इजरायलले इरानसँगको युद्धमा गलत हिसाब गर्‍यो ?

अन्य द्वन्द्वहरूमा जस्तै इजरायलले कुनै यथार्थपरक राजनीतिक योजनाबिना नै अमेरिकासँग मिलेर इरानविरुद्ध युद्ध सुरु गर्‍यो

हालैका दिनहरूमा इजरायल–इरान युद्धमा निरन्तर सफलता प्राप्त भइरहेको दाबीबिच इजरायली सञ्चारमाध्यममा एउटा नयाँ स्वर सुनिन थालेको छ, जसले इजरायलको अजेय हुनुको भावनालाई चिर्दै पराजयको न्यारेटिभको पहिलो संकेत दिएको छ ।

इजरायली समाचारपत्र ‘येदिओथ अह्रोनोथ’मा २५ मार्चको अंकमा लेख्दै योसी येहोशुवाले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र मोसाद प्रमुख डेभिड बार्नियाबिच इरानी शासन ढाल्ने योजना असफल भएको विषयमा उत्पन्न तनावबारे विस्तृत विवरण दिएका छन् ।

त्यसको ३ दिनअघि ‘द न्युयोर्क टाईम्स’ले रिपोर्ट गरेको थियो कि जनवरीमा बार्नियाले अमेरिकी अधिकारीहरूसमक्ष इरानी शासनको टाउको काटिसकेपछि (नेतृत्व सिध्याएपछि) सफल विद्रोह गराउने योजना प्रस्तुत गरेका थिए । मोसाद प्रमुखले आफ्ना प्रधानमन्त्रीको स्वीकृतिबिना वाशिङ्टनमा यस्तो सन्देश पक्कै लगेका थिएनन् ।

संकटको महसूस तब अझ स्पष्ट भयो, जब इजरायली सेना प्रमुख इयाल जमीरले सुरक्षा क्याबिनेटलाई चेतावनी दिँदै भने कि सेना भित्रभित्रै ध्वस्त हुन सक्छ, विशेषगरी जनशक्तिको अभावका कारण ।

जब युद्धको बिचमा राजनीतिक र सुरक्षा निकायहरू एकअर्कामाथि दोषारोपण गर्न थाल्छन्, यो कहिल्यै राम्रो संकेत होइन । संयुक्त राज्य अमेरिकासँग मिलेर इरानमाथि संयुक्त आक्रमण सुरु गरेको १ महिनापछि इजरायलले यस्तो बहस होला भनेर सोचेको थिएन ।

जब युद्ध सुरु भयो, इजरायलमा एउटा उत्साहको लहर थियो । वरिष्ठ इजरायली अधिकारीहरूले अमेरिकासँगको अभूतपूर्व र ऐतिहासिक समन्वयको प्रशंसा गरेका थिए, जसमा अघिल्ला २ महिनामा नेतान्याहु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच भएका २ वटा बैठक र १५ पटकका टेलिफोन संवादहरू समावेश थिए ।

इजरायली र अमेरिकी सेनाले मिलेर भारी बमबारीको अभियान चलाए, जसमा प्रमुख राजनीतिक, धार्मिक र सैन्य व्यक्तित्वहरूको हत्या गरियो, सुरक्षा पूर्वाधार, सैन्य औद्योगिक स्थल र मिसाइल लन्चरहरूका साथै तेल डिपो र ग्यास क्षेत्र सहितका नागरिक तथा सरकारी भवनहरूलाई क्षति पुर्‍याइयो वा नष्ट गरियो ।
इरानले इजरायली लक्ष्यहरूमाथि दैनिक प्रहार गरेर यसको जवाफ दिएको छ । कडा सेन्सरसिपका कारण इजरायलतर्फ भएको क्षतिको यकिन विवरण पाउन गाह्रो छ ।

इजरायलका केही रणनीतिक लक्ष्यहरू प्रभावित भएका छन्, जसमा डिमोनाको आणविक रिएक्टर क्षेत्र, हाइफाको तेल प्रशोधन केन्द्र र बेन गुरियन विमानस्थल सामेल छन् । त्यसबाहेक इजरायलीहरूले विगत ४ हप्ता बम सेल्टर र सुरक्षित कोठाहरूमा दौडिएर बिताएका छन् र युद्धका सुरुवाती दिनहरूभन्दा हालका दिनहरूमा उनीहरूले अझ बढी पटक त्यसो गर्नुपरेको छ ।

अर्थतन्त्र निकै खुम्चिएको छ, विद्यालय र अधिकांश व्यवसायहरू पटक–पटक खोल्ने प्रयासका बाबजुद बन्द छन् । इजरायल पक्कै पनि हल्लिएको छ तर यो ध्वस्त भइसकेको छैन । यसैबिच जनतामाझ युद्ध अझै धेरै लोकप्रिय छ । ‘जायोनिस्ट’ भनिने विपक्षी दलहरू युद्धको उत्साह र चालिने कदमको उग्रतामा सरकारसँगै प्रतिस्पर्धा गरिरहेका छन् ।

तापनि केही असहज प्रश्नहरू बिस्तारै उठ्न थालेका छन्, के अमेरिकासँगको युद्धबाट जे हासिल गर्न सकिन्छ भन्ने इजरायलका केही अनुमानहरू गलत सावित हुँदैछन् ? के इरानको ‘मोजाइक’ रणनीति बाँच्न मात्र होइन, बरु थप सहनशक्ति देखाउन र इजरायलमाथि ठूलो मूल्य थोपर्न सक्षम छ ?

