सन् १९९० को दशकमा एलन रिभ्स ‘द ड्रीमब्वाइज’को सदस्यका रूपमा हजारौँ दर्शकका अगाडि मञ्चमा लुगा फुकालेर प्रदर्शन गर्थे । उनी यति धेरै माग भएका कलाकार थिए कि उनी र उनको टोली स्पाइस गर्ल्सको चलचित्र ‘स्पाइस वर्ल्ड’मा समेत देखिएका थिए ।
त्यसबेला २४ वर्षका रिभ्स, उनी आफैँले स्वीकार गरेअनुसार आकर्षक युवा जस्तै थिए । तर जब रिभ्स ३० को दशकमा पुगे, उनले आफूलाई निकै फरक परिस्थितिमा पाए, उनको मुड सधैँ खराब रहन थाल्यो र उनको यौन इच्छा लगभग हरायो ।
‘मलाई केही कुरा ठीक छैन जस्तो लाग्यो,’ अहिले ५२ वर्ष पुगेका रिभ्स भन्छन् । उनका अनुसार यौन चाहनाको कमीले उनको दीर्घकालीन सम्बन्धमा हानिकारक प्रभाव पार्न थाल्यो ।
‘हामी एक पटकमा ३–४ महिनासम्म यौन सम्पर्क बिना बस्थ्यौँ । मलाई चासो नै लाग्दैन्थ्यो,’ उनी भन्छन्, ‘यस्तो कुराले जोडीहरू छुट्टिने अवस्था आउन सक्छ ।’
लण्डनमा आधारित फिटनेस र जीवनशैली कोच रहेका रिभ्सले ‘टेस्टोस्टेरोन रिप्लेसमेन्ट थेरापी’ (टीआरटी) सुरु गरे । उनी भन्छन्, ‘यसले कामेच्छा फिर्ता ल्याएको छ र एउटा रिसाहा वृद्धबाट पुनः २० को दशकमा पुगेको जस्तो महसूस गराएको छ । यो अनुभव अतुलनीय रहेको छ ।’ अहिले महिलाहरू पनि टेस्टोस्टेरोनतर्फ आकर्षित भइरहेका छन् । ३७ वर्षीया मेनोपज (महिनावारी रोकिएको अवस्था) ब्लगर राचेल मेसन भन्छिन्, ‘टेस्टोस्टेरोन हर्मोन ऊर्जाको स्तर, एकाग्रता र यौनइच्छाका लागि अद्भुत सावित भएको छ ।’
टेस्टोस्टेरोनको चिकित्सकीय सिफारिसमा व्यापक वृद्धि भएको छ । ‘एनएचएस बिजनेस अथोरिटी’को ताजा तथ्यांक अनुसार सन् २०२१ र २०२४ को बिचमा यसको प्रेस्क्राइबिङ १३५ प्रतिशतले बढेको छ ।
यो वृद्धि यस्तो समयमा भइरहेको छ, जब बेलायतभर यौन चाहना घट्दै गएको देखिन्छ । ‘नेसनल सर्भे अफ सेक्सुअल एट्टिट्युड्स एण्ड लाइफस्टाइल्स’का अनुसार यौन सम्पर्कको दरमा निरन्तर गिरावट आएको छ । सन् १९९० मा १६–४४ वर्ष उमेरका मानिसहरूले महिनामा औसत ५ पटक यौन सम्पर्क गर्ने गरेको बताएका थिए । सन् २००० सम्म आइपुग्दा यो ४ पटकमा झर्यो र २०१० सम्ममा ३ पटकमा । यस वर्षको अन्त्यमा आउने नयाँ तथ्यांकमा यो दर अझै घट्ने अनुसन्धानकर्ताहरूको अनुमान छ । यही पृष्ठभूमिमा एउटा बहस तीव्र बन्दै गएको छः के टेस्टोस्टेरोन बढाउँदा यौनइच्छामा सुधार आउँछ ? वा केवल चर्चा, नाफा र ‘प्लासिबो इफेक्ट’ मात्र हो ?
