्फ यस क्षेत्रका मुख्य सडक र पुलहरूको निर्माण तथा स्तरोन्नतिलाई उच्च प्राथमिकता दिइएको छ। दमक–चिसापानी–रवि सडकखण्डलाई पूर्णता दिने, पाडाजुँगी–गौरीगञ्ज–आल्ताबारी सडकको स्तरोन्नति गर्ने र हुलाकी मार्ग अन्तर्गत माई नदीको पुलको अधुरो काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ। त्यस्तै, रतुवा, मावा र कमल खोलामा तटबन्धन निर्माण गरी नदी कटान नियन्त्रण गर्ने तथा पक्की पुलमार्फत आवागमन सहज बनाउने योजना अघि सारिएको छ।

दमक र गौरादहलाई ‘स्मार्ट सिटी’ को रूपमा विकास गर्दै व्यवस्थित बसोबासको व्यवस्था मिलाइने उल्लेख छ। सहरी पूर्वाधार, ढल निकास, फोहर व्यवस्थापन, सार्वजनिक यातायात र हरित क्षेत्रको विकासलाई समेत प्राथमिकतामा राखिएको छ। यसले स्थानीय बासिन्दाको जीवनस्तर उकास्न सहयोग पुग्ने एमालेको दाबी छ। कृषि प्रधान क्षेत्र भएकाले किसानलाई केन्द्रमा राखेर कृषि आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने योजना बनाइएको छ। भूमिगत तथा सतह सिँचाइ आयोजनामार्फत सिँचाइ सुविधा विस्तार गर्ने, जैविक मल कारखाना स्थापना गर्ने र किसानका उत्पादन सुरक्षित राख्न शीतभण्डार निर्माण गर्ने कार्यक्रम समेटिएको छ। कृषि बजारको पहुँच बढाई किसानको आम्दानी वृद्धि गर्ने लक्ष्यसमेत राखिएको छ। उद्योग र रोजगारी सिर्जनालाई पनि प्रतिवद्धता–पत्रमा विशेष महत्व दिइएको छ। दमकमा निर्माणाधीन नेपाल–चीन मैत्री औद्योगिक पार्कलाई शीघ्र सम्पन्न गरी स्थानीय युवालाई रोजगारी दिने र व्यापारिक केन्द्रका रूपमा दमक बिजनेस टावर सञ्चालनमा ल्याउने योजना अघि सारिएको छ। यसबाट स्थानीय अर्थतन्त्रलाई गतिशील बनाउने एमालेको अपेक्षा छ।

सामाजिक क्षेत्रतर्फ प्रत्येक घरधुरीमा स्वच्छ खानेपानी पुर्‍याउने र अधुरा खानेपानी आयोजना पूरा गर्ने लक्ष्य राखिएको छ। स्वास्थ्य सेवामा दमक, कमल र गौरादहका अस्पतालहरूको स्तरोन्नति, विशेषज्ञ सेवा विस्तार र स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने योजना उल्लेख गरिएको छ। शिक्षातर्फ सामुदायिक विद्यालय तथा क्याम्पसहरूको भौतिक सुधार, प्रविधिमैत्री शिक्षण र गुणस्तर अभिवृद्धिमा जोड दिइएको छ। खेलकुद पूर्वाधार विकासका लागि दमकमा मदन भण्डारी रङ्गशाला र कमलमा आदिवासी रङ्गशालालाई आधुनिक स्तरमा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। यसले युवालाई खेलकुदतर्फ आकर्षित गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्षम बनाउने विश्वास व्यक्त गरिएको छ। भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूको समस्या समाधान गर्न लालपुर्जा वितरण कार्यलाई तीव्रता दिने एमालेको योजना छ। साथै, विपन्न तथा दलित समुदायका लागि सुरक्षित आवास निर्माण कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिएको छ। सामाजिक न्याय र समावेशीतालाई केन्द्रमा राखेर विकासका कार्यक्रम अघि बढाइने ओलीले बताएका छन्।

पर्यटन विकासतर्फ सिमसार क्षेत्र, वाल्मीकि आश्रम, इन्द्रेणी ताल र गौरादहको पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना प्रस्तुत गरिएको छ। स्थानीय संस्कृति, परम्परा र प्राकृतिक सम्पदाको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ। ओलीले झापा–५ लाई पूर्वी नेपालको आर्थिक, शैक्षिक र औद्योगिक केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन सोचसहित प्रतिवद्धता–पत्र सार्वजनिक गरिएको बताए। उनले मतदातासँग विकास, स्थायित्व र सुशासनको पक्षमा साथ दिन आग्रह गर्दै विगतको अनुभव र भावी योजनाका आधारमा आफूलाई पुनः निर्वाचित गराउने विश्वास व्यक्त गरेका छन्। एमालेले प्रस्तुत गरेको यो प्रतिवद्धता–पत्रलाई आगामी निर्वाचनमा आफ्नो मुख्य राजनीतिक आधार बनाउने तयारी गरेको छ।