इजरायलले सहनुपरेका प्रहारहरूको प्रकृति र प्रयोग भइरहेका अझ प्रभावकारी मिसाइलहरूलाई हेर्दा, इरानको जवाफी हमला जारी राख्ने क्षमता अपेक्षाभन्दा निकै बढी देखिएको छ । इजरायली र अमेरिकी मिसाइल इन्टरसेप्टरहरूको मौज्दात रित्तिँदै जानु अर्को बढ्दो चिन्ताको विषय हो । लेबनानमा हिजबुल्लाह विरुद्धको अर्को मोर्चा पनि इजरायलका लागि खुलेको छ ।

त्यो द्वन्द्वका सम्बन्धमा पनि प्रश्नहरू उठिरहेका छन् । इजरायलले सन् २०२४ मा हिजबुल्लाहमाथि विनाशकारी प्रहार गरिसकेको र अब उ केवल सानो खतराको रूपमा मात्र बाँकी रहेको अनुमान गरेको थियो । हिजबुल्लाहले इजरायलका अपरेसनहरूलाई आफ्ना मिसाइल वर्षाद्वारा काउन्टर गर्न सकेको हद र इजरायली जमिन कारबाहीमा देखाएको स्थानीय प्रतिरोधले इजरायली पक्षमा निराशा पैदा गरेको छ । उत्तरी इजरायलका स्थानीय नेताहरूले स्थितिलाई सम्हाल्न सरकारसँग आँशु झार्दै गरेका अपिलहरू भाइरल भएका छन् ।

पुनः इजरायलको विनाश गर्ने र क्षति पुर्‍याउने क्षमतामा कुनै शंका छैन । १० लाख लेबनानी विस्थापित भएका छन्, दक्षिण लेबनानलाई बाँकी देशसँग जोड्ने पुलहरू बमबारी गरेर काम नलाग्ने बनाइएका छन् र व्यापक क्षति पुर्‍याइएको छ तर यो कुनै स्पष्ट अन्त्य नभएको अर्को एउटा सैन्य अभियान मात्र बनेको छ र यी सैन्य साहसिक कार्यहरू गाजामा इजरायलले गरेको मृत्यु र विनाशको अभियान लगत्तै सुरु भएका हुन्, जसका बाबजुद हमास अझै अस्तित्वमा छ ।

गाजा अभियानले इजरायली प्रधानमन्त्रीलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) बाट युद्ध अपराधको पक्राउ पुर्जी र अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) मा नरसंहार महासन्धिको उल्लंघन सम्बन्धी मुद्दा त दियो तर यसले थप युद्ध र शून्य–योगको सोचभन्दा बाहिर कुनै राजनीतिक दृष्टिकोण दिन सकेन । यी सबैमा एउटै साझा कुरा छ, इजरायलले कुनै पनि यथार्थपरक राजनीतिक योजनाबिना केवल सैन्य दृष्टिकोण मात्र अपनाउँछ । त्यसैले यो सबैमा एउटै गल्ती बारम्बार दोहोरिएको महसूस हुन्छ ।

आफ्नो सेनामाथिको अत्यधिक निर्भरता र राजनीतिक योजनाहरूको अस्वीकार गर्ने इजरायलको पुरानो इतिहास छ तर सन् २०२३ पछिको निरन्तर युद्धको युगमा हामीले देखेको कुरा गुणात्मक रूपमा फरक छ । त्यसलाई बुझ्न इजरायलभित्रै भइरहेका केही परिवर्तनहरूलाई हेर्नुपर्ने हुन्छ ।

नेतान्याहुको ‘पूर्ण विजय’को कुरालाई इजरायलले कसरी ‘पूर्ण दण्डहीनता’ अनुभव गरेको छ भन्ने सन्दर्भमा बुझ्न सकिन्छ, जे गर्दा पनि उम्किन सकिन्छ भन्ने भावनाले सबैभन्दा चरम समाधानहरू खोज्न सकिन्छ भन्ने सोच विकसित गरिदिएको छ । यससँगै इजरायली समाज, राजनीति र सञ्चारमाध्यममा पनि परिवर्तन आएको छ । थप धार्मिक कट्टरपन्थी राजनीतिक विचारहरू जनताका ठूला हिस्सामा गुञ्जिरहेका छन् । इजरायली मिसाइलहरूमा नरसंहारकारी उक्साहटहरू फैलिरहेका छन् ।

