आफ्नो आधुनिक इतिहासको अधिकांश समय कतार त्यस्तो ठाउँ रह्यो, जहाँ अरूका कारण घटनाहरू घट्ने गर्थे । ऊर्जा स्रोतका लागि मूल्यवान् मानिएको तर विरलै सरसल्लाह गरिने एउटा शान्त प्रायद्वीप थियो, जुन अन्य ठूला महत्वाकांक्षाहरूको किनारामा खुम्चिएर बाँचेको थियो ।
आईतबार दोहामा ७४ वर्षको उमेरमा निधन भएका शेख हमाद बिन खलिफा अल थानीले त्यो विरासतलाई स्वीकार गर्न अस्वीकार गरे । धेरै टिप्पणीहरूले उनको विरासतलाई जतिसुकै संकुचित पारेर व्याख्या गरे तापनि उनले कतारलाई केवल धनी मात्र बनाएका होइनन् । उनले यसलाई सान्दर्भिक बनाए र एउटा सानो राज्यका लागि सुरक्षाको एउटा बलियो रूपमा पुर्याए ।
उनको १८ वर्षको शासनकालको विरासत यही नै थियो, जुन उनको जीवनकालभन्दा पनि लामो समयसम्म जीवित रह्यो । सन् २०१३ मा उनले हस्तान्तरण गरेको देशले आफ्नो भूगोल र आकारभन्दा कैयौँ गुणा बढी पहुँच राख्दै इतिहासमै कहिल्यै नसोचिएका ठूला मञ्चहरूमा सहभागिता जनाएको छ र धेरै जटिल संवादहरूको मध्यस्थता गरेको छ ।
यो नयाँ मोड सन् १९९५ को जुन महिनामा आयो, जब शेख हमादले आफ्ना पिताबाट सत्ता आफ्नो हातमा लिए र मुलुकको लामो समयदेखिको अति सतर्क रहने बानीको अन्त्य गरे । आज्ञाकारिता वा दब्बू हुनु नै त्यस सानो राज्यको अस्तित्व बचाउने प्राकृतिक प्रवृत्ति थियो, आफ्नो टाउको निहुराउने, शक्तिसामु झुक्ने र पर्खिने ।
शेख हमादले यसलाई ठ्याक्कै उल्टाइदिए । भौगोलिक क्षेत्रफल वा जनसंख्याका हिसाबले कुनै रणनीतिक गहिराइ नभएको देशले आफ्नो क्षेत्रमा शक्ति प्रदर्शन गर्न सक्दैनथ्यो, त्यसैले उनले साउदी अरब र इरानको बिचमा चेपिएको यस प्रायद्वीपलाई आफ्ना छिमेकीहरूका लागि अपरिहार्य बनाउने अभियान सुरु गरे । साना राज्यका अधिकांश शासकहरूले कहिल्यै बुझ्न नसक्ने तर आजसम्म पनि कतारलाई परिभाषित गरिरहेको एउटा सत्यलाई उनले आत्मसात गरे, हतियारयुक्त हुनुभन्दा अरूका लागि अपरिहार्य वा आवश्यक बन्नु बढी सुरक्षित हुन्छ ।
उनको शासनकालमा कतारले आर्जन गरेको अथाह सम्पत्ति केवल एउटा माध्यम मात्र थियो, वास्तविक उपलब्धि त उनले त्यस सम्पत्तिबाट के निर्माण गरे भन्ने कुरामा निहित थियो । शेख हमादले पृथ्वीकै सबैभन्दा ठूलो गैरसम्बद्ध ग्यासको भण्डार रहेको देशको ‘नर्थ फिल्ड’बाट प्राप्त आम्दानीलाई आफ्नो देशको पहुँच विस्तार गर्न प्रयोग गरे । सन् १९९६ मा सुरु गरिएको अल जजिराले दोहालाई प्रत्येक अरब घरमा एउटा आवाज र प्रत्येक अरब राजधानीमा एउटा बलियो तर्क दियो । कतार एयरवेज, सार्वभौम सम्पत्ति कोष, २०२२ को विश्वकपको आयोजना दाबी र लेबनान, डार्फर तथा प्यालेस्टाइनमा गरिएका धैर्यतापूर्ण मध्यस्थताका प्रयासहरू एउटै योजनाका विभिन्न कडीहरू थिए । यी प्रत्येक प्रयासले देशलाई नजरअन्दाज गर्न अझ कठिन बनाउँदै लग्यो ।
वासिङ्टनको अनुरोधमा सन् २०१२ मा शेख हमादले तालिबानलाई दोहामा राजनीतिक कार्यालय खोल्न अनुमति दिँदासम्म त्यो कोठाको सबैभन्दा सानो राज्य संयुक्त राज्य अमेरिकाका लागि एक प्रमुख कूटनीतिक बल बन्न सफल भइसकेको थियो । कतारले नियमित रूपमा त्यस्ता संवादहरू आयोजना गर्यो, जुन ठूला शक्ति राष्ट्रहरू आफैँले प्रत्यक्ष रूपमा गर्न सक्दैनथे । कतारको यो पहुँच नै उसको सबैभन्दा ठूलो पुँजी बन्यो ।
