काठमाडौँ । नेपालको आधुनिक राजनीतिक इतिहासमा व्यवस्था परिवर्तनका लागि थुप्रै आन्दोलनहरू भए । सडकमा रगत बग्यो, हजारौँले बलिदान दिए र व्यवस्था फेरियो । पटक–पटक सरकारहरू बदलिए, प्रधानमन्त्रीका अनुहार फेरिए, सत्ता समीकरणका जोडघटाउ भइरहे र नयाँ–नयाँ राजनीतिक दलहरू सत्ताको सिंहदरबार छिरे ।
तर, दशकौँदेखि यो मुलुकमा एउटै कुरा कहिल्यै फेरिएन– देशमै इमानदारीपूर्वक पसिना बगाएर, श्रम गरेर र सानातिना उद्यम गरेर बाँच्न खोज्ने सोझा नागरिकको नियति र उनीहरूको कारुणिक पीडा । सिंहदरबार र संसद् भवनभित्र सत्ताको लुकामारी चलिरहँदा सडकमा आम नागरिकले भोग्नुपरिरहेको सास्ती र अपमानको तस्बिर कति भयावह छ भन्ने कुराको सबैभन्दा ताजा, दर्दनाक र आत्मघाती प्रमाण हुन् राजधानीको मुटुमा भएका दुईवटा आत्मदाहका घटना ।
विक्रम संवत २०७९ सालको माघ महिनामा संघीय संसद् भवनको ठीक अगाडि इलामका साना व्यवसायी प्रेमप्रसाद आचार्यले आफ्नो शरीरमा आगो लगाएका थिए । ठीक त्यसको तीन वर्षपछि, काठमाडौँकै त्रिपुरेश्वरस्थित राहदानी विभागको मुख्य ढोका अगाडि मुगुका २५ वर्षीय युवा गणेश नेपालीले पनि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो सल्काए ।
सतही रूपमा हेर्दा यी दुई छुट्टाछुट्टै व्यक्तिका आत्महत्या वा आवेगका घटना जस्ता देखिन सक्छन्, तर गहिराइमा पुगेर विश्लेषण गर्ने हो भने वास्तवमा उनीहरूले आफ्ना भौतिक शरीर मात्र जलाएका होइनन्, बरु देशको संवेदनहीन राज्यसंयन्त्र, विभेदकारी कानुन कार्यान्वयनको शैली र नागरिकप्रतिको चरम उदासीनतामाथि एउटा बलियो आगो बालेका थिए । यी घटनाले सिंहदरबारको जग हल्लाइदिएका छन् र राज्यको शासकीय चरित्रमाथि गम्भीर नैतिक प्रश्न खडा गरिदिएका छन् ।
२०७९ साल माघ १० गतेको त्यो दिन नेपाली समाजले कहिल्यै बिर्सन सक्दैन । नयाँ बानेश्वरस्थित देशको सर्वोच्च नीति निर्माण गर्ने थलो संघीय संसद् भवन अगाडि, जहाँ देशका ठूला नेता र विशिष्ट व्यक्तिहरूको लस्कर चलिरहन्थ्यो, त्यहाँ इलामका सूर्योदय नगरपालिकाका प्रेमप्रसाद आचार्यले आत्मदाह गरे । त्यसको ठ्याक्कै तीन वर्षपछि काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि, जहाँ दिनहुँ हजारौँ युवा देश छाडेर मरुभूमिमा पसिना बगाउन राहदानी बनाउने लामो लाइनमा बस्छन्, त्यहाँ मुगुका २५ वर्षीय गणेश नेपालीले पनि त्यही बाटो रोजे ।
उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा दुवैले तड्पी–तड्पी ज्यान गुमाए । यी दुई घटना केवल आत्मदाह वा भवितव्य मात्र होइनन् । यो त राज्यप्रति नागरिकले गरेको मौन तर इतिहासकै सबैभन्दा भयावह र क्रूर विद्रोह हो । एउटा यस्तो आत्मघाती विद्रोह, जसले नेपाली राज्यसत्तालाई एउटै प्रश्न बारम्बार सोधिरहेको छ– यो देशमा एउटा नागरिकलाई इमानदारीपूर्वक र सम्मानका साथ श्रम गरेर बाँच्ने अधिकार कहिले सुनिश्चित हुन्छ ?