उदाहरणका लागि इजरायली सेना र अन्य सुरक्षा निकायहरूको उच्च तहमा धार्मिक बस्ती बसाल्ने वर्गको बाहुल्य बढ्दो छ । यसका केही प्रमुख सदस्यहरूमा आन्तरिक सुरक्षा सेवा शिन बेटका प्रमुख डेभिड जिनी, इजरायली सेनाको सेन्ट्रल कमाण्ड प्रमुख एभी ब्लुथ र प्यालेस्टिनीहरूको दैनिक जीवनको रेखदेख गर्ने सीओजीएटीका योराम हलेभी सामेल छन् ।

मुख्य कुरा के हो भने यी परिवर्तनहरूले इजरायलको राष्ट्रिय सुरक्षा सोचलाई आकार दिइरहेका छन् । सत्ताको केन्द्र नजिक रहेका धेरै पूर्व सैन्य रणनीतिकारहरूले इजरायल प्राविधिक श्रेष्ठतामा आधारित छोटो युद्धबाट हटेर स्थायी रूपमा भूभाग कब्जा गर्ने र शत्रुको पूर्वाधार र मानिसहरूको विनाश गर्ने लामो द्वन्द्वका लागि तयार हुनुपर्ने वकालत गरिरहेका छन् ।

व्यापक रूपमा परिभाषित ‘ग्रेटर इजरायल’ परियोजनाको खोजी नै अबको राष्ट्रिय सुरक्षा सिद्धान्त बनेको छ, जसमा कुनै पनि प्यालेस्टिनी राष्ट्रिय समूहलाई पराजित र उन्मूलन गर्ने, र इजरायललाई यस क्षेत्रमा एक प्रभुत्वशाली कठोर शक्तिका रूपमा स्थापित गर्ने प्रयासहरू सामेल छन् ।

इजरायल इरानसँगको यो युद्ध अन्त्य गर्नका लागि एक प्रमुख बाधा बनेको छ र रहिरहनेछ । इजरायलले तनाव बढाउन र उक्साउन जारी राख्नेछ र कुनै पनि वार्ता वा युद्धविरामका प्रयासहरूलाई असफल बनाउनेछ, जसमा अमेरिकालाई जमिन कारबाहीका लागि उक्साउने कुरा पनि सामेल छ भन्ने मान्नुपर्छ । त्यसैले इजरायलका स्वार्थहरू यस युद्ध र यसका जोखिमहरू अन्त्य गर्न चाहने पक्षहरूको स्वार्थभन्दा ठ्याक्कै विपरीत छन् ।

यसैबिच अमेरिकी राष्ट्रपतिको उतारचढावपूर्ण अभिव्यक्तिले शक्ति प्रदर्शन गर्दैन । वर्तमान रणनीतिमाथिको प्रश्न र इजरायली–अमेरिकी क्षमताको अत्यधिक मूल्यांकन तथा इरानी पक्षको अवमूल्यन वा अमेरिकी प्रशासनले कसरी काम गर्छ भन्ने कार्यक्षमताका आधारभूत मुद्दाहरूमाथि शंकाहरू बढिरहेका छन् । इजरायलका लागि समस्या के हो भने अमेरिकाले कुनै पनि बेला आफ्नो झोली–तुम्बा बाँधेर क्यानेडियन, मेक्सिकन र माछाहरूले घेरिएको आफ्नो टाढाको घर फर्किने निर्णय गर्न सक्छ, जसले इजरायललाई कुनै पनि राम्रो विकल्पबिना एक्लै छोडिदिनेछ ।

सन् १९५६ को सुएज संकट, जसमा इजरायलसँगै बेलायत र फ्रान्स पनि मध्यपूर्वको युद्धमा सामेल भएका थिए, ती देशहरूका लागि साम्राज्यको अन्त्यको क्षण मानिन्छ । इजरायलले अमेरिकालाई इरानसँगको युद्धमा तानेको कुरालाई पनि भविष्यमा यस्तै सन्दर्भमा सम्झिन सकिनेछ ।

विचारयोग्य छ कि इजरायलले आफू अमेरिकासँग पूर्णरूपमा निर्भर रहेको कुरा यस्तो समयमा प्रदर्शन गरेको छ, जब उसले अमेरिकाको विश्वव्यापी पतनको प्रक्रियालाई सक्रिय रूपमा गति दिइरहेको छ र अमेरिकी जनतामाझ इजरायल प्रतिको समर्थनलाई कम लोकप्रिय बनाइरहेको छ । यो एक सम्भावित विषाक्त मिश्रण हो ।

यस्तो उचाइ चढ्ने प्रयासमा इजरायलले आफ्नो नाटकीय पतनको आधार तयार गरिरहेको हुन सक्छ । (अलजजिराबाट भावानुवाद)

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।