‘कान खोलेर सुनौँ, एमाले पहिलो दल बन्छ’

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो प्रतिनिधिसभा निर्वाचनबाट नेकपा (एमाले) पहिलो पार्टी बन्ने दाबी गरेका छन्। मंगलबार झापा–५ मा आयोजित प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताएका हुन्।

कार्यक्रममा सम्बोधन गर्दै ओलीले आगामी निर्वाचनमा एमाले निर्णायक शक्तिका रूपमा उदाउने विश्वास व्यक्त गरे। उनले २०८४ सालको निर्वाचन पर्खिरहेको अवस्थामा मध्यावधि निर्वाचनबाट नै पहिलो पार्टी बन्ने अवसर प्राप्त भएको बताए। “एमाले दोस्रो पार्टी थियो, अहिले चुनाव हुने भयो, पहिलो पार्टी हुन्छ। हामी त ८४ पर्खिराखेका थियौँ। तर अहिले नै पहिलो पार्टी हुने मौका मिल्यो,” उनले भने।

ओलीले विभिन्न प्रयासमार्फत एमालेलाई कमजोर बनाउने प्रयास भए पनि पार्टी झनै सशक्त भएर अघि बढेको दाबी गरे। “एमालेलाई सिद्ध्याउन खोजियो, आगो लगाइयो, तर एमाले झन बलियो भएर आएको छ। अब एमाले पहिलो पार्टी हुन्छ,” उनले भने। उनले एमालेविरोधी शक्तिहरूलाई लक्षित गर्दै आउँदो निर्वाचनमा पार्टी पहिलो हुने कुरामा ढुक्क रहन आग्रहसमेत गरे।

आगामी चुनाव आगो लगाउने र शान्ति चाहने शक्तिबीचको प्रतिस्पर्धा हुने ओलीको भनाइ थियो। उनले नेपाली समाज शान्तिप्रिय भएको उल्लेख गर्दै हिंसा, आगजनी र तोडफोड गर्ने प्रवृत्तिको आलोचना गरे। “देशमा अराजकता मच्चाउने, आगजनी गर्ने, राज्यको सम्पत्ति तोडफोड गर्नेलाई नेपाली हुँ भन्न पनि सरम हुनुपर्छ,” उनले भने, “लुटपाट गरेर बाँच्ने नेपाली जाति होइन।”

ओलीले नेपाली जनता परिश्रम गरेर जीवनयापन गर्ने र शान्तिपूर्ण समाज निर्माणमा विश्वास गर्ने जाति भएको उल्लेख गरे। “नेपाली गरी खाने जाति हो, लुटेर खाने जाति होइन। नेपाली शान्तिप्रिय जाति हो, आगो लगाउँदै कुद्ने जाति होइन,” उनले भने। उनले सबै राजनीतिक दल र नागरिकलाई शान्ति, सहिष्णुता र लोकतान्त्रिक मूल्यको पक्षमा उभिन आग्रह गरे।

कार्यक्रममा ओलीले मुलुकमा स्थायित्व, विकास र समृद्धिका लागि बलियो नेतृत्व आवश्यक रहेको भन्दै त्यसको जिम्मेवारी एमालेले लिन सक्ने दाबी गरे। उनले विगतमा भएका विकास कार्य, पूर्वाधार विस्तार र सामाजिक सुधारका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि दोहोर्‍याए।

प्रतिनिधिसभा निर्वाचनमा ओली झापा–५ बाट उम्मेदवार बनेका छन्। केही दिनयता उनी सोही क्षेत्रलाई केन्द्रमा राखेर चुनावी अभियानमा सक्रिय छन्। घरदैलो कार्यक्रम, कार्यकर्ता भेटघाट र विभिन्न राजनीतिक सभामार्फत उनले मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। एमालेले झापा–५ लाई आफ्नो बलियो आधार क्षेत्रका रूपमा लिँदै आएको छ।

ओलीको सक्रियता र पार्टीको संगठनात्मक तयारीलाई मध्यनजर गर्दै यस क्षेत्रमा प्रतिस्पर्धा चर्को हुने अनुमान गरिएको छ। ओलीले आगामी निर्वाचनलाई एमालेको नेतृत्व स्थापित गर्ने अवसरका रूपमा व्याख्या गर्दै जनताले पार्टीलाई पुनः विश्वास गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।