मुगुको विकट सोरु गाउँपालिकाबाट काठमाडौँ सहर पसेका २५ वर्षीय युवा गणेश नेपालीको कथा नेपालका लाखौँ श्रमजीवी युवाहरूको साझा कथा हो । देशमा रोजगारीको कुनै अवसर नपाएपछि र घर व्यवहार चलाउन धौ–धौ भएपछि उनी काठमाडौँमा ’पठाओ’ चलाएर दैनिक गुजारा गरिरहेका थिए । उनीसँग एउटा मोटरसाइकल थियो, जुन उनको जीवनको एक मात्र सहारा, उनको कमाइको माध्यम र उनको परिवार पाल्ने अचुक हतियार थियो । बिहीबार दिउँसो उनी राहदानी विभाग अगाडिको सडक किनारमा आफ्नो मोटरसाइकल रोकेर बसेका थिए ।
त्यत्तिकैमा काठमाडौँ महानगरपालिकाको नगर प्रहरीको टोली त्यहाँ आइपुग्यो र ‘नो पार्किङ’ क्षेत्रमा सवारी राखेको भन्दै उनको मोटरसाइकलको चक्कामा ह्वील लक लगाइदियो । सहरको ट्राफिक र पार्किङ व्यवस्थापनका लागि यो एउटा सामान्य प्रशासनिक कारबाहीजस्तो देखिन्थ्यो । तर, आफ्नै देशमा अपमानित महसुस गरिरहेका र दैनिक कमाइ नगरे साँझ चुल्हो नबल्ने अवस्थामा रहेका एक विपन्न युवाका लागि त्यो कारबाही उनको आत्मसम्मानमा लागेको ठूलो ठेस थियो ।
त्यसपछि घटनाले केही मिनेटमै निकै दुःखद र अप्रत्याशित मोड लियो । प्रत्यक्षदर्शीका अनुसार गणेश नेपालीले आफूले सडक अवरोध नगरेको र त्यहाँ पार्क गरिएका अरू थुप्रै मोटरसाइकलहरूलाई छोडेर नगर प्रहरीले केवल आफ्नो साधनलाई मात्र किन निशाना बनायो भन्दै प्रश्न गरेका थिए । सहरका ठूला र पहुँचवालाका सवारी साधनलाई आँखा चिम्लिने तर एउटा गरिब श्रमजीवीको रोजीरोटी खोस्न अग्रसर हुने प्रवृत्ति विरुद्ध उनको चित्कार थियो । त्यही क्रममा नगर प्रहरीका कर्मचारीहरूसँग उनको चर्काचर्की पर्यो ।
नगर प्रहरीले उनको कुरा सुन्नुको साटो उल्टै कठोर र रुखो व्यवहार देखायो । घटनापछि सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा उनले पटक–पटक आफूमाथि अन्याय भएको, गरिबलाई मात्र कानुन लाग्ने गरेको र राज्यले बाँच्नै नदिएको गुनासो गरिरहेको सुनिन्छ । उनको त्यो आँसु र आक्रोशलाई कसैले वास्ता गरेन । अन्ततः चरम निराशा र आवेगमा आएर उनले आफ्नै मोटरसाइकलको ट्याङ्कीबाट पेट्रोल निकाले, आफ्नो शरीरमा खन्याए र सलाई कोरेर आगो लगाए ।
सडकको बीचमा एकजना युवा आगोको ज्वालामा जलिरहँदा त्यहाँ उपस्थित मानिसहरू र सुरक्षाकर्मीहरू हेरेको हेर्यै भए । केही क्षणको त्यो भयानक आवेगले एउटा ऊर्जावान् युवाको जीवन सधैँका लागि समाप्त गरिदियो । तर, त्यो आगोले केवल गणेशको शरीर मात्र जलाएन, बरु हाम्रो राज्यको संवेदनशीलता, यहाँको सेवा प्रणाली, प्रशासनिक कठोरता र सामान्य नागरिकप्रतिको व्यवहार कति क्रूर छ भन्ने कुराको पटाक्षेप गरिदियो । गणेशको यो जलिरहेको तस्बिरले नेपाली समाजलाई तीन वर्षअघिको प्रेमप्रसाद आचार्यको आत्मदाहको याद दिलायो, जसले उस्तै परिस्थितिमा संसद् भवन अगाडि प्राण त्यागेका थिए ।
