हालैका दिनहरूमा इजरायल–इरान युद्धमा निरन्तर सफलता प्राप्त भइरहेको दाबीबिच इजरायली सञ्चारमाध्यममा एउटा नयाँ स्वर सुनिन थालेको छ, जसले इजरायलको अजेय हुनुको भावनालाई चिर्दै पराजयको न्यारेटिभको पहिलो संकेत दिएको छ ।
इजरायली समाचारपत्र ‘येदिओथ अह्रोनोथ’मा २५ मार्चको अंकमा लेख्दै योसी येहोशुवाले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र मोसाद प्रमुख डेभिड बार्नियाबिच इरानी शासन ढाल्ने योजना असफल भएको विषयमा उत्पन्न तनावबारे विस्तृत विवरण दिएका छन् ।
त्यसको ३ दिनअघि ‘द न्युयोर्क टाईम्स’ले रिपोर्ट गरेको थियो कि जनवरीमा बार्नियाले अमेरिकी अधिकारीहरूसमक्ष इरानी शासनको टाउको काटिसकेपछि (नेतृत्व सिध्याएपछि) सफल विद्रोह गराउने योजना प्रस्तुत गरेका थिए । मोसाद प्रमुखले आफ्ना प्रधानमन्त्रीको स्वीकृतिबिना वाशिङ्टनमा यस्तो सन्देश पक्कै लगेका थिएनन् ।
संकटको महसूस तब अझ स्पष्ट भयो, जब इजरायली सेना प्रमुख इयाल जमीरले सुरक्षा क्याबिनेटलाई चेतावनी दिँदै भने कि सेना भित्रभित्रै ध्वस्त हुन सक्छ, विशेषगरी जनशक्तिको अभावका कारण ।
जब युद्धको बिचमा राजनीतिक र सुरक्षा निकायहरू एकअर्कामाथि दोषारोपण गर्न थाल्छन्, यो कहिल्यै राम्रो संकेत होइन । संयुक्त राज्य अमेरिकासँग मिलेर इरानमाथि संयुक्त आक्रमण सुरु गरेको १ महिनापछि इजरायलले यस्तो बहस होला भनेर सोचेको थिएन ।
जब युद्ध सुरु भयो, इजरायलमा एउटा उत्साहको लहर थियो । वरिष्ठ इजरायली अधिकारीहरूले अमेरिकासँगको अभूतपूर्व र ऐतिहासिक समन्वयको प्रशंसा गरेका थिए, जसमा अघिल्ला २ महिनामा नेतान्याहु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच भएका २ वटा बैठक र १५ पटकका टेलिफोन संवादहरू समावेश थिए ।
इजरायली र अमेरिकी सेनाले मिलेर भारी बमबारीको अभियान चलाए, जसमा प्रमुख राजनीतिक, धार्मिक र सैन्य व्यक्तित्वहरूको हत्या गरियो, सुरक्षा पूर्वाधार, सैन्य औद्योगिक स्थल र मिसाइल लन्चरहरूका साथै तेल डिपो र ग्यास क्षेत्र सहितका नागरिक तथा सरकारी भवनहरूलाई क्षति पुर्याइयो वा नष्ट गरियो ।
इरानले इजरायली लक्ष्यहरूमाथि दैनिक प्रहार गरेर यसको जवाफ दिएको छ । कडा सेन्सरसिपका कारण इजरायलतर्फ भएको क्षतिको यकिन विवरण पाउन गाह्रो छ ।
इजरायलका केही रणनीतिक लक्ष्यहरू प्रभावित भएका छन्, जसमा डिमोनाको आणविक रिएक्टर क्षेत्र, हाइफाको तेल प्रशोधन केन्द्र र बेन गुरियन विमानस्थल सामेल छन् । त्यसबाहेक इजरायलीहरूले विगत ४ हप्ता बम सेल्टर र सुरक्षित कोठाहरूमा दौडिएर बिताएका छन् र युद्धका सुरुवाती दिनहरूभन्दा हालका दिनहरूमा उनीहरूले अझ बढी पटक त्यसो गर्नुपरेको छ ।
अर्थतन्त्र निकै खुम्चिएको छ, विद्यालय र अधिकांश व्यवसायहरू पटक–पटक खोल्ने प्रयासका बाबजुद बन्द छन् । इजरायल पक्कै पनि हल्लिएको छ तर यो ध्वस्त भइसकेको छैन । यसैबिच जनतामाझ युद्ध अझै धेरै लोकप्रिय छ । ‘जायोनिस्ट’ भनिने विपक्षी दलहरू युद्धको उत्साह र चालिने कदमको उग्रतामा सरकारसँगै प्रतिस्पर्धा गरिरहेका छन् ।
तापनि केही असहज प्रश्नहरू बिस्तारै उठ्न थालेका छन्, के अमेरिकासँगको युद्धबाट जे हासिल गर्न सकिन्छ भन्ने इजरायलका केही अनुमानहरू गलत सावित हुँदैछन् ? के इरानको ‘मोजाइक’ रणनीति बाँच्न मात्र होइन, बरु थप सहनशक्ति देखाउन र इजरायलमाथि ठूलो मूल्य थोपर्न सक्षम छ ?
