काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा विद्यमान गम्भीर राष्ट्रिय समस्याको समाधान नगरी निर्वाचनमा जानु उपयुक्त नहुने धारणा व्यक्त गरेका छन् ।
७६औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बुधबार भिडियो सन्देश जारी गर्दै उनले वर्तमान अवस्था सामान्य नरहेकाले पहिले समस्याको समाधानमा केन्द्रित हुनुपर्ने बताएका हुन् । उनले प्रजातान्त्रिक व्यवस्थामा प्रतिनिधि छनोटका लागि आवधिक निर्वाचन स्वाभाविक प्रक्रिया भए पनि अहिलेको परिस्थिति असहज रहेको उल्लेख गरे ।
’यतिखेरको आम जनभावना यही छ कि राष्ट्रिय समस्या समाधान गरेर मात्र निर्वाचन प्रक्रियातर्फ जानु उचित हुन्छ,’ उनले भने, ’निर्वाचनपछि कुनै खिचातानी र द्वन्द्व नहोस् भन्नका लागि सबै पक्षबीच समझदारी बनाएर अघि बढ्नुपर्छ।’ पूर्वराजा शाहले अधिकार मात्र खोज्ने तर कर्तव्यप्रति बेवास्ता गर्ने प्रवृत्ति बढ्दै जानु दुखद् भएको बताए । ‘आलोपालो भाग लगाएर खाने’ सोचले होइन, ‘मिलेर काम गर्ने’ भावना र जिम्मेवारीबोधले मात्र मुलुकलाई नयाँ गति दिन सक्ने उनको भनाइ छ ।
देश कसैलाई खुसी पार्न वा कसैबाट निर्देशित हुन बाध्य हुने अवस्थाको जञ्जिरमा बाँधिएको उल्लेख गर्दै उनले जनता आफैँ सचेत र जागरुक नहुँदासम्म प्रजातन्त्र बलियो नहुने बताए । अहिले सिंगो मुलुक अस्वाभाविक छटपटी र अन्योलको भुमरीमा फसेको र देशको अस्तित्व नै संकटमा परेको अनुभूति आम नेपालीले गरिरहेको उनको भनाइ छ । विगतमा भएका विभिन्न आन्दोलन र राजनीतिक परिवर्तनले नेपाल र नेपालीलाई वास्तवमै के दियो भन्ने विषयमा आत्मसमीक्षा गर्नुपर्ने बेला आएको पनि उनले बताए । परिवर्तनको नाममा भएका गतिविधिले अपेक्षित परिणाम दिन नसकेको भन्दै उनले गम्भीर समीक्षा आवश्यक रहेको धारणा राखे ।
सन्देशमा उनले जनता र राजाको संयुक्त प्रयत्नबाट ७५ वर्षअघि नेपालमा प्रजातन्त्र स्थापना भएको स्मरण गर्दै सबै नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । प्रजातन्त्र स्थापनामा योगदान पुर्याउने त्रिभुवन, ज्ञात–अज्ञात सहिद तथा आन्दोलनमा संलग्न सबै पात्रप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । केही समय झापामा बसाइपछि राजधानी फर्कँदा उपत्यकाका नागरिक र सर्वसाधारणले देखाएको सद्भाव र सम्मानप्रति आभार व्यक्त गर्दै वर्तमान संकटपूर्ण अवस्थामा प्राप्त यस्तो समर्थनले थप जिम्मेवारीबोध गराएको उल्लेख गरेका छन् । देशको अस्मिता र अस्तित्व संकटमा परेको भन्दै उनले विपन्नता र अस्थिरतालाई मुलुकका मुख्य शत्रुका रूपमा औंल्याए । आपसी घृणा, द्वन्द्व र विभाजनको राजनीतिले देशलाई कमजोर बनाएको उल्लेख गर्दै त्यसलाई अन्त्य गरी सद्भाव र एकताको संस्कृति विकास गर्न आग्रह गरे । उनले संविधानअनुसार राज्य व्यवस्था सञ्चालन हुनुपर्नेमा जोड दिँदै निर्वाचन अघि राष्ट्रिय सहमति र साझा समझदारी आवश्यक रहेको बताए । सबैलाई समेटेर अघि बढे मात्र लोकतान्त्रिक प्रक्रिया सही दिशामा अघि बढ्ने उनको भनाइ छ ।
देशको भू–बनोट, सामाजिक संरचना र यथार्थअनुसारको शासन प्रणाली आवश्यक रहेको उल्लेख गर्दै उनले कुनै पनि व्यवस्थाका राम्रा पक्ष ग्रहण गर्ने र नराम्रा पक्ष त्याग्ने अभ्यास निरन्तर गर्नुपर्ने बताए । विश्वका धेरै राष्ट्रले आफ्ना नागरिक र राष्ट्रिय आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर लोकतन्त्रको अभ्यास गरिरहेको उल्लेख गर्दै नेपालले पनि आफ्नै यथार्थमा उभिएर प्रजातन्त्रलाई परिमार्जन गर्दै जानुपर्ने धारणा व्यक्त गरे । सन्देशको अन्त्यमा उनले सबै विचार, संस्कार र मूल्यलाई सम्मान गर्ने समन्वयकारी संस्कृतिबाट मात्र लोकतन्त्र दिगो बन्ने विश्वास व्यक्त गरे । अरूको भरमा परेर होइन, आत्मनिर्भरता र आत्मविश्वासका साथ अघि बढ्नुपर्ने आह्वान गर्दै उनले पशुपतिनाथसँग सबैको कल्याणको कामना गरेका छन् ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।




