घट्दो यौन चाहना
एलन रिभ्सको घट्दो यौनइच्छाको अनुभव एउटा यस्तो प्रवृत्ति हो जुन अनुसन्धानकर्ताहरूका अनुसार झन् सामान्य बन्दै गएको छ । ‘वर्षौँदेखि हामीले हरेक जनसांख्यिकीय समूहमा गिरावट देखेका छौँ,’ नाटसालकी शैक्षिक निर्देशक सोवाजिग क्लिफ्टन भन्छिन्, ‘अहिले ९० को दशकको तुलनामा सँगै बस्ने (लिभिङ टुगेदर) जोडीहरू कम छन्, जसले यौन दर घट्नुमा मद्दत पुर्याएको हुन सक्छ । तर सँगै बस्ने समूहमा पनि यौनइच्छा घटेको पाइएको छ । वास्तवमा यौन सम्पर्कको दरमा सबैभन्दा बढी गिरावट विवाहित वा सँगै बस्ने वृद्ध जोडीहरूमा देखिएको छ ।’ क्लिफ्टन भन्छिन्, ‘यौन चाहना किन घटिरहेको छ भनेर ठोकुवा गर्न गाह्रो छ । अहिलेसम्मको कुनै पनि तथ्यांकले विश्वासका साथ भन्न सक्दैन कि जनसंख्याको रूपमा हामी किन पहिले जस्तो यौन सम्पर्क गरिरहेका छैनौँ ।’
केही अध्ययनहरूले डिजिटल संसार यसको एउटा प्रमुख कारक हुन सक्ने देखाएका छन्, जसले गर्दा मानिसहरूलाई काम र स्क्रिनबाट टाढा रहन गाह्रो भएको छ । ‘हाम्रो तनावको स्तर पनि ३० वर्ष पहिलेको तुलनामा उच्च छ,’ डा. बेन डेभिस भन्छन्, ‘मानिसहरूको जीवनमा धेरै कुरा भइरहेका छन्, प्रविधि त छँदैछ, साथै तनाव, डिप्रेसन र एक्लोपनमा भएको वृद्धिले पनि यौन चाहना घटाउन भूमिका खेल्छ ।’
अर्को एउटा सम्भावना जसले अनलाइनमा धेरै चर्चा पाएको छ र एउटा ठूलो व्यापार बनेको छ, त्यो हो ‘लो टेस्टोस्टेरोन’ । ‘पुरुषहरूमा टेस्टोस्टेरोनको स्तर निश्चित रूपमा घटिरहेको छ,’ युरोलोजिस्ट र ब्रिटिश सोसाइटी फर सेक्सुअल मेडिसिन (बीएसएसएम) का सदस्य प्रो. जेफ्री ह्याकेट भन्छन् । उनका अनुसार मोटोपना, टाइप २ मधुमेह र गतिहीन जीवनशैलीले टेस्टोस्टेरोनको स्तर घटाउँछ । टेस्टोस्टेरोन कम हुनुले कामेच्छा कम हुने सम्भावना बढाउँछ तर यसको अर्थ टेस्टोस्टेरोन कम भएका सबैमा यौन चाहना कम हुन्छ भन्ने चाहिँ होइन ।
जटिलताका बावजुद बस स्टप र सामाजिक सञ्जालहरू यस्ता विज्ञापनले भरिएका छन्ः ‘कम यौनइच्छा ? सुस्त दिमाग ? थकान ? आफ्नो टेस्टोस्टेरोन जाँच गर्ने समय भयो !’
टेस्टोस्टेरोनले ‘मेरो जीवन फिर्ता दियो’
मेलिसा ग्रीनले विगत करीब १ वर्षदेखि टेस्टोस्टेरोन लिइरहेकी छन् । उनी भन्छिन्, ‘यसले जीवनमा उत्साह मात्र दिएन, बरु विवाहलाई समेत जोगायो ।’ ४३ वर्षीया ग्रीनका अनुसार उनको कम यौन चाहनाले सम्बन्धमा ठूलो असर पारिरहेको थियो ।
महिनावारी रोकिनुअघिको अवस्थामा रहेकी उनलाई डाक्टरले पहिले नै हर्मोन रिप्लेसमेन्ट थेरापी (एचआरटी) मार्फत ओस्ट्रोजेन र प्रोजेस्टेरोन दिइसकेका थिए । तर डाक्टरले उनलाई टेस्टोस्टेरोन आवश्यक छैन भन्दै परीक्षण गर्न मानेका थिएनन् । अन्ततः उनी निजी क्लिनिक गइन् र रगत परीक्षण गर्दा उनको स्तर कम देखियो । अहिले उनी सरकारी र केही निजी औषधिमार्फत टेस्टोस्टेरोन लिइरहेकी छन् । ‘यसले मेरो जीवन फिर्ता दियो । कतिपय अवस्थामा मलाई पुनः २० को दशकमा पुगेको जस्तो महसूस हुन्छ,’ उनी भन्छिन् ।
तर सबैको अनुभव यस्तो सुखद छैन । चेरिल ओमालीले १ वर्षसम्म टेस्टोस्टेरोन लिइन् । उनी भन्छिन्, ‘यसले ऊर्जा त बढायो तर यौनइच्छालाई धेरै नै बढाइदियो र उनमा तीव्र क्रोध पैदा गर्यो । म आफ्नो श्रीमानसँग यौन सम्पर्क गर्न चाहन्थेँ, तर सँगसँगै म उनलाई घृणा पनि गर्थेँ । मलाई लाग्यो कि यो म होइन, म नियन्त्रण बाहिर थिएँ ।’