प्रेमप्रसाद आचार्य कुनै कानुन उल्लंघन गर्ने अपराधी वा अराजक व्यक्ति थिएनन् । उनी त देशमै केही गरौँ भन्ने भावना बोकेका एक साना उद्यमी थिए, जसले कृषि र स्थानीय उत्पादनमा आधारित व्यवसाय सुरु गरेर आत्मनिर्भर बन्न खोजेका थिए । तर, यो देशको अर्थतन्त्रको संरचना यस्तो छ कि यहाँ साना व्यवसायीलाई बाँच्नै दिइँदैन । बैंकहरूको चर्को र मिटरब्याजी जस्तो ब्याजदर, ठूला कर्पोरेट हाउसहरूको व्यापारिक सिन्डिकेट, सरकारी कार्यालयहरूमा पाइने पाइला–पाइलाको प्रशासनिक सास्ती, बजारमा उधारो नउठ्ने समस्या र कोभिडपछिको आर्थिक मन्दीले उनलाई यति धेरै थिच्यो कि उनी ऋणको ठूलो दलदलमा फसे । राज्यका सबै ढोका ढकढकाउँदा पनि कतैबाट सहयोग नपाएपछि अन्ततः उनले देशको नीति बनाउने थलो संसद् भवन रोजे र आफ्नै शरीर जलाएर राज्यलाई ब्युँझाउने प्रयास गरे ।
मृत्युको मुखमा पर्नुअघि प्रेमप्रसादले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको लामो २५ बुँदे गम्भीर सन्देश नेपाली राज्यव्यवस्थाको ऐना हो । जसमा उनले साना व्यवसायीले भोग्नुपर्ने पीडा, राष्ट्रिय आर्थिक नीतिमा गरिनुपर्ने सुधार, कर प्रणालीको झन्झट र राज्यको असफल नीतिका बारेमा नालीबेली लेखेका थिए । प्रेमको एकमात्र माग थियो– ’यो देशमा मलाई र मजस्ता युवालाई इमानदारीपूर्वक काम गरेर गरिखान पाउने वातावरण बनाइदेऊ ।’ तर, त्यो घटनापछि पनि राज्यले कुनै पाठ सिकेन । तीन वर्षपछि मुगुका गणेश नेपालीको यो मौन र आत्मघाती विद्रोहले पनि लगभग त्यही सन्देश, त्यही आक्रोश र त्यही निराशालाई फेरि दोहोर्याएको छ । फरक यति मात्र हो कि प्रेम आचार्य एउटा साना पूँजीपति र उद्यमी थिए, जसलाई व्यवस्थाले टाट पल्टायो भने गणेश नेपाली एउटा सर्वहारा श्रमजीवी युवा थिए, जसको दैनिक रोजीरोटीको साधन नै खोसियो ।
प्रेम आचार्यको आत्मदाहयता मुलुकको राजनीतिमा धेरै परिवर्तनहरू भए । पुरानो राजनीतिक नेतृत्व असफल भएको भन्दै संसद् र सडकमा नयाँ वैकल्पिक शक्तिहरूको उदय भयो । नयाँ अनुहारहरू र युवा नेताहरू सत्ताको बागडोर सम्हाल्न पुगे । पुराना र नयाँ दलहरूबीचको गठबन्धन पटक–पटक फेरियो, सरकार प्रमुखहरू फेरिए र गृहमन्त्रीदेखि अर्थमन्त्रीसम्मका कुर्सीमा नयाँ अनुहारहरू आसिन भए । तर, आम सर्वसाधारण, साना उद्यमी, सडकमा श्रम गर्ने मजदुर र दैनिक कमाएर मात्रै साँझको छाक टार्ने वर्गको दैनिक संघर्ष भने जहाँको त्यहीँ रह्यो । देशको श्रमजीवी वर्गले अझै पनि राज्यका कार्यालयहरूमा जाँदा सम्मान होइन अपमान बेहोर्नुपर्छ, प्रशासनिक सहजता होइन झन्झट र सहयोगको साटो कठोर एवं अमानवीय व्यवहार भोगिरहेको छ ।
ठूला अर्बौँका घोटाला गर्नेहरू, कर छल्नेहरू र नीतिगत भ्रष्टाचार गर्नेहरू राज्यको संरक्षणमा सानका साथ हिँड्ने तर एउटा गरिब युवाले सडकको कुनामा मोटरसाइकल राख्दा उसको रोजीरोटी नै बन्द हुने गरी डण्डा चलाउने यो कस्तो प्रणाली हो ? त्यसैले आज आम जनताले गम्भीर प्रश्न गरिरहेका छन्– यदि सरकार मात्र फेरिने तर जनताको अवस्था र राज्यको व्यवहार नफेरिने हो भने यो व्यवस्था र राजनीतिक परिवर्तनको वास्तविक अर्थ के रह्यो ?
