नाइमा मोबिलिटी एक्स्पो: अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी साउन २६ देखि

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ। ६ दिनसम्म सञ्चालन हुने एक्स्पोलाई नेपालको हालसम्मकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा प्रस्तुत गरिएको छ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले एक्स्पोको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै उद्योग क्षेत्रबाट प्राप्त उत्साहजनक सहभागिताले यसको महत्व अझ बढाएको बताइन्।

उनले भनिन्, “देशकै सबैभन्दा ठूलो मोबिलिटी तथा अटोमोबाइल प्रदर्शनीका रूपमा स्थापित हुँदै गएको नाइमा नेपाल मोबिलिटी एक्स्पोप्रति उद्योग क्षेत्रबाट प्राप्त उत्साहजनक सहभागिताले यसको महत्व थप पुष्टि गरेको छ। एक्स्पोलाई प्रदर्शनीमा मात्र सीमित नराखी नेपालमा आधुनिक, दिगो र सर्वसुलभ गतिशीलता प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने नाइमाको उद्देश्य रहेको छ।”

यस वर्षको एक्स्पोमा ५१ वटा स्टल पूर्ण रूपमा बुक भइसकेका छन्। ती स्टलमा ५५ भन्दा बढी अन्तर्राष्ट्रिय तथा स्वदेशी ब्रान्डको सहभागिता रहनेछ भने ४० भन्दा बढी नयाँ सवारीसाधन तथा अटोमोबाइलसम्बन्धी उत्पादन नेपाली बजारमा पहिलोपटक सार्वजनिक (लन्च) गरिने आयोजकले जनाएको छ।

एक्स्पो योजना समितिका अध्यक्ष गौरव शारदाका अनुसार नयाँ कार, मोटरसाइकल, स्कुटर, कमर्शियल भेहिकलका साथै ब्याट्री, चार्जर, स्पेयर पार्ट्सलगायत विभिन्न अटोमोबाइल उत्पादन सार्वजनिक गरिनेछन्। प्रदर्शनीमा अत्याधुनिक मोबिलिटी समाधान, नवीन प्रविधि, ईभी तथा हाइब्रिड सवारी, नवप्रवर्तन र विभिन्न ज्ञानमूलक तथा लर्निङ सेसन पनि समावेश हुनेछन्।

चारपाङ्ग्रे सवारीतर्फ टाटा, बीवाइडी, किया, टोयोटा, हुन्डाई, एमजी, निसान, महिन्द्रा, बीएआईसी, डेन्जा, प्रोटोन, प्युजो, जिकर, लीपमोटर, ओमोडा/जेको, आइकार, ग्रेटवाल मोटर्स, मेक्सस, विलिङलगायतका ब्रान्ड सहभागी हुनेछन्। त्यस्तै दुईपाङ्ग्रे सवारीतर्फ बजाज, होन्डा, टीभीएस, केटीएम, ट्रायम्फ, सुजुकी, रोयल इन्फिल्ड, एथर, एनआईयू, याडिया, अल्ट्राभायोलेट, सीएफ मोटो, जिहो, ग्यारो, मोर्बिडेली, प्युजो एन्ड बेगुसलगायतका ब्रान्डले आफ्ना नयाँ मोडल प्रदर्शन गर्नेछन्। लाइट कमर्शियल सवारीतर्फ चेरी वान्डा, क्यारी, किटोन र स्काइवर्थ सहभागी रहनेछन्।

नाइमाका अनुसार यस वर्ष विद्युतीय (ईभी) सवारीसाधन एक्स्पोको मुख्य आकर्षण रहनेछ। विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका नयाँ मोडल तथा अत्याधुनिक प्रविधिसहितका सवारीसाधन पहिलोपटक नेपाली उपभोक्तासामु प्रस्तुत गरिनेछन्।