टेस्टोस्टेरोन थेरापीका साइड इफेक्टहरू पनि हुन सक्छन् । महिलाहरूमा रौँ पलाउने, डण्डीफोर आउने र तौल बढ्ने समस्या हुन सक्छ । पुरुषहरूमा तौल बढ्ने, दुखाइपूर्ण र लामो समयसम्म रहने उत्तेजना, तालु खुइँलिने र मूड स्विङ हुने समस्या हुन सक्छ । यसले प्रजनन् क्षमतामा समेत असर पार्न सक्छ ।
‘यो एउटा पैसा कमाउने धन्दा हो’
केही सरकारी डाक्टरहरूले निजी क्लिनिकहरूले जटिल समस्याको छिटो समाधान भन्दै टेस्टोस्टेरोन बेचेर नाफा कमाइरहेको बताएका छन् । एनएचएस कन्सल्टेन्ट डा. पाउला ब्रिग्स यसलाई एउटा र्ग्याभी ट्रेन’ (कमाउने धन्दा) भन्छिन्, जहाँ मानिसहरूलाई आवश्यक नभएको कुराका लागि धेरै पैसा असुलिन्छ । ‘यो नियन्त्रण बाहिर छ,’ उनी भन्छिन् ।
निजी क्लिनिकहरू भने सरकारी अस्पतालले सेवा दिन नसकेको ठाउँमा आफूहरूले मानिसहरूको जीवन सुधार गरिरहेको दाबी गर्छन् । भोय क्लिनिकका मेडिकल निर्देशक जेफ फोस्टर भन्छन्, ‘अहिले एनएचएस हजारौँ पुरुषको टेस्टोस्टेरोन निदान वा उपचार गर्न सक्षम छैन ।’
पुरुषहरूमा ३०–४० वर्षको उमेरपछि टेस्टोस्टेरोन स्तर वार्षिक करीब १ प्रतिशतले घट्छ । एनएचएसका अनुसार यो बुढ्यौलीको सामान्य प्रक्रिया हो र यसले यौनइच्छामा असर पार्ने सम्भावना कम हुन्छ ।
महिलाहरूको हकमा २०–४० वर्षको बिचमा टेस्टोस्टेरोन घट्न थाल्छ । महिलाका लागि यो हर्मोन आवश्यक भए पनि पुरुषको तुलनामा निकै कम मात्रामा चाहिन्छ ।
डा. ब्रिग्स टेस्टोस्टेरोनको वरिपरि सिर्जना गरिएको यस चर्चाप्रति सतर्क छिन् । उनी भन्छिन्, ‘सेलिब्रेटीलाई काम गर्यो भन्दैमा आममानिसलाई पनि काम गर्छ भन्ने हुँदैन ।’ धेरै बिरामीहरू टेस्टोस्टेरोन लिएको केही महिनापछि यसले खासै असर नगरेको भन्दै फर्किने गरेको उनी बताउँछिन् ।
डा. बेन डेभिस चेतावनी दिन्छन्, ‘टीआरटीको ‘प्लासिबो इफेक्ट’ हुन सक्छ, अर्थात् औषधिले भन्दा पनि मानसिक रूपमा ‘म ठीक हुन्छु’ भन्ने सोचले केही समयका लागि राम्रो महसूस गराउन सक्छ ।’
चेरिल ओमालीले अहिले टेस्टोस्टेरोन लिन छाडेकी छन् । उनी भन्छिन्, ‘अहिले रिस शान्त भएको छ र यौनइच्छा पनि सहज लाग्ने स्तरमा फर्किएको छ । मैले यो छोडेकोमा म धेरै ढुक्क छु ।’
‘यो कुनै जादुमयी छडी होइन’
‘कसैका लागि यो औषधी परिवर्तनकारी हुन सक्छ,’ डा. डेभिस भन्छन्, ‘तर यौन चाहना कम हुनुका पछाडि धेरै कारकहरू हुन्छन् । के यो पार्टनरसँगको सम्बन्धको कारण हो ? वा तनावको कारण ? टेस्टोस्टेरोन मात्रै यसको उत्तर होइन ।’
एलन रिभ्स विगत ७ वर्षदेखि टीआरटीमा छन् र उनको जीवनमा ठूलो सुधार आएको छ । तर उनी पनि के ठान्छन् भने यो कुनै ‘सिल्भर बुलेट’ (जादुमयी समाधान) होइन । जीवनशैलीमा परिवर्तन नगरी टेस्टोस्टेरोन मात्रै लिनु भनेको कवाड भइसकेको कारमा ‘फेरारी’को इन्जिन हाल्नु जस्तै हो । ‘अहिले म गर्वका साथ हिँड्छु … यो केही हदसम्म टेस्टोस्टेरोनको कारणले हो भने केही हदसम्म मेरै प्रयासले,’ उनी भन्छन् । (बीबीसीका वरिष्ठ स्वास्थ्य संवाददाता रुथको सामग्री भावानुवाद गरिएको ।)
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।




































