क्यानडा । क्यानडाको टोरन्टो सिटी हलमा नेपाली समुदायको सांस्कृतिक पहिचानलाई सम्मान गर्दै ‘नेपाली हेरिटेज वीक’ को औपचारिक घोषणा गरिएको छ। सो अवसरमा विशेष कार्यक्रमसहित नेपाली झण्डा फहराइएको थियो।
कार्यक्रम टोरन्टो सिटी हलमा भव्य रूपमा सम्पन्न भएको हो, जसले क्यानडामा बसोबास गर्ने नेपाली समुदायको सांस्कृतिक उपस्थिति र योगदानलाई औपचारिक रूपमा उजागर गरेको छ।
कार्यक्रममा ओन्टारियो सांसद क्रिस्टिन वोंग–टाम ले विशेष अतिथिका रूपमा सहभागी हुँदै नेपाली समुदायप्रति सम्मान व्यक्त गरिन्। उनले क्यानडाको बहुसांस्कृतिक समाज निर्माणमा नेपालीहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता सांस्कृतिक कार्यक्रमहरूले समुदायबीचको सम्बन्ध अझ मजबुत बनाउने बताइन्।
त्यसैगरी टोरन्टो सिटी काउन्सिलर नीथन शन ले ‘नेपाली हेरिटेज वीक’ को औपचारिक घोषणा गर्दै मेयर ओलिभिया चाउद्वारा जारी गरिएको प्रोक्लामेसन सार्वजनिक गरे। उनले नेपाली समुदायको सक्रियता, एकता र सांस्कृतिक पहिचानको प्रशंसा गर्दै आगामी दिनमा सहकार्यलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमका क्रममा काउन्सिलर शनले अप्रिल महिनालाई ‘नेपाली हेरिटेज महिना’ का रूपमा विस्तार गर्ने पहल अघि बढाइएको जानकारी समेत दिए।
कार्यक्रममा एनआरएनए क्यानडा का अध्यक्ष जगन सापकोटा, एनसीसीएस का अध्यक्ष सुदर्शन सापकोटा लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राखे। एनसीसीएस अध्यक्ष सापकोटाले यो अवधारणा संस्थागत रूपमा अघि बढाउन सम्पूर्ण समुदायको साझा प्रयास आवश्यक रहेको बताए।
कार्यक्रमको सञ्चालन एनसीसीएसका महासचिव टीका राम पौड्यालले गरेका थिए भने सभापतित्व विमल बस्नेतले गरेका थिए। उनीहरूले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।
टोरन्टोमा रहेका विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रममा समुदायबीचको एकता र समन्वय स्पष्ट देखाएको थियो।
औपचारिक कार्यक्रमपछि सिटी हलको कमिटी रुममा स्वागत तथा अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो। यस घोषणासँगै टोरन्टो शहरमा नेपाली समुदायको सांस्कृतिक पहिचानलाई नगरस्तरमै औपचारिक मान्यता प्राप्त भएको छ, जसलाई समुदायले ऐतिहासिक उपलब्धिका रूपमा लिएको छ।




