इजरायलले सहनुपरेका प्रहारहरूको प्रकृति र प्रयोग भइरहेका अझ प्रभावकारी मिसाइलहरूलाई हेर्दा, इरानको जवाफी हमला जारी राख्ने क्षमता अपेक्षाभन्दा निकै बढी देखिएको छ । इजरायली र अमेरिकी मिसाइल इन्टरसेप्टरहरूको मौज्दात रित्तिँदै जानु अर्को बढ्दो चिन्ताको विषय हो । लेबनानमा हिजबुल्लाह विरुद्धको अर्को मोर्चा पनि इजरायलका लागि खुलेको छ ।
त्यो द्वन्द्वका सम्बन्धमा पनि प्रश्नहरू उठिरहेका छन् । इजरायलले सन् २०२४ मा हिजबुल्लाहमाथि विनाशकारी प्रहार गरिसकेको र अब उ केवल सानो खतराको रूपमा मात्र बाँकी रहेको अनुमान गरेको थियो । हिजबुल्लाहले इजरायलका अपरेसनहरूलाई आफ्ना मिसाइल वर्षाद्वारा काउन्टर गर्न सकेको हद र इजरायली जमिन कारबाहीमा देखाएको स्थानीय प्रतिरोधले इजरायली पक्षमा निराशा पैदा गरेको छ । उत्तरी इजरायलका स्थानीय नेताहरूले स्थितिलाई सम्हाल्न सरकारसँग आँशु झार्दै गरेका अपिलहरू भाइरल भएका छन् ।
पुनः इजरायलको विनाश गर्ने र क्षति पुर्याउने क्षमतामा कुनै शंका छैन । १० लाख लेबनानी विस्थापित भएका छन्, दक्षिण लेबनानलाई बाँकी देशसँग जोड्ने पुलहरू बमबारी गरेर काम नलाग्ने बनाइएका छन् र व्यापक क्षति पुर्याइएको छ तर यो कुनै स्पष्ट अन्त्य नभएको अर्को एउटा सैन्य अभियान मात्र बनेको छ र यी सैन्य साहसिक कार्यहरू गाजामा इजरायलले गरेको मृत्यु र विनाशको अभियान लगत्तै सुरु भएका हुन्, जसका बाबजुद हमास अझै अस्तित्वमा छ ।
गाजा अभियानले इजरायली प्रधानमन्त्रीलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) बाट युद्ध अपराधको पक्राउ पुर्जी र अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) मा नरसंहार महासन्धिको उल्लंघन सम्बन्धी मुद्दा त दियो तर यसले थप युद्ध र शून्य–योगको सोचभन्दा बाहिर कुनै राजनीतिक दृष्टिकोण दिन सकेन । यी सबैमा एउटै साझा कुरा छ, इजरायलले कुनै पनि यथार्थपरक राजनीतिक योजनाबिना केवल सैन्य दृष्टिकोण मात्र अपनाउँछ । त्यसैले यो सबैमा एउटै गल्ती बारम्बार दोहोरिएको महसूस हुन्छ ।
आफ्नो सेनामाथिको अत्यधिक निर्भरता र राजनीतिक योजनाहरूको अस्वीकार गर्ने इजरायलको पुरानो इतिहास छ तर सन् २०२३ पछिको निरन्तर युद्धको युगमा हामीले देखेको कुरा गुणात्मक रूपमा फरक छ । त्यसलाई बुझ्न इजरायलभित्रै भइरहेका केही परिवर्तनहरूलाई हेर्नुपर्ने हुन्छ ।
नेतान्याहुको ‘पूर्ण विजय’को कुरालाई इजरायलले कसरी ‘पूर्ण दण्डहीनता’ अनुभव गरेको छ भन्ने सन्दर्भमा बुझ्न सकिन्छ, जे गर्दा पनि उम्किन सकिन्छ भन्ने भावनाले सबैभन्दा चरम समाधानहरू खोज्न सकिन्छ भन्ने सोच विकसित गरिदिएको छ । यससँगै इजरायली समाज, राजनीति र सञ्चारमाध्यममा पनि परिवर्तन आएको छ । थप धार्मिक कट्टरपन्थी राजनीतिक विचारहरू जनताका ठूला हिस्सामा गुञ्जिरहेका छन् । इजरायली मिसाइलहरूमा नरसंहारकारी उक्साहटहरू फैलिरहेका छन् ।