शेख हमादको शासन कौशललाई केवल ‘चेकबूक कूटनीति’ (पैसाको बलमा गरिने कूटनीति) भन्दा फरक बनाउने कुरा के थियो भने राष्ट्रिय सिद्धान्तमा आधारित थियो । धनी हुनुभन्दा धेरै अघिदेखि कतारले आफूलाई ‘काबात अल मदियुम’ अर्थात् उत्पीडितहरूको काबा र सताइएका तथा निर्वासितहरूको आश्रयस्थलका रूपमा सोच्ने गर्दथ्यो । यो पदावली अमिर जसिम बिन मोहम्मद अल थानीको नबाती कवितासम्म पुग्छ, जसले लेखेका थिए कि जसले कतारमा शरण खोज्छ, उसलाई संरक्षण दिइनेछ ।
शेख हमादले त्यही वंशानुगत संस्कारलाई लिएर राज्यको आधुनिक औजार बनाए । ‘आवाजविहीनहरूको आवाज’का रूपमा ब्रान्डिङ गरिएको अलजजिरा परम्परागत प्रसारण माध्यमहरूद्वारा सीमान्तकृत गरिएकाहरूका लागि एउटा बलियो सञ्चारमाध्यम बन्यो । विद्रोहीहरू, राजनीतिक भगौडाहरू र यस क्षेत्रले नामेट पार्न चाहेका आन्दोलनहरूका लागि खुला ढोका राख्ने नीति, यस क्षेत्रलाई नयाँ सामाजिक–राजनीतिक व्यवस्थातर्फ डोर्याउन चाहने एक क्रान्तिकारी परिवर्तनकारीको अभ्यास थियो ।
यसले कतारलाई अरबका आम जनताको भावनासँग नजिक राख्यो, विशेषगरी सन् २०११ को अरब क्रान्तिका समयमा । उत्पीडित र कमजोरहरूसँगको ऐक्यबद्धताको भावनामा बहिएर ती क्रान्तिहरूलाई शेख हमादले गरेको केही हदसम्म आवेगपूर्ण समर्थन प्रभावशाली त रह्यो । तर यसले क्षेत्रीय रूपमा कतारलाई जोखिम र तीव्र आलोचनाको सामना गराउन पुग्यो । आन्तरिक रूपमा शेख हमादले त्यही दृढ विश्वासका साथ शासन गरे, जसले उनलाई विदेश नीतिमा डोर्याएको थियो । समाजहरू खुला हुनुपर्छ र सरकारले जनताका लागि नेतृत्व गर्नुपर्छ । उनले सन् १९९९ मा पहिलो नगर निर्वाचन गराएर महिला र पुरुष दुवैलाई मताधिकार प्रदान गरे र सन् २००३ मा देशलाई पहिलो संविधान दिए ।
केवल ग्यासमा मात्र भर नपरी विद्यालय, विश्वविद्यालय र अनुसन्धानको माध्यमबाट ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने जुन दृष्टिकोण उनले आफ्नी श्रीमती शेखा मोजा बिन्त नासेरसँग मिलेर बुनेका थिए, त्यो जति दूरदर्शी थियो, सुरुमा यसको तीव्र गतिलाई शंकाको दृष्टिले हेर्ने पुरातनवादी कतारीहरूका बिच त्यति नै अलोकप्रिय पनि थियो तर पनि उनी पछि हटेनन् र अघि बढिरहे ।
उनले आफूले विरासतमा पाएको भन्दा कैयौँ गुणा बढी स्वतन्त्र र उन्मुक्त समाज छोडेर गएका छन्, जुन प्रतिव्यक्ति आम्दानीमा मात्र नभई शिक्षा, स्वास्थ्य सेवा र सार्वजनिक सेवाका हिसाबले पनि पृथ्वीकै सबैभन्दा समृद्ध मुलुकहरूमध्ये पर्दछ । सन् २०१३ मा शेख हमादले यस क्षेत्रका शासकहरूमा विरलै देखिने एउटा काम गरे, उनले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गरे । आफू अझै पनि राजनीतिक रूपमा शक्तिशाली भएकै अवस्थामा आफ्नो राजगद्दी छोरा शेख तमिमलाई सुम्पनु, परिस्थिति जटिल बन्नुअघि नै आफूलाई तुरुन्तै अनुकूलन गर्ने उनको चरित्र अनुकूलकै निर्णय थियो । आफ्ना पितालाई पदच्युत गरेर सत्ता हातमा लिएका उनी तीव्र गतिमा बदलिँदो विश्व परिवेशमा आफ्नो विरासतलाई नयाँ पुस्ताले अघि बढाओस् भन्नका लागि स्वेच्छाले सत्ता त्याग्न तयार भए ।
शेख हमादले कतारलाई सार्वभौम र स्वायत्त बन्ने माध्यम दिए र अन्तर्राष्ट्रिय प्रणालीले नजरअन्दाज गर्नै नसक्ने एक वार्ताकारको रूपमा स्थापित गरे । उनले आफ्नो देशलाई आत्मपहिचान र भविष्यतर्फ अघि बढ्ने एउटा स्पष्ट मार्गदिशा प्रदान गरेका छन् । (अलजजिराबाट भावानुवाद)
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