अध्यक्ष वैद्यका अनुसार एक वर्षअघि २१ सदस्य कम्पनीबाट स्थापना भएको नाइमामा हाल ३६ सदस्य कम्पनी आबद्ध भइसकेका छन्। यसले नेपालको अटोमोबाइल क्षेत्रमा निजी क्षेत्रको लगानी र विश्वास बढ्दै गएको संकेत गरेको उनको भनाइ छ।

यसपटकको एक्स्पो व्यवसायिक प्रदर्शनीमा मात्र सीमित नरहने नाइमाले जनाएको छ। टिकट बिक्रीबाट प्राप्त कुल आम्दानीको १० प्रतिशत रकम मोबिलिटी क्षेत्रको अनुसन्धान फेलोसिपका लागि छुट्याइनेछ। सो रकमबाट अनुसन्धानलाई प्रोत्साहन गरिने तथा तयार भएका अनुसन्धान प्रतिवेदन ‘नाइमा मोबिलिटी जर्नल’मा प्रकाशित गरिनेछ। यसले नेपालको यातायात प्रणाली, तथ्यांक व्यवस्थापन र नीतिगत सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

सो कार्यक्रममा अध्यक्ष वैद्यले अटोमोबाइल क्षेत्रले भोगिरहेका नीतिगत तथा पूर्वाधारसम्बन्धी समस्याबारे पनि सरकारको ध्यानाकर्षण गराइन्। अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी आयोजना गर्न आवश्यक पूर्वाधारको अभाव रहेको उल्लेख गर्दै उनले सरकारले अन्तर्राष्ट्रियस्तरको एक्स्पो सेन्टर निर्माणलाई प्राथमिकता दिनुपर्ने माग गरिन्।

उनले सवारीसाधनमा लाग्ने उच्च करका कारण बजार विस्तार प्रभावित भएको उल्लेख गर्दै कर संरचनालाई यथार्थपरक बनाउन सरकारसँग आग्रह गरिन्। साथै अटोमोबाइल क्षेत्रलाई चलायमान बनाउन ८०/२० लोन रेसियोसहित खुकुलो मौद्रिक नीति लागू गर्न अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित निकायसँग निरन्तर छलफल भइरहेको जानकारी दिइन्।

सामाजिक उत्तरदायित्वअन्तर्गत नाइमाले हालसम्म १ हजार ६१० जना ट्राफिक प्रहरीलाई क्षमता अभिवृद्धिसम्बन्धी तालिम प्रदान गरिसकेको जनाएको छ। एक्स्पो अवधिभर ‘मोबिलिटी संवाद’सहित विभिन्न लर्निङ सेसन सञ्चालन गरिनेछन्, जहाँ विद्यार्थी, पेशेवर तथा सर्वसाधारणले आधुनिक यातायात प्रविधि, विद्युतीय सवारी, सडक सुरक्षा र भविष्यको मोबिलिटी प्रणालीबारे जानकारी प्राप्त गर्न सक्नेछन्।

अवलोकनकर्ताको सुविधाका लागि नेपाल पुलिस क्लबमा पार्किङको व्यवस्था गरिएको छ। साथै टिकटमा ५० प्रतिशतसम्म छुट, फुड कोर्ट, लर्निङ सेसन तथा पठाओमार्फत विशेष छुटसहितको सटल सेवा उपलब्ध गराइने आयोजकले जनाएको छ।

एक्स्पोको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक लिमिटेड रहेको छ भने रेड बुल नेपाल ‘पावर्ड बाइ पार्टनर’का रूपमा रहेको छ। आईएमई पे टिकटिङ पार्टनर रहेको एक्स्पोमा विद्यार्थीका लागि प्रवेश शुल्क १०० रुपैयाँ र सर्वसाधारणका लागि २०० रुपैयाँ निर्धारण गरिएको छ।

‘सबैका लागि मोबिलिटी’ भन्ने मूल नारासहित आयोजना हुन लागेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ ले आधुनिक प्रविधि, दिगो यातायात, अनुसन्धान, नीति संवाद तथा उपभोक्तामैत्री सेवामार्फत नेपालको अटोमोबाइल उद्योगलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेको छ।