तीन वर्षअघि जब प्रेम आचार्यले संसद् भवन अगाडि आत्मदाह गरेका थिए, तब काठमाडौँ महानगरपालिकाका भर्खरै निर्वाचित प्रमुख बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमा निकै भावुक र आक्रामक स्टाटस लेख्दै भनेका थिए– ‘यदि कुनै देशको नागरिकले राज्यकै अगाडि आत्मदाह गर्न बाध्य हुन्छ भने, त्यो त्यो राज्यको चरम असफलताको सबैभन्दा ठूलो संकेत हो ।’ उनले नागरिकको पीडा बुझ्न नसक्ने र संवेदनशीलता गुमाएको सिंहदरबारको राज्य संयन्त्रको कडा शब्दमा आलोचना गरेका थिए । त्यसैगरी, त्यतिबेला भर्खरै संसद्मा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि प्रेमप्रसाद आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस्तो बीभत्स अवस्था आउनुमा आफूहरू जस्ता नयाँ र पुराना राजनीतिक नेतृत्व सबै जिम्मेवार रहेको स्वीकार गरेका थिए । उनले नयाँ राजनीतिक शक्तिले समेत नागरिकमा आशा जगाउन नसकेको भन्दै सार्वजनिक रूपमा गहिरो दुःख र ग्लानि व्यक्त गरेका थिए ।
तर, समय सधैँ एकनास रहँदैन । आज परिस्थिति बदलिएको छ । हिजो राज्यको असफलता भन्दै फेसबुक र सञ्चारमाध्यममा चर्का भाषण गर्ने र नागरिकको पक्षमा प्रणाली सुधार्ने वाचा गर्ने तिनै नेताहरू, तिनै नयाँ शक्तिहरू र तिनै महानगर प्रमुखहरू आज आफैँ सत्ता, शक्ति र प्रशासनिक नेतृत्वको केन्द्रमा छन् । काठमाडौँ महानगरको नेतृत्व बालेन शाहकै हातमा छ भने रवि लामिछाने लगायतका नयाँ अनुहारहरू सत्ता र सरकारको नेतृत्व तहमा पुगिसकेका छन् ।
तर, आज त्रिपुरेश्वरमा गणेश नेपालीले महानगरकै नगर प्रहरीको व्यवहारबाट आजित भएर आत्मदाह गर्दा हिजोका ती क्रान्तिकारी आवाजहरू कता हराए ? हिजो राज्यलाई असफल घोषणा गर्नेहरू आज आफैँ राज्य सञ्चालक हुँदा किन मौन छन् ? सामाजिक सञ्जालदेखि बौद्धिक वृत्त र राजनीतिक गल्लीहरूमा आज यो मौनतामाथि तीव्र र आक्रोशित प्रश्न उठिरहेको छ । हिजो अरूलाई दोष देखाउन सजिलो थियो, तर आज आफैँ जिम्मेवार ठाउँमा हुँदा नागरिकले सडकमै ज्यान फाल्नुपर्ने अवस्था आउनुको जवाफदेहिता कसले लिने ?