उदाहरणका लागि इजरायली सेना र अन्य सुरक्षा निकायहरूको उच्च तहमा धार्मिक बस्ती बसाल्ने वर्गको बाहुल्य बढ्दो छ । यसका केही प्रमुख सदस्यहरूमा आन्तरिक सुरक्षा सेवा शिन बेटका प्रमुख डेभिड जिनी, इजरायली सेनाको सेन्ट्रल कमाण्ड प्रमुख एभी ब्लुथ र प्यालेस्टिनीहरूको दैनिक जीवनको रेखदेख गर्ने सीओजीएटीका योराम हलेभी सामेल छन् ।
मुख्य कुरा के हो भने यी परिवर्तनहरूले इजरायलको राष्ट्रिय सुरक्षा सोचलाई आकार दिइरहेका छन् । सत्ताको केन्द्र नजिक रहेका धेरै पूर्व सैन्य रणनीतिकारहरूले इजरायल प्राविधिक श्रेष्ठतामा आधारित छोटो युद्धबाट हटेर स्थायी रूपमा भूभाग कब्जा गर्ने र शत्रुको पूर्वाधार र मानिसहरूको विनाश गर्ने लामो द्वन्द्वका लागि तयार हुनुपर्ने वकालत गरिरहेका छन् ।

व्यापक रूपमा परिभाषित ‘ग्रेटर इजरायल’ परियोजनाको खोजी नै अबको राष्ट्रिय सुरक्षा सिद्धान्त बनेको छ, जसमा कुनै पनि प्यालेस्टिनी राष्ट्रिय समूहलाई पराजित र उन्मूलन गर्ने, र इजरायललाई यस क्षेत्रमा एक प्रभुत्वशाली कठोर शक्तिका रूपमा स्थापित गर्ने प्रयासहरू सामेल छन् ।
इजरायल इरानसँगको यो युद्ध अन्त्य गर्नका लागि एक प्रमुख बाधा बनेको छ र रहिरहनेछ । इजरायलले तनाव बढाउन र उक्साउन जारी राख्नेछ र कुनै पनि वार्ता वा युद्धविरामका प्रयासहरूलाई असफल बनाउनेछ, जसमा अमेरिकालाई जमिन कारबाहीका लागि उक्साउने कुरा पनि सामेल छ भन्ने मान्नुपर्छ । त्यसैले इजरायलका स्वार्थहरू यस युद्ध र यसका जोखिमहरू अन्त्य गर्न चाहने पक्षहरूको स्वार्थभन्दा ठ्याक्कै विपरीत छन् ।
यसैबिच अमेरिकी राष्ट्रपतिको उतारचढावपूर्ण अभिव्यक्तिले शक्ति प्रदर्शन गर्दैन । वर्तमान रणनीतिमाथिको प्रश्न र इजरायली–अमेरिकी क्षमताको अत्यधिक मूल्यांकन तथा इरानी पक्षको अवमूल्यन वा अमेरिकी प्रशासनले कसरी काम गर्छ भन्ने कार्यक्षमताका आधारभूत मुद्दाहरूमाथि शंकाहरू बढिरहेका छन् । इजरायलका लागि समस्या के हो भने अमेरिकाले कुनै पनि बेला आफ्नो झोली–तुम्बा बाँधेर क्यानेडियन, मेक्सिकन र माछाहरूले घेरिएको आफ्नो टाढाको घर फर्किने निर्णय गर्न सक्छ, जसले इजरायललाई कुनै पनि राम्रो विकल्पबिना एक्लै छोडिदिनेछ ।
सन् १९५६ को सुएज संकट, जसमा इजरायलसँगै बेलायत र फ्रान्स पनि मध्यपूर्वको युद्धमा सामेल भएका थिए, ती देशहरूका लागि साम्राज्यको अन्त्यको क्षण मानिन्छ । इजरायलले अमेरिकालाई इरानसँगको युद्धमा तानेको कुरालाई पनि भविष्यमा यस्तै सन्दर्भमा सम्झिन सकिनेछ ।
विचारयोग्य छ कि इजरायलले आफू अमेरिकासँग पूर्णरूपमा निर्भर रहेको कुरा यस्तो समयमा प्रदर्शन गरेको छ, जब उसले अमेरिकाको विश्वव्यापी पतनको प्रक्रियालाई सक्रिय रूपमा गति दिइरहेको छ र अमेरिकी जनतामाझ इजरायल प्रतिको समर्थनलाई कम लोकप्रिय बनाइरहेको छ । यो एक सम्भावित विषाक्त मिश्रण हो ।
यस्तो उचाइ चढ्ने प्रयासमा इजरायलले आफ्नो नाटकीय पतनको आधार तयार गरिरहेको हुन सक्छ । (अलजजिराबाट भावानुवाद)
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।




