प्रेम आचार्य र गणेश नेपालीको सामाजिक पृष्ठभूमि, आर्थिक अवस्था र कार्यक्षेत्र पक्कै पनि फरक थिए । एकजना ग्रामीण क्षेत्रमा कृषि क्रान्तिको सपना बुन्ने उद्यमी थिए, अर्का मुगु जस्तो दुर्गम जिल्लाबाट आएर सहरमा दुःखजिलो गरी जीवन धान्न खोज्ने मजदुर युवा थिए । तर, ती दुवैले आफ्नो अमूल्य जीवनको आहुति दिएर समाज र राज्यलाई छोडेर गएको अन्तिम सन्देश र चित्कार भने एउटै थियो– ‘हामीलाई यो देशमा अपराधी जस्तो व्यवहार नगरियोस्, हामीलाई आफ्नै मातृभूमिमा सम्मानपूर्वक पसिना बगाएर बाँच्न दिइयोस् ।’
राज्य सञ्चालनका लागि नियम, कानुन र अनुशासनको पालना हुनुपर्छ, यसमा कसैको दुई मत हुन सक्दैन । ट्राफिक नियम पालना गराउनु, पार्किङ व्यवस्थित गर्नु र सहरलाई सुन्दर बनाउनु महानगर र ट्राफिक प्रहरीको दायित्व हो । कानुन सबैका लागि बराबर हुनुपर्छ । तर, कानुन कार्यान्वयन गर्ने मेसिनरी वा संयन्त्रहरूले यदि नागरिकको न्यूनतम आत्मसम्मान, उनीहरूको जीविकोपार्जनको अवस्था र उनीहरूको मानसिक पीडाप्रति न्यूनतम संवेदनशीलता समेत गुमाए भने, त्यसको मूल्य कति भयानक हुन्छ भन्ने कुरा यो घटनाले देखाएको छ ।
कानुन नागरिकलाई बचाउन र समाजलाई व्यवस्थित गर्नका लागि बन्ने हो, नागरिकलाई आत्महत्याको किनारमा धकेल्नका लागि होइन । जब प्रशासनिक निकायहरूले केवल दण्ड र जरिवानालाई मात्र आफ्नो सफलता ठान्छन् र मानवीय पक्षलाई चटक्कै बिर्सिन्छन्, तब सडकमा यस्तै विद्रोही ज्वालाहरू दन्किन्छन् ।
प्रेमप्रसाद आचार्य र गणेश नेपालीको शरीरमा सल्किएको त्यो भयानक आगोको ज्वाला अब निभिसकेको छ । उनीहरूका परिवारको काख रित्तिएको छ र उनीहरू कहिल्यै नफर्कने गरी यो संसारबाट बिदा भइसकेका छन् । तर, उनीहरूले आफ्नै शरीर जलाएर नेपाली राज्यसत्ताको अनुहारमा सोधेका ती गम्भीर प्रश्नहरू अझै पनि जलिरहेका छन् र सिंहदरबारलाई गिज्याइरहेका छन् । यहाँ समस्या केवल दुईजना युवाको निराशा वा मृत्युको मात्र होइन, समस्या त त्यो समग्र सोच, संरचना र शासकीय व्यवस्थाको हो, जहाँ इमानदारीपूर्वक काम गरेर, कर तिरेर र कानुनको पालना गरेर बाँच्न खोज्ने सोझो नागरिकले राज्यबाट कुनै अभिभावकत्व पाउँदैन र अन्तिम विकल्पका रूपमा आफ्नै शरीरमा आगो लगाउनुपर्ने आत्मघाती अवस्था महसुस गर्छ ।
प्रेम र गणेश त अब इतिहास भइसके । तर, यदि उनीहरूको यो अन्तिम चित्कार र आत्मदाहको क्रूर सन्देशलाई पनि यो संवेदनहीन राज्यले सुनेन र आफ्ना नीति तथा व्यवहारमा सुधार गरेन भने, यो निराशाको भुसको आगो भोलि अझै सल्कनेछ । राज्यले समयमै चेतना नखोल्ने हो भने, मुलुकको सडकमा अर्को गणेश नेपाली वा अर्को प्रेमप्रसाद आचार्य जन्मिन र फेरि अर्को आत्मदाह हुन धेरै समय लाग्ने छैन ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































